कोरोना भ्याक्सिन बनाउने कम्पनीले नै झुक्किएर बनाएको थियो यौन उत्तेजक औषधि भियाग्रा

डिसी नेपाल
१८ मंसिर २०७७ १२:३०

काठमाडौं। अमेरिकी फार्मास्युटिकल कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले बनाएको कोरोनाभाइरस भ्याक्सिनलाई बेलायतको नियामक निकायले सुरक्षित भएको घोषणा गर्दै प्रयोगको लागि स्वीकृति दिएको छ । बेलायतमा स्वीकृति पाएसँगै अहिले फाइजर कम्पनी चर्चामा छ । यो कम्पनी २२ वर्ष अघि पनि यसैगरी चर्चामा आएको थियो जतिबेला यो कम्पनीले यौन उत्तेजना बढाउने औषधि भियाग्रा बनाएको थियो । रोचक त के भने भियाग्रा बनाउने कुनै उद्देश्य थिएन । अर्कै औषधि बनाउने प्रयासको क्रममा झुक्किएर भियाग्रा बनेको थियो ।

झुक्किएर बनेको भियाग्रा नपुंसकताको समस्या भएकाहरुको लागि निकै प्रभावकारी देखिएको छ । यो औषधि करोडौंले प्रयोग गरेका छन् । तर, यो औषधिको खोजीको घटना निकै रोचक छ । भियाग्रामा सिल्डेनाफिल नामको तत्व हुन्छ । यो तत्व उच्च रक्तचाप र मुटुरोगका कारण छातीमा हुने दुखाइको उपचारको लागि विकास गएिको थियो । जनावरमा गरिएको परीक्षणमा यो औषधिले मुटुरोग र रक्तचापको उपचारको लागि सकारात्मक असर देखाएको थियो । त्यसपछि फाइजरले रक्तचाप र मुटुसम्बन्धि समस्याको उपचारको लागि यो औषधिको क्लिनिकल ट्रायल १९९० को सुरुवाती समयमा मानिसमा सुरु गर्यो ।

त्यतिबेला जोन ला म्याटिना फाइजर कम्पनीको अनुसन्धान र विकास टिमका प्रमुख थिए । उनका अनुसार एक नर्सले यो ट्रायलमा सहभागी बिरामीहरुको निगरानी गरिरहेकी थिइन् । नर्सका अनुसार बिरामीहरु ट्रायलको क्रममा घोप्टो बरेर सुतिरहेका थिए, असहज महसुस गरिरहेका थिए र लज्जित महसुस गरिरहेका थिए । ती नर्सले यो कुराको जानकारी डाक्टरलाई दिइन् । त्यसपछि डाक्टर र अनुसन्धानकर्ताहरुलाई यो थाहा भयो कि यो औषधि रक्तचाप र मुटुको समस्या भन्दा पनि नपुंसकताको उपचारको लागि प्रभावकारी भइरहेको थियो ।

पछि १९९८ मा अमेरिकाको औषधि नियामक निकाय फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनले यो औषधिलाई नपुंसकताको उपचारको लागि प्रयोग गर्न स्वीकृति दियो । अहिलेसम्म आइपुग्दा यो औषधि विश्वका सबैभन्दा लोकप्रिय औषधिमध्ये एक बनेको छ । ट्रायलको क्रममा बिरामीको निगरानी गरिरहेकी नर्सको सतर्कताका कारण भियाग्राको खोजी हुन सकेको थियो । यद्यपि कुनै एक उद्देश्यका लागि विकास गरिएको औषधि कुनै अर्कै समस्याको समाधानमा प्रभावकारी देखिएको यो पहिलो पटक भने थिएन ।

१९४३ मा डा. एल्बर्ट हाफम्यानले सास फेर्न हुने समस्याको उपचारको लागि औषधिको खोजी गरिरहेका थिए । तर, उनले झुक्किएर एलएसडीको खोजी गरे । उनले यो औषधि थोरै चाखेका थिए । जब उनी र्साकलमा घर जाँदै थिए उनलाई बाटोमा हेलोसिनेसन र आम संसारभन्दा धेरै फरक एक अलौकिक दुनियाँको महसुस भयो । यो औषधिले पछि पश्चिमी देशहरुमा काउन्टर कल्चर मुभमेन्ट, युथ मुभमेन्ट र साइकेडेलिक कल्चरको जग राख्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *