कैलाश मानसरोवर दर्शनका लागि अन्य सम्भाव्यता अध्ययन गर्न सुझाव

डिसी नेपाल
१६ मंसिर २०७७ २१:५३

सिमकोट । सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले देशका ५५ विमानस्थलमध्ये सम्भावना भएकालाई प्राथमिकताका साथ अगाडि बढाइने बताएका छन् ।

सिमकोट विमानस्थलको अनुगमनका लागि यहाँ आएका मन्त्री भट्टराईले हुम्लाबाट कैलाश मानसरोवरको दर्शन गर्न अन्य सम्भाव्यता अध्ययन गर्नुपर्ने र हुम्लीको विकासका लागि गुरुयोजना बनाउन आग्रह गरेका छन् ।

मन्त्री भट्टराईले सिमकोट विमानस्थलको अनुगमन गर्नाका साथै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन्।

फरक प्रसंगमा मन्त्री भट्टराईले नेकपा एक ढिक्का हुने बताएका छन् । मन्त्री भट्टराईले भने, “ठूलो पार्टी हो, धेरै नेता भएकाले महत्वकांक्षा हुन्छ, आकांक्षा हुन्छ । पार्टीमा देखिएको अन्तरविरोध व्यवस्थित हुन्छ ।”

देशको भाग्य र भविश्य नेकपासँग जोडिएको हुनाले पनि अर्को ५० वर्षसम्म पार्टी नफुट्ने विश्वास व्यक्त गर्दै उनले बहुमतको सरकार यथावत रहने बताए । उनले मुलुकलाई नेकपाको सरकारले गलतबाटोतिर जान नदिने बताए । मन्त्री भट्टराईले हिजोका दिनमा विदेशी हस्तक्षेप हुने गरेको तर नेकपा सरकारले त्यसलाई रोकेको दाबी गरेका छन्।

उनले प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामा, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, जिल्ला अध्यक्ष लालकेश जैसी, कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीलगायत नेतासँग भेटी हुम्लाको संस्कृति, प्रकृति, मोटरबाटोलगायत विषयमा जानकारी लिएका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *