चितवन राष्ट्रिय निकुन्जकाे कोर इलाकामा गैँडा मृत फेला

डिसी नेपाल
१६ मंसिर २०७७ ८:२१

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ। निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा मृतावस्थामा गैँडा फेला परेको हो। सो गैँडा बूढो भएर कालगतिले मरेको आकलन गरिएको छ। उक्त गैँडा निकुञ्जको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमितरूपमा देखिने गरेको र रेखदेखमा नै रहेको अधिकारीले जानकारी दिए। उक्त गैँडाको खाग खुर सुरक्षित रहेको छ।

यससँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले १३ र चोरी शिकारीबाट चार गैँडा मारिएका छन्। निकुञ्जमा गैँडा मर्ने र मारिने क्रम बढेपछि निकुञ्जले समिति बनाएर अध्ययन गरिरहेको छ। यस विषयमा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलेसमेत निकुञ्जको स्थलगत अवलोकन गर्नुका साथै निकुञ्जका कर्मचारी तथा सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *