जुद्ध बारुणयन्त्र भक्तपुरको भवन पुनःनिर्माण शुरु

डिसी नेपाल
१५ मंसिर २०७७ २३:३९

भक्तपुर । महाभूकम्पपछि जीर्ण बनेको भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयको भवन बल्ल पुनःनिर्माण शुरु भएको छ। भूकम्प पुर्ननिर्माण प्राधिकरणको कूल रु छ करोड २६ लाख ४९ हजार ८११ को लागतमा निमाण हुन लागेको भवनको आज जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका कार्यकारी निर्देशक श्यामकिशोर सिंहले संयुक्त रुपमा शिलान्यास गरेका छन्।

भवन ब्लक ‘ए’ र ब्लक ‘बि’ गरी एउटा साढे दुई तले र अर्को तीनतले नयाँ भवन बन्ने भएको जुद्ध बारुणयन्त्र कार्यालयका प्रमुख सुरज निरौलाले जानकारी दिए। दुवै भवनमा चार÷चार वटा फायर ब्रिगेड गाडी अट्ने ठाउँ, सभाहल र कर्मचारीको आवास कक्षको निर्माण हुनेभएको छ।

सरकारले दमकलको जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय गरेपनि ललितपुर र काठमाडौँमा रहेका जुद्ध बारुणयन्त्र स्थानीय तहले नै जिम्मेवारी लिएका छन्। भक्तपुर नगरपालिकाले भने अझै पनि जिम्मेवारी लिन नमानेपछि गृह मन्त्रालयअन्तर्गत सञ्चालित ७७ वर्षे इतिहास बोकेको जुद्ध बारुणयन्त्रको कार्यालय अलपत्र रहेकामा लामो समयपछि व्यवस्थित रुपमा भवन निर्माण हुन लागेको हो।

तत्कालीन राणा सरकारले विसं २००१ मा तीन रोपनी नौ आना सार्वजनिक जग्गामा भवन निर्माण गरी दूधपाटीमा जुद्ध बारुणयन्त्रको कार्यालय स्थापना गरेको थियो। त्यसयता बारुणयन्त्रले निरन्तर सेवा दिँदै आइरहेको छ। कार्यालयसँग पर्याप्त दमकल छैनन् भने भएका दमकल पनि बिग्रिएका अवस्थामा छन्। जिसस प्रमुख गेलालले विभिन्न चुनौतीहरुका बाबजुत पनि कार्यालयले विपत्का समयमा समेत चुस्त–दुरुस्त र प्रभावकारी सेवा दिँदै आइरहेका बताए। कार्यालयमा स्रोतसाधनको अभावका बाबजुद पनि लामो समयदेखि सेवा दिँदै आइरहेको जुद्ध वारुणयन्त्रलाई दिगो बनाउन अब बन्ने नयाँ भवनले सहयोग गर्ने बताए।

कार्यालय प्रमुख निरौलाले कार्यालयका लागि एउटा सानो दमकल अपुग रहेको बताए। उनले दमकलको सेवालाई थप चुस्त र दुरुस्त बनाउन भक्तपुरका चार वटै नगरपालिकाको सहयोग आवश्यक रहेको औँल्याउँदै कर्मचारीको वृद्धि विकास पनि आवश्यक रहेको बताए।

कार्यालयमा भएका छ वटा दमकलमध्ये चारवटा बिग्रिएको अवस्थामा रहेको छ। मध्यपुरथिमि नगरपालिका र सिद्धि स्मृति अस्पतालले दिएको दमकल भने चालू अवस्थामा रहेको कार्यालयका सूचना अधिकारी विजय धौभडेलले जानकारी दिए। दमकल र जनशक्ति अभाव एवं जीर्ण भवनका कारण समस्या भोग्दै आए पनि भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र रामेछापसम्म पुगेर समेत जुद्ध बारुणयन्त्र भक्तपुरले सेवा दिँदै आएको उनले बताए।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका कार्यकारी निर्देशक श्यामकिशोर सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यज्ञराज जोशी, जिल्ला आयोजना कार्यान्वयन एकाइका भवनका प्रमुख महालक्ष्मी जोशी र आवासका प्रमुख अनन्तप्रसाद आचार्यलगायतले कार्यक्रममा जुद्ध बारुणयन्त्र भक्तपुरको संरक्षण र विकासमा सबैको जिम्मेवारी भएकाले सबैले आआफ्नो क्षेत्रबाट पहल कदमी गर्नुपर्ने बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *