सात वर्षपछि फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
२४ वैशाख २०८३ २२:५५

ताप्लेजुङ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ७ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। सरकारी कागज किर्ते मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार भएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ स्थायी घर भई हाल फुङलिङ नगरपालिका–२ बसोबास गर्दै आएकी अरुणा कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

उक्त मुद्दामा अदालतबाट उनलाई ११ महिना ३ दिन कैद तथा रु ६६ हजार ६६७ जरिबाना तोकिएको थियो। प्रहरीका अनुसार फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा उनलाई आज फुङलिङ नगरपालिका–५ बिरेन्द्रचोक क्षेत्रबाट लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।

पक्राउ परेकी कार्कीलाई सजाय भुक्तानका लागि जिल्ला अदालत ताप्लेजुङमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिए।

यसैबीच ताप्लेजुङ प्रहरीले लागूऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फुङलिङ नगरपालिका–५ का २२ वर्षीय सलोन भनिने जगत श्रेष्ठ, फक्ताङ्लुङ गाउँपालिका–१ का १९ वर्षीय यमराज लिम्बू र फुङलिङ नगरपालिका–२ का २३ वर्षीय ज्ञानेन्द्र गुरुङ पक्राउ परेका हुन्।

प्रहरी निरीक्षक यादवका अनुसार शिक्षा लाइनस्थित एक घरको कोठामा लागूऔषध बिक्री भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा प्लास्टिकसहित ३२० मिलिग्राम र प्लास्टिक बाहेक १६० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको थियो।

पक्राउ परेका तीन जनामाथि जिल्ला अदालत ताप्लेजुङबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *