नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

डिसी नेपाल
१६ मंसिर २०७७ १३:१५

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा मंसिर १३ गते शनिबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन र त्यसअघि कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनका विषयमा छलफल भइरहेको छ।

स्रोतका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले यसअघि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनको लिखित जवाफ पेश गरेका छन्। आफूलाई लक्षित गरी प्रधानमन्त्रीले लगाएको आरोपको जवाफ प्रचण्डले लिखित रुपमा दिएको स्रोतले जनाएको छ।

पछिल्लो समय वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन्। नेता नेपालले सबै निर्णय अब पार्टी कमिटीबाट गराउने गरी अगाडि बढ्न प्रचण्डलाई दबाव दिएका छन्। ‘अब सबै निर्णय पार्टी कमिटीबाट गराउनुपर्छ भन्नेमा उहाँ ९नेपाल० दृढ हुनुहुन्छ,’ नेपाल निकट स्रोतले भन्यो, ‘पार्टी कमिटीमा पुगेका विषय बहुमत र अल्पमतका आधारमा निर्णय हुनुपर्छ।’

प्रचण्ड–नेपाल समूहले दुवै अध्यक्षले सचिवालयमा प्रस्तुत गरेको प्रतिवेदन पार्टी कमिटीमा छलफलका लागि लैजाने तयारी गरेका छन्। १८ गते बस्ने स्थायी कमिटीमा र २५ गते बस्ने केन्द्रीय कमिटीमा दुवै प्रतिवेदन लैजाने र त्यहाँबाट बहुमत र अल्पमतका आधामार निर्णय गराउने पक्षमा प्रचण्ड–नेपाल समूहको तयारी छ।

तर प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली समूहले भने दुवै प्रतिवेदन सचिवालयमा छलफल गरेर टुंग्याउनुपर्ने र यसअघि भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णयमा फर्किनुपर्ने पक्षमा छ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा बादल सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *