शेयर बजार ७५ अंकले बढेर नयाँ रेकर्ड

डिसी नेपाल
१४ मंसिर २०७७ १७:२५

काठमाडौं। नेपाली शेयर बजारमा आइतबार फेरि नयाँ रेकर्ड कायम भएको छ। साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज सूचक (नेप्से) ७५.०२ अंक बृद्धि भई १९६८.२७ अंकमा पुगेको छ।

यसअघि गत विहीबार कायम भएको १८८१ अंकको रेकर्ड तोड्दै बजारले नयाँ रेकर्ड कायम गरेको हो।

आइतबार दुई सय कम्पनीका २ करोड ५९ लाख कित्ता शेयर किबेच भई ९ अर्व २२ करोड बराबरको कारोबार भएको छ। कारोबार रकम पनि हालसम्मकै उच्च हो।

आइतबार समूहगत परिसूचकमध्ये वाणिज्य बैंक समूह उच्च अंकले बृद्धि भएपछि नेप्सेमा सकारात्मक प्रभाव परेको हो। योसँगै बीमा, होटल, उत्पादन तथा प्रसोधन, व्यापार र जलविद्युत समूहमा पनि बृद्धि भएको छ।

कोभिड–१९ को महामारीका कारण लगानीका क्षेत्रहरु सुस्ताउँदा सर्वसाधारणले छोटो अवधिको लगानीका रुपमा शेयर बजारलाई प्रयोग गर्न थालेपनि बजार सूचक लगातार उकालो लागेको छ।

व्यापारीहरुले आफूसँग रहेको रकम शेयर बजारमा लगाएकाले र बैंक तथा वित्तीय संस्थाको व्याजदर सस्तो भएकाले समेत बजारमा बृद्धि हुन सघाएको विश्लेषण छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *