नेकपा विवादको प्रभाव : चितवनमा सुरेन्द्र पाण्डे सहभागी कार्यक्रम विथोलियो

डिसी नेपाल
६ मंसिर २०७७ १६:१५
544
Shares

काठमाडौं। सत्तारुढ दल नेकपामा चर्किएको विवादको प्रभाव स्थानीय स्तरमा देखिन थालेको छ। शनिबार स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रम प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली निकटका युवा नेताहरुले विथोलेका छन्।

चितवनबाट प्रतिनिधिसभामा विजयी पाण्डेको प्रमुख आतिथ्यमा शनिबार चितवनको राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको थियो।

सो भेलामा युवा नेताहरुले नारावाजी गर्दै पाण्डेलाई बोल्न दिइएन। युवा नेताहरुले राजनेता केपी ओली जिन्दावाद, पार्टी एकता जिन्दावाद जस्ता नारा लगाएका थिए। अहिले सामाजिक सञ्जालमा सो कार्यक्रम विथोलिएको भिडियो सर्कुलेट भइरहेको छ।

प्रधानमन्त्री तथा अध्यक्ष ओली र उनीइतर समूहबीच विवाद चुलिँदा पार्टी नै विभाजनको संघारमा पुगेको नेताहरुले बताउँदै आएका छन्। सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै एकल राजनीतिक प्रस्ताव पेस गरेका छन्। ओलीले सो प्रतिवेदनको प्रतिउत्तर प्रतिवेदन ल्याउने र प्रचण्डले लगाएको आरोप नसहने बताइसकेका छन्।

यसअघि गएको असारमा पनि विवाद चर्किँदा विद्यार्थीी तथा युवा नेताहरु ओलीको पक्षमा सडकमा निस्केर नारावाजी गरेका थिए। शनिबार चितवनमा भएको घटनाले नेकपाको विवादलाई स्थानीय तहसम्म गिजोल्ने देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *