पाठ्यक्रम लागू गर्न दरबन्दी सिर्जना

डिसी नेपाल
१३ मंसिर २०७७ २३:२८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्नका लागि सबै सामुदायिक विद्यालयमा दरबन्दी नै सिर्जना गरी शिक्षक पठाउने भएको छ ।

यही शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भने पनि विश्वभर फैलिएको कारोना भाइरसका कारण पठनपाठन ठप्प हुँदा पाठ्यक्रम लागू हुन नसकेको हो ।

कामपाका शिक्षा विभाग प्रमुख नमराज ढकालका अनुसार हाल कामपामा सञ्चालित ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय आगामी शैक्षिकसत्रदेखि अनिवार्यरूपमा आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गरिनेछ ।

पठनपाठनका लागि पाठ्यसामग्री तयारी छ । संस्थागत विद्यालयमा पाठ्यसामग्री पठाउने र सामुदायिक विद्यालयमा नयाँ दरबन्दी सिर्जना गरी शिक्षकसहित पठाउने तयारी कामपाको तयारी रहेको छ ।

स्थानीयस्तरको भाषाका बारेमा जानकारी दिनका लागि कक्षा १ देखि ८ सम्म १०० पूर्णाङ्कको पाठ्यक्रम अनिवार्य लागू गर्न लागिएको हो । यस विषय पठनपाठन गर्नका लागि कामपाको ५३औँ कार्यपालिका बैठकले विद्यालयमा पठाइने शिक्षकलाई प्रशिक्षण दिने निर्णयसमेत गरिसकेको छ ।

हाल कामपाको सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाको सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *