के देशमा राजतन्त्रको अपरिहार्यता बढेकाे हो ? किन सक्रिय हुँदैछन् राजतन्त्रवादीहरु ?

धनकुमार कार्की
१२ मंसिर २०७७ ६:५३

काठमाडौँ। केही दिनदेखि मुलुकका मुख्य मुख्य शहरहरुमा राजतन्त्रका पक्षमा नारा जुलुस भइरहेका छन्। देशको राजधानी काठमाडौं, प्रमुख पर्यटकीय शहर पोखरा, लुम्बिनी प्रदेशको ठूलो शहर बुटवल, सुदुरपश्चिमको राजधानी धनगढीमा हालैमात्र राजतन्त्रका पक्षमा सडकमा मान्छेहरु देखिए। राजतन्त्रको पक्षमा चर्को नाराबाजी गरे भने गणतन्त्रको विरोध गरे। कुनै राजनीतिक दलको झण्डाको साटो नेपालको राष्ट्रय झण्डा बोकेका युवाहरु सडकमा छन्।

गत जेठ १५ गते नेपालमा गणतन्त्र आएको १४ वर्ष पूरा भएको छ। नेपाली जनताले २०४ वर्षे शाहवंशीय राजतन्त्रको पारिवारिक शासन प्राणालीबाट मुक्ति पाएका छन्। एउटा किसानको छोराले राष्ट्र चलाउन पाउने हैसियत राख्दछ भन्ने गणतन्त्रका १४ वर्षमै पुनः राजतन्त्रका पक्षमा नाराजुलुस हुनुलाई स्वभाविक रुपमा हेर्न नसिकने राजनीतिक विश्लेषकहरुको धारणा छ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कोरोना महामारीको अवस्थामा सरकार आफ्नो कतव्र्यबाट विमुख हुनु र प्रतिपक्षले पनि आफ्नो कतव्र्य विर्सिनुले नै नजताले विकल्पको खोजि गरेको बताउँछन्।

‘जनता निरास भए, गणतन्त्रात्मक व्यवस्थामा जतिअपेक्षा गरेका थिए त्यो अपेक्षित काम सरकारबाट भएको पाइएन, त्यसैले विकल्पको खोजिहुनु नौलो होइन। तर, गणतन्त्रको विकल्प नखोजियोस्, हाम्रो त्यो कामना हो,’ आचार्यले डिसी नेपालसँग भने।

चौतर्फी कोरोना कहर, सरकारमा बस्नेहरुको गैह्र जिम्मेवार हर्कत छ, प्रतिपक्षीको कुनै पनि भूमिका नदेखिएकाले जनतामा निराशा छाएको आचार्यको विश्लेषण छ।

सरकार असफल भएको हो, नेपाली जनता निराश भएका हुन्। कम्युनिष्ट पार्टीले पार्टी एकीकरणपछि दिनुपर्ने जुन स्थिरता थियो त्यो दिएन। आफ्नै घरभित्रको झगडामा व्यस्त भयो, प्रतिपक्ष पनि आन्तरिक कलहमै रह्यो कुनै खबरदारी गरेन, सरकारमा बस्नेहरु अत्यन्तै विवेकशून्य भएपछि, त्यो असर सडकमा देखिन थालेको हो

के नेपालमा राजतन्त्रको अपरिहार्यता हो, संघीयता तथा गणतन्त्र असफल नै भएको हो त? भन्ने प्रश्नमा आचार्यले भने, ‘यसको संघीयतासँग लिनुदिनु केही छैन। सरकार असफल भएको हो, नेपाली जनता निराश भएका हुन्। कम्युनिष्ट पार्टीले पार्टी एकीकरणपछि दिनुपर्ने जुन स्थिरता थियो त्यो दिएन। आफ्नै घरभित्रको झगडामा व्यस्त भयो, प्रतिपक्ष पनि आन्तरिक कलहमै रह्यो कुनै खबरदारी गरेन, सरकारमा बस्नेहरु अत्यन्तै विवेकशून्य भएपछि, त्यो असर सडकमा देखिन थालेको हो।’

‘संसारमा राजा फर्केका उदाहरण पनि नभएका हैनन्। क्रान्तिले स्थापित गरेका एजेण्डाहरु उल्टिएका छन्। नेपालमा त्यो हुँदैन भन्न सकिँदैन। तर, त्यस्तो नहोस भन्ने कामना पूनः दोहोर्याउन चाहन्छु’, विश्लेषक आचार्यले भने।

‘राजावादी भएपनि, भारतबादी भएपनि, चीनवादी भएपनि नेपाली जनताको निराशापनलाई प्रयोग नगर्लान भन्न सकिँदैन,’ नेपालमा राजा फर्किने भन्ने सम्भावनालाई इन्कार गर्न नसकिने उनको भनाइ छ।

पूर्व राजाको सक्रियता
जनताले, जनताका लागि ल्याएको गणतन्त्रको १४ वर्ष पूरा भएको छ। २०६२/६३ को जनआन्दोलनपछि देशमा लामो समयदेखि रहेको शाहवंशीय राजसंस्थाको अन्त्य भएको थियो। आन्दोलनले तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजगद्दी त्यागेर जनता सरह रहन बाध्य गराएको थियो। राजाले गद्दी त्याग गरे पश्चात अन्तरिम संबिधान २०६३ जारी गरियो। अन्तरिम संबिधानको जगमा स्थापित पहिलो जननिर्वाचित संविधानसभाले बिना उपलब्धी स्वतः विघटन भयो।

विभिन्न आरोह अवरोधपछि अन्ततः २०७२ मा नेपालको संविधान लागू भयो। नयाँ सरकार बन्यो । आज पनि त्यही सरकारले जनतालाई केन्द्र मानेर काम गरिरहेको छ।
राजगद्दीको परित्याग गर्दा हँसिलो देखिएका ज्ञानेन्द्र शाहले पछिल्लो समय आफूसँग भएको सम्झौता राजनीतिक दलहरुले कार्यान्वयन नगरेको गुनासो गर्दै आएका छन्।

उनले विभिन्न अवसरमा दिने शुभकामना तथा सम्बोधनलाई माध्यायम बनाएर दलहरुसँग भएको सहमतिको कार्यान्वयन नभएको दुखेसो पोख्दै आएका छन्।
पूर्वराजा शाह आफै सक्रिय नदेखिए पनि विभिन्न बाहानामा उनले आफ्नो चहलपहल बढाइरहेका छन्। तर, उनका समर्थकहरु भने यतिबेला निकै सक्रिय देखिएका छन्। ०६२/०६३ आन्दोलनताका संसद पुनःस्थापनाका क्रममा कुनै न कुनै रुपमा राजसंस्था राख्ने सहमति भएपनि दलहरुले पछिल्लो समय आफूलाई धोका दिएको ज्ञानेन्द्रको आशय छ।

पछिल्लो समय उनले विभिन्न जिल्ला भ्रमणका क्रममा सबैलाई समेटेर जानुपर्ने आशय व्यक्त गर्ने गरेका छन्। सक्रिय रुपमा नभई अभिभावकका रुपमा देशलाई नेतृत्व दिन आफू इच्छुक रहेको पूर्व राजाले थुपै्र अन्तर्वार्तामा बताउँदै आएका छन्।

नेपालमा राजतन्त्रका पक्षमा भएका पछिला गतिविधिहरु

घटना १ :  गत जेष्ठ २१ गते काठमाडौँको माइतीघर मण्डलामा एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरिएको थियो। प्रदर्शनकारीले एमससीको विरोधसँगै गणतन्त्र विरोधी नारा पनि लगाएका थिए। उनीहरुले ‘गणतन्त्र मुर्दावाद, राजा आउ देश बचाउ’को नारा लगाएका थिए।

घटना २ :  गत असोज २४ गते काठमाडौंमा राजतन्त्रका पक्षमा मोटरसाइकल -यालीको आयोजना गरियो। -यालीमा युवाहरुको सक्रिय सहभागिता देखिन्थ्यो।

घटना ३ :  ‘राजतन्त्र पुनर्वहाली गर’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर’ भन्दै गत कात्तिक १५ गते जनकपुरधाममा समेत राष्ट्रिय नागरिक समाजले -याली निकालेको थियो।

घटना ४ :  संवैधानिक राजतन्त्र तथा हिन्दु राष्ट्र पुनस्थापनाको माग गर्दै देशभक्त समाजले मंसिर ४ गते सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा पनि मोटरसाइकल -याली निकालेको थियो।

घटना ५ :  मंसिर ६ गते काठमाडौंमा पनि राजतन्त्रको पक्षमा प्रदर्शन गरियो। नेपाली राष्ट्रिय झण्डासहितको प्रदर्शनमा ‘राजा आउ देशबचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाइएको थियो।

घटना ६ :  बुधवार पोखरामा हजारौँ मानिसहरु राजतन्त्रको पक्षमा नाराबाजी गर्दै सडकमा उत्रिए। कोरोना महामारीका बीचमा पनि गणतन्त्र मुर्दावादको नारासहित यति धेरै मान्छे सडकामा आएका हुन्।

घटना ७ :  मंगलबार राजधानीको एक होटलमा पत्रकार सम्मेलन गर्दै शाही यूवा शक्ति नेपालले जनताहरुलाई राजतन्त्र पुर्नवहालीका लागि सडकमा निस्कन आह्वान गरेका छन्।

‘देशब्यापी रुपमा जनताले राजसंस्था खोजिरहेका छन्।’ पत्रकार सम्मेलनमा शाही युवाशक्ति नेपालका अध्यक्ष पशुपति खड्काले भने, ‘यो अवस्थामा केही कार्यक्रमहरुमा जनताको उल्लेख्य उपस्थिति रह्यो।, यो उपस्थिति जनाताको स्वतस्फूर्थ उपस्थिति हो। केहीले हामीलाई डलरबादीहरुले उचालेको भनेर पनि आरोप लगाएका छन्, यो कुनै कुरा सत्य होइन। कुनै डलरको चलखेल होइन, जनताको उत्साह हो।’

राजतन्त्र फर्केका केही इतिहासहरु

बेलायतमा राजाले कर बढाएको भन्दै राजाप्रति आक्रोसित जनताले सन् १६४९ मा राजतन्त्र समाप्त गरे। आन्दोलनको नेतृत्व गरेका अ‍ेन्लिभर क्रम्वेल सत्तामा आएपछि बेलायत गणतान्त्रिक मुलुक भयो। उनको सक्रियतामा जनतालाई राजाप्रति आक्रोशित बनाएर राजा चाल्स प्रथमको हत्या गरियो। चाल्स प्रथमको हत्या भएपछि सन् १६५९मा राजसंस्था विस्थापित गरियो।

बेलायतमा राजसंस्था बिस्थापित भएपछि निरंकुशता, भ्रष्टाचार, अत्याचारले सीमा नाघ्यो। अत्याचार सहन नसकेर बेलायती जनता गणतन्त्रको विरुद्ध सक्रिय भए। क्रम्वेलको मृत्यूपछि उनका छोरा राष्ट्रपति बने। त्यसपछि बेलायती जनताको आक्रोसको सीमा रहेन।

क्रम्वेल राष्टपति भएकोको ११ बर्षपछि १६६० मा उनको शव चिहानबाट झिकेर बेलायती जनताले शहर घुमाएको इतिहास छ। सन् १६६० मा स्कटल्याण्डमा रहेका चाल्र्स प्रथमका छोरा चाल्र्स द्वितीयलाई राजा बनाएपछि बेलायमा राजतन्त्रको पुर्नस्थापना भएको थियो।

सन् १९७० मा कम्बोडियामा राजतन्त्र हटाइयो। राजतन्त्र हटेको ३० वर्षपछि सन् १९९३ मा कम्बोडियाका जनताले राजा नरोद्धम सिंहानुकलाई सत्तामा ल्याएका थिए।
स्पेनमा पनि राजा अल्फोन्सो तेस्रोले देश छाडे। स्पेन अशान्त भयो। पछि सन् १९६९ मा हुँवा कार्लोसलाई राजसिंहासनमा राखेपछि स्पेन स्थिर बन्न पुग्यो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *