योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन
काठमाडाैं। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा बिहीबार निधन भएको छ। कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत डा शाक्यको आज बिहान ४ बजे निधन भएको हो।
डा शाक्य तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका पालामा आयोगका उपाध्यक्ष भएका थिए। उनी तत्कालीन अर्थमन्त्री डा रामशरण महतका पालामा अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारको भूमिकामा जिम्मेवारी वहन गरेका थिए।
आयोगको सचिव बनेका डा शाक्य त्यसअघि तत्कालीन विज्ञान तथा वातावरण मन्त्रालयको सचिव भएका थिए। उनले योजना आयोगबाट शाखा अधिकृतका रूपमा ‘करिअर’ शुरु गरेका थिए। शाक्यले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए।
स्व डा शाक्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले शाक्यलाई एक इमान्दार, कर्तव्यनिष्ठ, आर्थिक क्षेत्रका विज्ञका रूपमा स्मरण गरेका छन्।
गत कात्तिक २० गते डा शाक्य कोरोना सङ्क्रमण पुष्टि भएपछि २५ गते ग्लोबल अस्पतालमा भर्ना भएका थिए। त्यहाँ स्वास्थ्यावस्था जटिल भएपछि थप उपचारका लागि उनलाई यही मङ्सिर ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।
मधुमेह र उच्च रक्तचापका बिरामी डा शाक्यलाई पछिल्लो समय मिर्गाैलाको पनि जटिल समस्या देखिएको परिवार स्रोतले जनाएको छ। काठमाडौँको वटुटोल निवासी डा शाक्यका श्रीमतीसहित तीन छोरा र एक छोरी छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment