तातोपानीले घर जल्दैन, कम्युनिष्ट पार्टी एक ढिक्का रहन्छ : मन्त्री अर्याल

डिसी नेपाल
१४ मंसिर २०७७ २३:२३

स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छन् । आज (आईतबार) वालिङ – १२ को छाप कौलाशे लिफ्टिङ खानेपानी उप–योजनाको शिलान्यास गर्दै त्यस्तो बताएकी हुन् ।

मन्त्री अर्यालले पार्टीभित्र चलिरहेको विवादलाई लिएर सरकारको भविष्य के हुन्छ भनेर प्रश्न उठ्ने गरेको भन्दै तर, अहिले ओली सरकारको विकल्प नरहेको र यसमा दुविधा नहुन आग्रह गरिन् । मन्त्री अर्यालले भनिन्, ‘नेकपाभित्रको विवादलाई लिएर सरकारको भविष्य माथि के हुन्छ भन्ने प्रश्नहरु उठेका छन् । यसमा कुनै दुविधा छैन् । ओली सरकारको विकल्प छैन् ।’

वर्तमान सरकार ५ वर्षसम्म निरन्तर रहने भन्दै मन्त्री अर्यालले ओली सरकारले नै देशलाई परिर्वतन गर्ने दिशामा अगाडी बढेको दाबी गरिन् । कम्युनिष्ट पार्टी एक गतिशिल पार्टी भएकाले छलफल र विवाद स्वभाविक भएको उनको भनाई थियो । ‘पार्टीभित्र बहस घनिभूत रुपमा चल्छ तर, पार्टी फुट्ने कुरा हुँदैन् । दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । सदस्यहरुको तहमा प्रतिवेदन पुगेको छ । बहस र छलफल चल्दैमा पार्टी फुट्ने कुनै संभावना छैन्’, उनले भनिन् ।

तातोपानीले घर नजल्ने भन्दै मन्त्री अर्यालले कम्युनिष्ट पार्टी एक ढिक्का रहने दावी गरिन् । ‘जनताको चाहनाले दुई ठुला पार्टी एक भएकाले जनता पार्टी फुटोस भन्ने चाहँदैनन्’, मन्त्री अर्यालले भनिन्, ‘जनता कम्युनिष्ट सरकारको विकास अनुभुत गरिरहेका छन् । यही सरकारको निरन्तरता जनताको पनि चाहाना हो ।’

सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्य हाँसिल गर्ने उद्देश्यका साथ जनताको आधारभुत आवश्यकता पुरा गर्न अगाडि बढेको मन्त्री अर्यालले बताइन् । जनताको आधारभुत आवश्यकता स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आवश्यकतालाई परिपुर्ती गर्न विभिन्न योजनाका साथ अगाडि बढेको उनले बताइन् ।

मन्त्री अर्याल भन्छिन्, ‘प्रत्येक घर–घरमा धारा र शौचालय पुर्याउने योजनाका साथ हामी अगाडि बढेका छौँ । जनता अब डोको र नाम्लोबाट मुक्त हुनेछन् । घर–घरमा धारा जडान हुनेछ ।’

४३ करोडको खानेपानी योजना अन्र्तगत वालिङ नगरपालिकाका विभिन्न वडाहरुमा गरी ९ खानेपानी उप–योजनाहरु सञ्चालन हुनेछन् । त्यही योजना अन्र्तगत मन्त्री अर्यालले आईतबार छाप कौलाशे लिफ्टिङ उपयोजना, सिर्सेकोट लिफ्टिङ उपयोजना, डुडखोला खानेपानी उपयोजना र अधेरीखोला लंकाकोट अर्लुङ भोर्ले उपखानेपानी योजनाको शिलन्यास गरेकी हुन् ।

यी ४ योजना बाहेक वालिङ १, त्रियासीमा खानेपानी उपयोजना निर्माण शुरु भएको छ भने, पेखु, पाठखोला, मिर्दि, रामबाच्छा खानेपानी उपयोजना शिलन्यास हुँन बाँकी रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *