फाइजर र एनबायोटेकको खोपले एक हप्ताभित्रै अनुमति पाउने संभावना

डिसी नेपाल
१६ मंसिर २०७७ ६:३५

काठमाडौं। बेलायतले फाइजर र एनबायोटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन अनुमति दिने तयारी गरेको छ। फाइजर र एनबायोटेकले विकास गरेको खोपको अनुमति दिने बेलायत पहिलो राष्ट्र हुनेछ।

दुबै कम्पनीले कोभिड–१९ विरुद्धको खोप लगाउन अनुमति माँगेको केही घण्टाभित्र डिसेम्बर ७ तारिक भित्रै अनुमति पाउने छ। बेलायतको अखबार द नेशनलको अनलाइन संस्करणका अनुसार अमेरिकाले डिसेम्बर ८ देखि १० भित्र खोपको आकस्मिक प्रयोगको अनुमति दिने तयारी गरेको छ।

बेलायतका अधिकारीहरुले खोप लगाउन सर्वसाधारणलाई प्रोत्साहन गर्न र विश्वास दिलाउन सेलेब्रिटि परिचालन गरी अभियान नै सञ्चालन गर्नेछ। सर्वसाधारणले विश्वास गरेका अनुहारलाई अभियानको हिस्सा बनाइनेछ।

म्यान्चेष्टर यूनाइटेडका फुटबलर मार्कस राशफोर्ड र राज परिवारका सदस्यहरु समेत उक्त अभियानमा सहभागी हुनेछन्। राशफोर्डले विद्यालयमा दिइने निशुल्क भोजन अभियानमा सहभागी भई सर्वसाधारणको विश्वास आर्जन गरेका छन्।

बेलायतका वातावरण सचिब जर्जन ऐस्टिसले चर्चित अनुहारलाई अभियानको हिस्सा बनाउँदा कोभिड–१९ विरुद्धको खोपबारे सर्वसाधारणमा देखिएको भ्रम हटाउन महत्वपूर्ण हुने बताए। बेलायतले फाइजर र एनबायोटेकसँग खोपको चार करोड डोज आपूर्ति गर्न सम्झौता गरेको छ।

दुबै कम्पनीको कोभिड विरुद्धको खोपको तेस्रो चरणको ट्रायलले ९५ प्रतिशत प्रभावकारी हुने दाबी गरेको छ। उक्त खोप महिना दिनको अन्तरालमा दुई पटक दिइनेछ।

बेलायतका अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी त्यसपछि नर्सिङ होमका आवासीय कर्मचारी र पछि ८० वर्षभन्दा बढी उमेरका ब्यक्तिमा खोप लगाउने तयारी गरिएको छ। बेलायतको लण्डनस्थित इम्पेरियल कलेजमा एक्सपेरिमेन्टल मेडिसिनका प्राध्यापक पिटर ओपेनशाले दुई साताभित्रै खोप लगाउने अनुमति दिइए आफू चकित नहुने बताए।

स्वयंसेवीहरुलाई खोपको पहिलो डोज लगाउन प्रशिक्षण दिइएको छ। जसका लागि एक हजार सामुदायिक खोप केन्द्रले नियमन गर्ने तयारी गरिएको छ। सरकारले तयारी गरेको कागजातहरुका अनुसार खोप लगाएकाहरुलाई सुरक्षित राख्न ४० देखि ५० वटा रंगशालामा राखेर नियमन गरिनेछ।

डेली मेलमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो लेखमा अबको केही दिनभित्रै खोप लगाइने तयारी भइरहेको खुलाएका छन्। यद्दपी उनले कोभिड–१९ सङ्क्रमणको श्रृखंला तोड्न अपनाइएको सर्तकताका उपायहरुमा तात्कालै खुकुलो पार्ने कुनै योजना नरहेको प्रष्ट्याएका छन्।

बेलायतमा नोभेम्बर पाँचमा लकडाउन गरिए यता कोरोना सङ्क्रमण नियन्त्रण प्रभावकारी देखिएको छ। बेलायतमा आगामी बुधबारसम्म लकडाउन गरिएको छ। इम्पेरियल कलेज लण्डनले जारी गरेको एक अध्ययन बमोजिम लकडाउनले सङ्क्रमण दर ३० प्रतिशतले कमी आएको छ।

नियामक निकायले अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको आष्ट्राजेनेका खोपको प्रभाबकारी र सुरक्षा सम्बन्धमा समेत अध्ययन गरिरहेको छ। यूरोपकै अन्य राष्ट्रहरु जर्मनी लगायतले खोपको प्रभाबकारिता र सुरक्षा सम्बन्धमा यूरोपेली मेडिसिन एजेन्सीले हरियो झण्डा देखाउने पर्खाइमा छन्। जर्मनीले एजेन्सीले हरियो संकेत गरेपछि आगामी महिना नै अनुमति दिने तयारीमा छ।

जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पानले मध्य डिसेम्बरसम्म फाइजर र एनबायोटेकको खोप लगाउन अनुमतिको तयारी गरिएको बभारियन रेडियोसँगको अन्तवार्तामा खुलाएका छन्। गाेरखापत्र दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *