म्यानपावर कम्पनीको बदमासी खुलासा भएपछि ८ सय युवाहरु ठगिनबाट जोगिए
काठमाडौं। वैदेशिक रोजगारीका लागि युवाहरुलाई विदेश पठाउँदै आएका दुई ठूला म्यानपावर कम्पनीहरुले करिब ८ सय युवाहरुलाई ठग्न बनाएको प्रपन्च खुलासा भएपछि युवाहरु ठगिनबाट जोगिएका छन्।
सोमबार राजधानीस्थित दुईवटा म्यानपावर कम्पनी डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर सर्भिसले युवाहरुलाई कतार पठाउने भन्दै अन्तरवार्ता लिइरहेका बेला वैदेशिक रोजगार विभागले छापा मारेको छ। धापासीस्थित एसओएसले करिब ४ सय जना जना युवाहरुलाई अन्तरवार्ताका लागि तयारी अवस्थामा राखेको बेला विभागको टोली त्यहाँ पुगेको थियो।
यस्तै गुह्यश्वरीस्थित डीडी ह्युमन रिसोर्सले करिब ४ सय युवाहरुको अन्तरवार्ता लिइरहेको बेला विभागले छापा मारेको हो।
यी दुबै कम्पनीले विभागबाट पूर्व श्रम स्वीकृति नलिएर युवाहरुको अन्तरवार्ता लिइरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको विभागका महानिर्देशक कुमार दाहालले डिसी नेपाललाई जानकारी दिए। उनका अनुसार यी दुई कम्पनीले मिनिस्टरी अफ इन्टिरियर ह्युमन रिसोर्स डिर्पाटमेण्ट कतारमा सुरक्षा गार्डको रुपमा पठाउने भन्दै अन्तरवार्ता लिइरहेका थिए।
आकर्षक तलबको लोभ देखाएर म्यानपावर कम्पनीहरुले युवाहरुलाई फसाउने तयारी गरेको विभागको दावी छ। विभागका अनुसार यी कम्पनीहरुले सुरुमा मासिक ३ हजार कतारी रियल (करिब एकलाख) र ३ महिनापछि ६ हजार कतारी रियल (करिब २ लाख) तलब हुने प्रलोभन देखाएका थिए।
विभागले यी दुई कम्पनीका कागजात नियन्त्रणमा लिएको छ। महानिर्देशक दाहालले कागजात हेरेपछि आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए।
उनले भने, ‘पूर्व स्वीकृती नलिई अवैधानिक रुपमा अन्तरवार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागले अनुगमन गरेको थियो। निकै चर्को रकम लिएर अन्तरवार्तामा सामेल गराइएको भन्ने छ। हामीले दुवै म्यानपावरबाट डकुमेण्ट जफत गरेका छौँ। अनुसन्धानपछि विस्तृतमा जानकारी हुनेछ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment