बर्दिवास घटनाः एक हत्याको न्याय माग्दा अर्का नागरिकले ज्यान गुमाए

डिसी नेपाल
१० मंसिर २०७७ २०:२१

काठमाडौँ। बर्दिवास नगरपालिका १४, महोत्तरीका शहीद आलमकी छ वर्षीया छोरी गुलाब साह खातुन आइतबार साँझदेखि हराएकी थिइन्। घरबाट चकलेट किन्न भनेर गएकी उनको शव सोमबार मध्यराति बोरामा हालिएको अवस्थामा घर नजिकैको खेतमा भेटियो।

यो घटनाले यतिबेला बर्दिबास तनाबग्रस्त अवस्थामा रहेको छ। बालिकाको हत्या गरेको अभियोगमा बर्दिबासमा किराना पसलका सञ्चालन गर्दै आएका २५ वर्षका अरुणकुमार साह पक्राउ परेका छन्। साहले सोमबार मदिराले मातेका बेला परिवारका सदस्यसँग बालिकाको हत्या आफूले गरेको बताएपछि त्यसैका आधारमा प्रहरीले पक्राउ गरेको थियो।

सोधपुछ गर्दा साहल अभियोग स्वीकार गरेको प्रहरीले बताएको छ। वालिकाको हत्या भएको भोलिपल्ट(मंगलबार) स्थानीयहरुले आन्दोलन गरे। यतिन्जेलसम्म प्रहरीले बालिकाको शव पोष्टमार्टमका लागि पठाइसकेको थियो। आन्दोलन चर्किदै गएपछि प्रहरी र आन्दोलनकारीहरुबीच झडप हुन पुग्यो।

आन्दोलनकारीहरुले साहको घरमो आगो लगाइदिए। प्रहरीले दमकल बोलायो। तर, स्थानीयले त्यसलाई पनि अवरोध गरे। आगलागीबाट साहको घरमा क्षति भएको छ।

यसले गर्दा बर्दिबासमा मंगलबार दिनभर पूर्वपश्चिम राजमार्ग तनाबग्रस्त बन्यो। आन्दोलनकारीले टायर बालेर सडक जाम गरे। प्रहरीले सडक सुचारु गर्ने क्रममा अश्रु ग्यास र हवाई फायर गर्यो।

अन्ततः केही नचलेपछि गोली समेत चलाएको थियो। प्रहरीको गोली लागेर दुईजना घाइते भएका थिए।

प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा बुधबार बिहान मृत्यु भयो। झडपमा परेर थुपै्र प्रहरी पनि घाइते भए।

यस घटनाले गर्दा बर्दिवासमा बुधबार पनि फेरि आन्दोलन चर्केको छ। घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

निषेधाज्ञा जारी गरेपनि आन्दोलनकारीले उग्र रुप लिएपछि बुधबार पनि आन्दोलनकारी प्रहरीबीच झडप भएको छ। आन्दोलनकारीले बर्दिबास नगर प्रमुखको पुत्ला समेत दहन गरेका छन्। झडपमा प्रहरीले करिब एक दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

सामान्य त अपराधी पत्ता नलाग्दा आन्दोलन हुने गर्छ। तर, यो घटनामा अभियुक्त पक्राउ परेका छन् र उनले आफ्नो अपराध पनि कबोल गरेको प्रहरीले बताएको छ।
तर यस घटनाका अभियुक्त भनिने अरुणकुमार साहलाई प्रहरीले ओत दिने गरेको स्थानीयको दाबी छ। साह यसअघि पनि हत्याका घटनामा संलग्न रहेका थिए। उनी धरौटी तिरेर जेलबाट छुटेका ब्यक्ती हुन्।

साहमाथि गत बैशाखमा आफ्नै साथी दिलीप ठाकुरमाथि ढुुंगा प्रहार गरी हत्या गरेको अभियोग लागेको थियो। प्रहरीले उनलाई त्यसबेला पनि पक्राउ गरेको थियो र कर्तव्य ज्यान मुद्दा चलाएको थियो। साह थुनछेक बहस हुँदा महोत्तरी जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएसँगै साह रिहा भएका ब्यक्ती हुन्।

भर्खरै धरौटीमा रिहा भएर आएको ब्यक्ती भएकाले स्थानीयहरुमा आक्रोस रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको बुझाई रहेको छ।

घटनामा आन्दोलनकारीहरु अति नै उग्र भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा घटनाले गम्भीर मोड लिएकाले निषेधआज्ञा समेत लगाउनुपरेको प्रजिअ कटुवालले बताए।

‘अरुको हत्या गर्ने र र धरौटी बुझाएर छुटिरहने हो भने साहले धेरैको ज्यान लिन सक्छ भन्ने त्रास स्थानीयमा देखिएकाले स्थानियहरु पनि आका्रेसित भएका थिए’, प्रजिअ कटुवालले डिसी नेपालसँग भने,‘ पीडितले न्याय नपाउने अवस्थामा स्थानीयमा आक्रोशित हुनु स्वभाविक हो’

प्रहरीले भिड नियन्त्रण गर्ने क्रममा घाइते भएका एकजनाको मृत्यु भएको दुःखद् भएको भन्दै पीडितका परिवारले न्याय पाउने पनि उनले बताए।

प्रजिअ कटुवालले भने, ‘अपराधीलाई सजाय दिलाउने विकल्पबारे सोच्नुपर्ने, आक्रोसित भएर कसैले पनि तोडफोड आगजनी गरेर राम्रो भएन।’

इलाका प्रहरी कार्यालय बर्दिबासमा बसेको सर्वपक्षीय बैठकले बालिकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, त्यसैगरी आन्दोलनका क्रममा मंगलबार मृत्यु भएका बुद्धिराज न्यौपानेको परिवारलाई क्षतिपूर्ति दिने, घटनाका दोषीलाई कारबाही गर्ने, आन्दोलनका क्रममा मृतकलाई सहिद घोषण गर्ने जस्ता निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले डिसी नेपाललाई बताए।

वार्तामा प्रजिअसहित सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधिहरू सहभागी थिए। तर, पीडितहरु भने सो छलफलमा सहभागी नभएको बताइएको छ।

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *