प्रदेश नं २ का सीमावर्ती क्षेत्रमा प्रत्येक नौ किलोमिटरमा बिओपी स्थापना

डिसी नेपाल
१५ मंसिर २०७७ २३:५६

सर्लाही । भारतसँग सीमा जोडिएको सर्लाहीसहित प्रदेश नं २ का आठ जिल्लाका सीमावर्ती क्षेत्रमा प्रत्येक नौ किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी (सीमा सुरक्षा पोष्ट)स्थापना गरिएको छ।

सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना भएको हो।

प्रदेश नं २ का आठ जिल्लामा हाल ६३ वटा बिओपी रहेका छन भने भारतसँग ४६४ किलोमिटर खुल्ला सिमाना जोडिएको भूभाग रहेको छ। ५१ किलोमिटर खुल्ला सिमाना रहेको सर्लाहीमा नौवटा बिओपी छन् ।

प्रदेश नं २ का आठ जिल्लामा पर्सामा १३ वटा बिओपी रहेका छन्। त्यसैगरी बारामा सात, रौतहटमा पाँच, महोत्तरीमा आठ ,धनुषामा सात, सिरहामा सात र सप्तरीमा सात वटा विओपी छन्।

सीमा क्षेत्रमा हालसम्म ६ देखि ९ किमीको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी रहेको छ। सीमापारि भारतीय भूमिमा प्रत्येक पाँच किलोमिटरको दूरीमा त्यहाँको सीमा सुरक्षा बल(एसएसबी)को पोष्ट सञ्चालनमा रहेको जनाइएको छ।

छिन्नमस्ता वाहिनीका वाहिनीपति चन्द्रप्रकाश गौतमका अनुसार प्रत्येक सातदेखि नौ किलोमिटरको दूरीमा बिओपी स्थापना गरिएको छ। पछिल्लो समयमा केही बिओपी थपिएपछि भारतसँग ४६४ किलोमिटर खुल्ला सिमाना रहेको प्रदेश नं २ मा अब सातदेखि नौ किलोमिटरको दूरीमा बिओपी स्थापना भएको हो। सीमाको सुरक्षाका साथै चोरी, तस्करीजस्ता अवैध गतिविधि रोक्न भन्दै सिमामा बिओपिहरु थप गरिएको हो।

नेपाल सरकारले भारत र चीनसँग सीमा जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा करिब ५०० बिओपीको स्थापना गर्ने लक्ष्य राखेको छ। सङ्घीय सरकारको योजना अनुसार प्रदेश नं २ मा अझै ९२ वटा बिओपी स्थापना हुनेछन्। जग्गा विवाद नरहेका स्थानहरुमा केही समयमै बिओपीहरु स्थापना हुने वाहिनीपति गौतमले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *