भारतीय विदेश सचिव भोलि आउँदैः राजनीतिक तहमा वार्ताको ढोका खुल्ने अपेक्षा

डिसी नेपाल
१० मंसिर २०७७ १९:०२

काठमाडौं। नेपाल र भारतबीच ऐतिहासिक रुपमा आपसी सम्बन्ध कमजोर हुँदा करिब एक वर्षसम्म कूटनीतिक मौनता कायम रह्यो। त्यो कूटनीतिक मौनतालाई तोड्दै बिहीबार भारतीय विदेश मन्त्रालयका सचिव हर्ष वद्र्धन श्रृंगला काठमाडौं उत्रिँदै छन्।

विदेश सचिव भएपछि पहिलो पटक नेपाल आउन लागेका श्रृंगलाको यो भ्रमण शिष्टाचार भए पनि नेपाल र भारतबीच सीमा विवादका कारण सम्बन्धमा चिसोपना आएको बेला भएकाले यो भ्रमण निकै महत्वपूर्ण मानिएको छ।

यो भ्रमणले नेपाल र भारतबीच राजनीतिक तहमा वार्ताका लागि वातावरण बनाउने नेपाली कूटनीतिज्ञहरुको विश्वास छ। भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले विदेश सचिवको भ्रमणलाई सकरात्मक रुपमा लिनुपर्ने बताए। उनले डिसी नेपालसँग भने, ‘यो भ्रमणले राजनीतिक तहमा वार्ताको ढोका खोल्ने विश्वास गर्न सकिन्छ। शिष्टाचार भ्रमण भए पनि नेपालले आफ्नो चासोका विषय उठान कौशलता देखाउनुपर्ने हुन्छ।’

प्रतिवेदन तयार भएर पनि भारतले चासो नलिएपछि नेपाल र भारत प्रवुद्ध समूह (ईपीजी)ले तयार पारेको सीमा र विभिन्न सन्धि सम्बन्धी प्रतिवेदन अलपत्र छ। नेपाली भूमि भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले पनि नयाँ नक्सा संसदबाट अनुमोदन गर्दै आफ्नो भूमि नक्सामा समावेश गरेको छ। नक्सा विवादका कारण नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आएको थियो।

नेपालका लागि हाललाई ईपीजीको प्रतिवेदन र नक्सा विवाद नै भारतसँग उठाउनुपर्ने सबैभन्दा महत्वपूर्ण विषय भएको पूर्वराजदूत उपाध्यायको भनाई छ।
तर, यो भ्रमणलाई शिष्टाचार भनिएकाले यी विषय एजेण्डाका रुपमा उठान हुने सम्भावना भने कमै रहेको परराष्ट्र स्रोत बताउँछ। तर, नेपालले आफ्नो चासोको विषयलाई वार्तामा प्रवेश गराउन सक्नुपर्ने पूर्वराजदूत उपाध्यायको टिप्पणी छ।

उनले यसअघि रअ प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्नुलाई भने सकरात्मक रुपमा लिन नसकिने बताए। उनले कुनै देशको खुफिया एजेन्सीका मानिसहरुसँग प्रधानमन्त्रीले प्रोटोकल मिचेर भेट गरेको बताए। तर, भारतीय सेना प्रमुख जनरल मनोजमुकुन्द नरवणेको भ्रमणले सकरात्मक परिणाम दिने संकेत देखिएको भन्दै त्यसैको परिणाममा विदेश सचिवको भ्रमण हुन लागेको बताए। उनले यो भ्रमणबाट परराष्ट्रमन्त्री स्तरीय वार्ताको वातावरण बन्ने बताए।

त्यसो त भारतीय विदेश सचिव श्रृंगला भारत फर्केको केही दिनमै उत्तरी छिमेकी चीनका रक्षामन्त्री काठमाडौं आउँदै छन्। दुई छिमेका उच्च अधिकारीको काठमाडौं भ्रमणले नेपालमा छिमेकीको सक्रियताका रुपमा चर्चा हुन थालेको छ। तर, यस अवसरलाई नेपालले सकरात्मक रुपमा उपयोग गर्न सक्नुपर्ने जानकारहरु बताउँछन्।

भारतका लागि पूर्वराज दूत उपाध्यायले यो भ्रमणको समयका विषयमा नेपालले परिपक्वता देखाउन नसकेको टिप्पणी गरे। उनले भने, ‘उनीहरु त आउन खोज्छन्। तर, कतिबेला बोलाउने भन्ने हाम्रो कुरा हो। आउनेलाई दोष दिन मिल्दैन। समय अलि मिलाएको भए हुन्थ्यो।’

उनले विश्वराजनीतिमा अहिले अमेरिका र चीन आक्रामक रुपमा अगाडि बढिरहेको भन्दै नेपाल यो एलाइन्समा फस्न नहुने बताए। उनले चीन र भारतसँगको सम्बन्धलाई नेपालले जतिसक्यो सन्तुलमा राख्न सक्नुपर्ने भन्दै त्यसबाटमात्र नेपालको हित हुने टिप्पणी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *