१५ वर्षका बालकले डाक्टरको घरभित्रै पसेर गोली हानेर मारिदिए, अन्य ३ जना पनि घाइते

डिसी नेपाल
६ मंसिर २०७७ ११:३१

काठमाडौं। पाकिस्तानको ननकाना साहिबमा धार्मिक विषयलाई लिएर अहमदी समुदायका एक डाक्टरको हत्या गरिएको छ । उनलाई १५ वर्षका एक बालकले घरभित्रै पसेर गोली हानेर मारेका हुन् । बालकलाई हिरासतमा लिइएको छ । बालकले डाक्टरको घरभित्रै पसेर युवा डाक्टरमाथि अटोमेटिक पेस्तोलले कैयौं गोली हानेका थिए । डाक्टरको घटनास्थलमै मृत्यु भएको र उनको परिवारका अन्य ३ जना घाइते भएको पाकिस्तानी अखबार डनले जनाएको छ

पाकिस्तानको संविधानले अहमदी समुदायलाई मुसलमान मान्दैन । पाकिस्तानमा हरेक सरकारले अहमदी समुदायको आधारभूत अधिकार सीमित पारेका छन् । यो समुदायमाथि अन्य अल्पसंख्यकमाथिजस्तै आक्रमण भइरहन्छ । घटना शुक्रबार बेलुकीको हो । डाक्टर ताहिर अहमद र उनको परिवार घरमा थिए । त्यही बेला कसैले ढोका ढक्ढक्यायो । ढोका खोल्दा बाहिर हातमा पेस्तोल लिएका एक बालक थिए । उनले कुनै कुरा नगरी डाक्टरलाई गोली हान्न थाले । डाक्६रको घटनास्थलमै मृत्यु भयो । बचाउनका लागि पुगेका ताहिरका पिता, काका र बहिनीलाई पनि गोली लागेको छ । उनीहरुको उपचार भइरहेको छ ।

यहाँका पुलिस अधिकारी मोहम्मद समशेरका अनुसार आरोपीलाई हिरासतमा लिइएको छ । उनले धार्मिक विवादका कारण डाक्टरको हत्या गरेको बताएका छन् । पुलिसले ती बालकले कसैले उक्साएर डाक्टरको हत्या गरेको वा आफ्नै इच्छाले हत्या गरेका हुन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेको छ । अहमदी समुदायले स्थानीय प्रशासनले हत्याराको साथ दिएको आरोप लगाएको छ । पाकिस्तानमा करिब ४० लाख अहमदी छन् जसलाई संविधानले मुस्लिम मान्दैन । उनीहरुलाई मस्जिदमा जाने अनुमति छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *