चीनले अस्ट्रेलियालाई भन्यो – ‘हामीलाई शत्रुजस्तो व्यवहार नगर नत्र फोन उठाउँदैनौं’

डिसी नेपाल
७ मंसिर २०७७ १०:५२

काठमाडौं। अस्ट्रेलियाले चीनलाई रणनैतिक खतराको रुपमा व्यवहार गर्न नछाडे चीन सरकारका मन्त्रीहरुले अस्ट्रेलियाका समकक्षीले गरेको फोनको जवाफ नदिने चीनले चेतावनी दिएको छ । क्यान्बेरास्थित चिनियाँ दूतावासका एक बरिष्ठ अधिकारीले यस्तो चेतावनी दिएका हुन् । चीनले मोरिसन सरकारलाई चीनलाई रणनैतिक खतराको रुपमा हेर्ने वा अवसरको रुपमा हेरेर मन्त्रीस्तरीय वार्ता सुरु गर्ने भन्ने विषयमा प्रस्ट हुन भनेको द गार्डियनले जनाएको छ । यो वर्षको सुरुवातदेखि अस्ट्रेलिया–चीन मन्त्रीस्तरीय वार्ता ठप्प छ ।

क्यानबेरास्थित चिनियाँ दूतावासका एक अधिकारीले गार्डियन अस्ट्रेलियासँग कुरा गर्दै द्विपक्षीय सम्बन्ध सुधार गर्ने वा बिग्रिएको सम्बन्धलाई अझै बिग्रिन दिने भन्ने कुरा अस्ट्रेलियाको हातमा रहेको बताए । आफ्नो नाम उल्लेख नगर्ने गरी ती अधिकारीले समस्या अस्ट्रेलियाको तर्फबाट मात्रै सृजना भएको बताए । ‘मुख्य कुरा भनेको शीतयुद्धको मानसिकता त्यागेर चीनलाई खतरा नभइ अवसरको रुपमा हेरिनुपर्छ । अन्यता यो समस्या झनै बल्झिँदै जान्छ’ उनले भने ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र उनका मन्त्रीहरुले भने द्विपक्षीय सम्बन्ध सुधार गर्दै वार्ता अघि बढाउन बल चीनको कोर्टमा रहेको बताउँदै आएका छन् । उनीहरुले आफ्नो नैतिक मूल्य र स्वाधीनता नबेच्ने पनि प्रस्ट पारेका छन् । अस्ट्रेलियाका वाणिज्य मन्त्री सिमोन बर्मिंघमले अस्ट्रेलियाबाट निर्यात हुने अरबौं डलर बराबरका सामानको विषयमा कुरा गर्न महिनौं प्रयास गर्दा पनि चिनियाँ समकक्षीसँग कुरा गर्न नपाएको गुनासो गरेका छन् ।

गएको अप्रिलमा अस्ट्रेलियाले कोरोनाभाइरसको उत्पत्ति र यसलाई नियन्त्रण गर्न चीनले उठाएका कदमका बारेमा स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिन हुनुपर्ने बताएपछि दुई देशको सम्बन्ध चिसिएको हो । मन्त्री स्तरमा कुनै कुराकानी नभएको भए पनि अस्ट्रेलिया र चीनबीच कूटनैतिक अधिकारी स्तरमा भने निरन्तर कुरा भइरहेको छ । क्यानबेरामा रहेको चिनियाँ दूतावारका अधिकारीहरुले नियमित रुपमा अस्ट्रेलियाको विदेश विभाग र वाणिज्य विभागका अधिकारीहरुसँग नियमित कुरा गरिरहेका छन् । बेइजिङमा पनि अस्ट्रेलियाली कूटनीतिज्ञले चीनको विदेश मन्त्रालयका अधिकारीसँग कुरा गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *