नेपाल–भारत सम्बन्ध सही ट्रयाकमा फर्किएको छ : डा. भट्टराई

डिसी नेपाल
१५ मंसिर २०७७ १५:३९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले भारत र चीन दुवै देशसँग नेपालको द्विपक्षीय सम्बन्ध सुमधुर र सुदृढ रहेको स्पष्ट पारेका छन्।

आज (सोमबार) रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले सरकारले देश र जनतालाई केन्द्रविन्दु र हितलाई सर्वोपरि राखेर छिमेकीहरुसँगको सम्बन्ध अघि बढाएको र अहिले भारत र चीन दुवै देशसँग नेपालको सम्बन्ध सही दिशामा अघि बढेको दाबी गरे।

भट्टराईले भने,‘हाम्रो विदेश नीतिको मामिलामा वर्तमान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र उहाँ नेतृत्वको सरकारको स्पष्ट भनाइ के छ भने संविधानमा पनि उल्लेख छ–हामी कतैपनि संलग्न नरहेर, हामी सैन्य र राजनीतिक संलग्नतामा नजाने, कुनै पोलमा पनि जाँदैनौं। हाम्रो भू–राजनीतिक अवस्थिति नै त्यस्तो छ, हामी यता हो कि उता भनेर सोच्ने छुट छैन। हाम्रा नजिकका छिमेकीहरुसँगको सम्बन्धलाई ध्यान दिनैपर्छ। स्वतन्त्रतासँग जोडिएको विषय छ। जनताको हितलाई ध्यानमा राखेर गरिने सहकार्यमा सरकार अडिग छ।’ उनले मित्रराष्ट्र भारतसँग नेपालको लामो सहकार्य रहेको सुनाए र आगामी दिनमा पनि द्धिपक्षीय सम्बन्ध झनै प्रगाढ बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

उनले भने,‘सामाजिक, धार्मिक, सांस्कृतिक र भाषाका हिसाबले भारतसँग हाम्रो सम्बन्ध धेरै प्रगाढ छ । बढिभन्दा बढि परनिर्भरता भारतसँग रह्यो। अहिले पनि दुई तिहाँई वैदेशिक व्यापार भारतसँगमात्रै छ । भारतले सहयोगात्मक परियोजना नेपालमा थुप्रै छन्। संविधान बनाउने बेलामा भारतले प्रभाव देखाउन खोजेको थियो । तर, नेपालका दलहरुले एकता देखाए। आजको नेपाल र आजको चेतनाअनुसार हामी सम्बन्ध बनाउँछौं । त्यही भएर हामीले हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप हुँदैन भन्यौं।’

उनले भारतसँग सीमाको विवादको समस्या रहेको उल्लेख गर्दै त्यसलाई पनि हल गर्नेगरि वर्तमान सरकारले काम अघि बढाएको सुनाए।

उनले भने,‘यो विवाद अहिलेको होइन। दुई प्रधानमन्त्रीबीच गत अगष्ट १५ मा टेलिफोनवार्ता भयो। सम्वाद भयो। भारतीय प्रधानमन्त्रीले ईन्टिलिजेन्स प्रमुखलाई आफ्नो सन्देश बोकेर पठाउनुभयो। अघिपछि नेपालका थुप्रै नेताहरुले रअ प्रमुखसँग भेटेका छन्। यो अभ्यास विगतदेखि नै छ। अहिले आए उनी, उनी के भनेर आए भने सम्वाद प्रक्रिया अघि बढाउन आए। भारतीय प्रधानमन्त्रीले पठाएर रअ प्रमुख नेपाल आएका हुन्। को पठाउने भन्ने कुरा उहाँहरुको कुरा हो। आइसकेपछि हाम्रो प्रधानमन्त्रीले भेट्नुभयो। शिष्टाचार भेटबारे धेरै कुरा बाहिर आइसकेको छ। त्यसपछि भारतीय सेना प्रमुखको भ्रमण भयो। यो परम्पारगत भ्रमण हो। त्यसलगत्तै भारतीय परराष्ट्रसचिवको नेपाल भ्रमण भयो। यो उहाँको ईन्ट्रोडक्टर भिजिट हो। उहाँ विदेश सचिव भएपछि पहिलोपटक आउनुभयो।’

डा. भट्टराईले अहिले नेपाल–भारत सम्बन्ध ट्रयाकमा फर्किएको विश्वास गरे। उनले भने,‘अहिले नेपाल–भारत सम्बन्ध ट्रयाकमा फर्किएको छ। अब परराष्ट्रमन्त्रीस्तरीय भ्रमण हुन्छ। मलाइ लाग्छ, यो डिसेम्बरभित्रै परराष्ट्रमन्त्रीस्तरीय संयुक्त संयन्त्रको बैठक बस्छ। बास्तवमा यो संयन्त्रको मिटिङ भनेको महत्वपूर्ण हो, भेटवार्ताको यो ठूलो र महत्वपूर्ण मेकानिज्म हो। यसमा सबै विषयमा छलफल हुन्छ। अस्ति दुई परराष्ट्रसचिवबीच सबै विषयमा छलफल भएका छन्। सीमा समस्याको बारेमा पनि छलफल भएको छ। अब परराष्ट्रमन्त्रीस्तरमा हुन्छ। यसले त्यो भन्दा बढि लेभलमा छलफल र भेटवार्ता हुन्छ।’

उनले चीनसँगको सन्दर्भमा पनि अहिले सम्बन्ध प्रगाढ रहेको बताए। उनले भने,‘यो बीचमा थुप्रै सन्धि गरेका छौं। वर्तमान प्रधानमन्त्री हुँदा २०१६ मा एक हिसाबले ऐतिहासिक र दुरगामी असर पर्ने सन्धिहरु भएका छन्। दश बुँदे सन्धि जुन भयो, त्यसमा सबैभन्दा महत्वपूर्ण भनेको त पारवाहन र यातायात छन्। नाकाहरु व्यवस्थित गरेर लैजाने कुरा भएका छन्। रेलवेको कुरा छ। किमाथांका नाकाको ट्रयाक खोल्ने काम भैरहेको छ। दक्षिणजस्तै उत्तरसँगपनि कनेक्टिभिटिीमा जानुपर्छ। दुवै मुलुकबाट फाईदा लिएर अघि बढ्नुपर्छ। चिनियाँ रक्षामन्त्रीको हिजो सम्पन्न भएको भ्रमण रेसिप्रोकल भिजिट हो । गत वर्ष हाम्रो रक्षामन्त्रीले भ्रमण गर्नुभएको थियो। नेपाल भारतबीचको सम्बन्ध, स्वतन्त्र देशबीच स्वतन्त्र सम्बन्ध हो । चीनसँगपनि हाम्रो सम्बन्ध स्वतन्त्र हो। हाम्रा सम्बन्ध सबै मित्रराष्ट्रसँग त्यही आधारमा हुन्छन् । हामीले ‘सबैसँग मित्रता, छैन कोहीसँगपनि शत्रुता’ को रुपमा अघि बढाएका छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *