सचिवालय बैठक : गम्भीर मोडमा नेकपा

डिसी नेपाल
१६ मंसिर २०७७ ७:५६

काठमाडौं। मंसिर १३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनको अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहले लिखित रुपमा नै जवाफ दिने तयारी गरेका छन्।

आज (मंगलबार) धुम्बाराहीमा बस्ने सचिवालय बैठकमा प्रचण्डसहित उनी पक्षीय सचिवालय सदस्यको सहमतिमा लिखित प्रस्ताव पेश गर्ने तयारी गरेको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ।

प्रचण्डले सोमबार छोरी गंगा दाहालको ढोलाहिटीस्थित घरमा बसेर मंगलबार बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई दिने जवाफ तयार पारेको स्रोतले जनाएको छ। माधव नेपालसहित उनी पक्षीय नेताको सहमतिमा प्रचण्डले लिखित जवाफ तयार पारेका हुन्।

पछिल्लो समय वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन्। नेता नेपालले सबै निर्णय अब पार्टी कमिटीबाट गराउने गरी अगाडि बढ्न प्रचण्डलाई दबाव दिएका छन्। ‘अब सबै निर्णय पार्टी कमिटीबाट गराउनुपर्छ भन्नेमा उहाँ (नेपाल) दृढ हुनुहुन्छ,’ नेपाल निकट स्रोतले भन्यो, ‘पार्टी कमिटीमा पुगेका विषय बहुमत र अल्पमतका आधारमा निर्णय हुनुपर्छ।’

प्रचण्ड–नेपाल समूहले दुवै अध्यक्षले सचिवालयमा प्रस्तुत गरेको प्रतिवेदन पार्टी कमिटीमा छलफलका लागि लैजाने तयारी गरेका छन्। १८ गते बस्ने स्थायी कमिटीमा र २५ गते बस्ने केन्द्रीय कमिटीमा दुवै प्रतिवेदन लैजाने र त्यहाँबाट बहुमत र अल्पमतका आधामार निर्णय गराउने पक्षमा प्रचण्ड–नेपाल समूहको तयारी छ।

तर प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली समूहले भने दुवै प्रतिवेदन सचिवालयमा छलफल गरेर टुंग्याउनुपर्ने र यसअघि भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णयमा फर्किनुपर्ने पक्षमा छ।

त्यसका लागि दुवै समूहले आ–आफ्नो रणनीति बनाएका छन्। आज बस्ने सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले कुन समूहलाई साथ दिन्छन् त्यही समूहले आफू अनुकल निर्णय गराउन सक्ने अवस्था रहन्छ।

नौ सदस्यीय सचिवालयमा जसको पक्षमा पाँच सदस्य हुन्छन् उसैको पक्षमा बहुमत पुग्ने अवस्था रहन्छ। आफ्नो पक्षमा बहुमत पुर्याउन ओली समूहले कसरत गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *