सरकारको बहुवर्षीय महत्वकांक्षी योजना, स्वास्थ्य क्षेत्रमा ‘कायापलट’ – Dcnepal

सरकारको बहुवर्षीय महत्वकांक्षी योजना, स्वास्थ्य क्षेत्रमा ‘कायापलट’

काठमाडौं। सरकारले ३ सय ९ वटा स्थानीय तहमा आधारभुत अस्पताल भवनको शिलान्यास गरेको छ।

स्वास्थ्य सेवा स्थानीय स्तरसम्म पुर्याउने उद्येश्यका साथ गत जेठमा संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालहरुको निर्माण गरिने उद्घोष गरकी थिइन्।

सोमबार प्रधानमन्त्री, मन्त्री, सांसद, स्थानीय तहका प्रमुख, सरकारका पूर्व पदाधिकारीहरुले देशभरका ३ सय ९ वटा स्थानीय तहमा बन्ने आधारभूत अस्पतालको भवन शिलान्यास गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी रहेका ८७ वटा स्थानीय तहमा जग्गा प्राप्ति गरी मंसिर महिनामै आधारभुत अस्पताल भवनहरुको शिलान्यास हुने छ।

स्वास्थ्यमा सरकारको आमुल परिवर्तन हो : स्वास्थ्य राज्यमन्त्री रावत

‘सरकारले बनाउन लागेका अस्पतालहरुमा नगरपालिकामा १५ श्यया र गाउँपालिकामा ५ र १० श्ययाका बन्ने छन्,’ स्वास्थ्य राज्यमन्त्री नवराज रावतले भने, ‘हरेक नागरिकको स्वास्थ्य सुविधा पाउने अधिकार बन्चित नहोस भनेर सरकारले आधारभूत अस्पतालहरु नभएको स्थानीय निकायमा अस्पतालहरु निर्माण गर्न थालेको हो।’

‘मंसिर १५ गते स्वास्थ्यको इतिहासमा सुनौलो अक्षरले लेखिने छ,’ रावतले भने, ‘स्वास्थ्य सम्बन्धि कामहरु सरकारले गरिरहेको छ र गरिरहने पनि छ। यतिबेला ५ श्ययाका, १० श्ययाका र १५ श्ययाका आधारभूत अस्पतालहरुको भवनको शिलान्यास भयो। स्वास्थ्य क्षेत्रमा भएको आमुल परिवर्तन हो। नेपालले स्वास्थ्य क्षेत्रमा क्रान्ति नै गरेको दिन हो। त्यसैले यो ऐतिहासिक दिन हो।’

‘हालसम्म नेपालमा एउटामात्र सरुवा रोग अस्पताल थियो। अब सात वटै प्रदेशमा सरुवारोग अस्पताल हुनेछ।’ रावतले भने, ‘हरेक स्थानीय निकायमा आधारभूत अस्पताल हुने छ। जिल्ला अस्पताल स्तरोन्नति हुने छ। हरेक अस्पतालहरुमा जनशक्ति सहितको व्यवस्थापन गर्ने कुरा यो नेपाली जनताका निम्ति इतिहासकै अत्यन्तै महत्वपूर्ण दिन हो।’

सोमबार प्रधानमन्त्री, मन्त्री, सांसद, स्थानीय तहका प्रमुख, सरकारका पूर्व पदाधिकारीहरुले देशभरका ३ सय ९ वटा स्थानीय तहमा बन्ने आधारभूत अस्पतालको भवन शिलान्यास गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बहुबर्षीय योजना भएकाले अस्पताल सञ्चालन सरकारले आगामी दुई वर्ष भित्र गर्ने राज्यमन्त्री रावतले बताए। उनले भने, ‘हामी सेवा प्रवाहका लागि २ वर्ष कुर्दैै कुर्दैनौं। त्यसका निम्ति अहिले नै आवश्यक जनशक्ति सहित, आवस्यक औषधि मुलो सहित, आवश्यक सामग्री सहित, हाम्रो संवैधानिक व्यवस्थामा भएका आधारभूत स्वास्थ्यका लागि पर्ने चिजविज जे छनु सबैको व्यवस्था गरेर अहिलेदेखि नै सञ्चालन गर्छौं।’

यस्तो छ अस्पतालहरुको विवरण

२०४८ सालमा गाउँ गाउँमा स्वास्थ्य सेवा विस्तार गर्ने योजना अनुसार सबै गाउँ विकास समितिमा उपस्वास्थ्य चौकीको स्थापना गरियो। इलाकामा स्वास्थ्य चौकी र प्रत्येक निर्वाचन क्षेत्रमा प्राथामिक स्वास्थ्य केन्द्रको स्थापना गरिएको थियो। तत्कालिन अवस्थामा ३ हजार ८सय ८ गाउँ विकास समितिहरु थिए। २०५ निर्वाचन क्षेत्र रहेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभरमा जम्मा ६ हजार २ सय १४ सरकारी र २ हजार ३ सय ३ निजी तथा गैह्रसरकारी अस्पतालहरु रहेका छन्।

सरकारी अस्पतालहरुमा प्रदेश १ मा १ हजार ७१, प्रदेश २ मा ९ सय ३७, बाग्मती प्रदेशमा १ हजार १ सय ३९, गण्डकी प्रदेशमा ७ सय ४५, लुम्बिनी प्रदेशमा ९ सय २२, कर्णाली प्रदेशमा ६ सय ८७ र सुदुरपश्चिम प्रदेशमा ७ सय १३ रहेका छन्।

यसैगरी निजी तथा गैह्र सरकारी अस्पतालहरु पनि सबै भन्दा बढी बाग्मती प्रदेशमा १ हजार ४ सय ५० वटा रहेका छन्। मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा १ सय ७६, प्रदेश २ मा २ सय १२, गण्डकी प्रदेशमा १ सय ३२, लुम्बिनी प्रदेशमा १ सय ८९, कर्णाली प्रदेशमा ९० र सुदुरपश्चिम प्रदेशमा ५४ निजी तथा गैह्र सरकारी अस्पतालहरु रहेका छन्।

सरकारले हाल तय गरेका ३ सय ९६ आधारभूत अस्पतालहरुमा प्रदेश १ मा ८६, प्रदेश २ र गण्डकी प्रदेशमा ५३÷५३, बाग्मति प्रदेशमा ५१ कर्णली प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा ५७ र सुदुरपश्चिम प्रदेशमा ५१ आधारभूत अस्पतालहरु रहेका छन्। जसमध्ये देशभर ५ श्ययाका ५२, १० श्ययाका १ सय ९ र १५ श्ययाका ९६ अस्पतालहरु रहेका छन्।

सरकारले सोमबार शिल्यान्यास गरेकासहित स्थानीय तहमा कूल ४ हजार ८ सय ७५ श्यया, ९ सय ७५ चिकित्सकसहित ९७ हजार ६ सय ५२ जनशक्ति रहने स्वास्थ्य राज्यमन्त्री रावतले जानकारी दिए।

५ श्ययाको लागि ८ करोड, १० श्ययाका लागि ११ करोड र १५ श्ययाका लागि १८ करोडका दरले बजेट विनियोजन गरिएको पनि स्वास्थ्य राज्यमन्त्री रावतले जानकारी दिए। उनले सातै प्रदेशमा संचालन गरिने सरुवारोग अस्पतालका लागि ३१ करोडका दरले बजेट विनियोजन भएको समेत जानकारी दिए। अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख स्थानीय तहमा पठाइसकेको छ।

नेपालमा अस्पतालहरुको इतिहास

नेपालमा सत्रौं शतब्दीमा सिंहदरवार वैद्यखानाको स्थापनासँगै आर्युवेद उपचार प्रद्धतिको विकास भएको पाइन्छ। वि.सं. १९४७मा वीर अस्पतालको स्थापना भएसँगै अधुनिक चिकित्सा पद्धतिको संस्थागत विकास सुरु भएको देखिन्छ।

समग्रमा स्वास्थ्य क्षेत्रको योजनाबद्ध विकास भने वि.सं. २०१३ बाट भएको पाइन्छ। विसं. २०३२ मा १५ वर्षे प्रथम दीर्घकालीन स्वास्थ्य योजना लागु भएको र वि.सं. २०५४ मा २० वर्षे दोस्रो दीर्घकालीन स्वास्थ्य योजना लागू भएको थियो।

२०४६ को राजनीतिक परिवर्तन पछि नेपाली जनताको परिवर्तनको अपेक्षा अनुसार आएको राष्ट्रिय स्वास्थ्य नीति २०४८ ले गाउँगाउँसम्म प्राथामिक स्वास्थ्य सेवा विस्तार गर्ने गरी सबै गाउँ विकास समितिहरुमा उपस्वास्थ्य चौकी, इलाकाहरुमा स्वास्थ्य चौकी, प्रत्येक निर्वाचन क्षेत्रहरुमा प्राथामिक स्वास्थ्य केन्द्रको स्थापना गरिएको थियो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो