राजविराजमा जेसिज सप्ताह शुरु

डिसी नेपाल
१८ मंसिर २०७७ २३:५१

काठमाडौँ । राजविराज जेसिजले आज एक समारोहका बीच विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँच जनालाई सम्मान गर्दै जेसिज सप्ताह शुभारम्भ गरेको छ ।

‘जेसिज सप्ताह कार्यक्रम २०२०’ को साताव्यापी कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्याउने समाजसेवी हितनारायण लाल दास, एकल महिलाको अधिकारको क्षेत्रमा योगदान पुर्याउने अधिकारकर्मी अनिता देवकोटा, शैक्षिक क्षेत्रमा योगदान पुर्याउने सहप्राध्यापक सुशीलचन्द्र कर्ण, न्यायिक क्षेत्रमा योगदान पुर्याउने अधिवक्ता मीनाकुमारी देव र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने माला कर्णलाई सम्मान गरिएको छ ।

उनीहरुलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर राजविराज जेसिजका अध्यक्ष नानीमैया कटवाल र पूर्वराष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवं ज्येष्ठ नागरिक सङ्घ प्रदेश नं २ का संयोजक शङ्कर शारदाले सम्मान गरेका थिए ।

राजविराज जेसिजका अध्यक्ष कटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसिजको योगदानको चर्चा गर्दै नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जिल्ला बार एकाइका अध्यक्ष डोमन साह, वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराई तथा सम्मानित पाँचै जनाले मन्तव्य व्यक्त गरे ।

अध्यक्ष कटवालले कोरोना महामारीले गर्दा सबै क्षेत्र प्रभावित भएको र जेसिजले स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्ना गतिविधि तथा कोभिडसम्बन्धी चेतनामूलक कार्यक्रम गर्दै आएको बताए ।

राजविराज जेसिजका महासचिव एवं साप्ताहिक कार्यक्रमका मूल संयोजक खेलानन्द दासले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष एवं कार्यक्रम संयोजक विप्लव आनन्दले साताव्यापी कार्यक्रमबारे जानकारी गराए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *