नेकपा बहसका पराकम्प

डिसी नेपाल
१६ मंसिर २०७७ ६:५२

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी यतिबेला गम्भीर बहसमा छ । त्यसो त विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलन दुवै कहिल्यै बहसविहीन भएनन् ।

नक्कली नै भए पनि प्रमुख दुस्मन खडा गरेर त्यसकाविरुद्ध निशाना सोझ्याउन पर्ने, जसोतसो आफैँभित्र पनि विपरीत तत्व करार गरी अन्तरसङ्घर्ष सञ्चालन गर्न पर्ने १ जीवन्त पार्टीमा अन्तरसङ्घर्ष चलिरहन्छ, हरेक सङ्घर्षले पार्टीलाई रूपान्तरण गर्न मद्दतै गर्छ भनेर चित्त बुझाउने पुरानो चलनमा आज पनि कमी आएको छैन ।

हरेक विवादलाई राजनीतिक जामा पहिराउन सिपालु कम्युनिस्ट भाष्य आज पनि कायम छ । मन परेन भने कसैको एजेन्ट वा कसैको उक्साहटमा भनिदिने र राजनीति ध्वस्त बनाइदिने जानेमानेको चलन भन्ने कुरालाई हाल पार्टीको बहसको तरिका र स्तरले पुनर्पुष्टि गरेको छ ।

पार्टी एकताको झन्डै तीन वर्षसम्म पनि महाधिवेशन नहँुदासम्मको सर्वोच्च अङ्ग मानिएको केन्द्रीय कमिटीको जम्माजम्मी दुई बैठक बस्ने र अर्को महाधिवेशन हुनुपर्ने अवधिसम्म पार्टी एकताका बाँकी काम नसकिने हदै दर्जाको पार्टी गतिविधि छ ।

समाजवादउन्मुख जनताको जनवादको तत्कालीन कार्यक्रमसहितको कम्युनिस्ट पार्टी नेतृत्वको सरकार सुशासनको मामलामा प्रश्नै प्रश्नले घेरिने अवस्था र सगरमाथाको उचाइझैँ चुलिएको जनताको अपेक्षा पूरा गर्न नसकिएको अवस्थामा जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ गर्दै राजावादीहरूका एकाध झाँकीहरू प्रहसन हुने गरेको छ । यो अवस्थाले जोकोही पनि नेकपाका समर्थक, शुभचिन्तकहरूकोे चित्त प्रसन्न छैन ।

पार्टीका कार्यकारी अध्यक्षको १९ बँुदे फिरादको प्रतिउत्तरमा प्रथम अध्यक्षको ३८ बुँदे प्रतिउत्तरले सामाजिक सञ्जाल र अनलाइनकारिताले हर्षबढाइँ गरिरहेका बखत पार्टीको नेतृत्वपङ्ति घँुडा धसेर बहसमा उत्रेको दृश्य धुम्बाराहीमा देखिन्छ भने देशैभरि नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरू यो वा त्यो कित्तामा विभाजन भई मल्लयुद्धको पूर्वाभ्यास गर्दै छन् ।

पर्सा घटना यसको एक प्रतिछाँयामात्रै हो । दुई अध्यक्ष वादी प्रतिवादी अरू नेताहरू फड्के किनाराका साक्षी, केही वाक््पटुता भएकाहरू रफुचक्करबाजझैँ रफु भर्ने धुनमा रेडियो, टेलिभिजनमा व्यस्त, जनता निराश यतिबेलाको यथार्थ यही हो । कम्युनिस्ट पार्टीको जीवन बहसमा निर्भर गर्छ ।

माक्र्सवादी भाष्यमा यसलाई आन्तरिक जनवाद भनिन्छ । जनवादी केन्द्रीयता लेनिनवादी सङगठनात्मक सिद्धान्तको मर्म हो भन्दै गर्दा युद्धका बेला केन्द्रीयता र शान्तिका बेला जनवाद भनिन्छ । आवश्यकता र स्वतन्त्रताको बहसको कुरा गर्दा सङ्कटको बेला आवश्यकता र फुर्सदको बेला स्वतन्त्रता भन्ने पनि नगरिएको हैन ।

राजनीतिलाई पेशा बनाएका जनहरूका लागि जे गर्दा पनि फाइदा होला र हरेक बहसले पार्टीलाई नयाँ उचाइमा पु¥याउँछ भनिएला तर आमजनता, समर्थक, शुभचिन्तकका लागि विवाद निराशाको अस्त्र बनेर आउँछ भन्ने बुझ्न कत्ति पनि कठिन हुँदैन । त्यसैमा पनि खास मान्यतामा आधारित बहसले राम्रै परिणाम निकाल्छ भन्ने विश्वास गर्दा पनि यतिबेलाको माहोलले घोषणा गर्दै छ कि यो बहस पद्धतिसम्मत् पनि छैन, न त मित्रवत् । दन्केको आगोमा रोटी सेक्नेहरूको कमी छैन, हेक्का राखिएन भने आगो नेकपाले फुक्ने रोटी अर्कैले सेक्ने नहोला भन्न सकिन्न । गोरखापत्र दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *