संस्मरण : कांग्रेसले जहाज अपहरण गरे लगत्तै सिंहदरबारमा आगो लाग्दा

सिंहदरवार जल्दाको त्यो भयंकर त्रासदीकोे दृश्य सम्झँदा पनि रौँ ठाडा हुन्छन्। २०३० साल असार २५ गतेको सोमवारको रात र २६ गते मंगलवारको दिन नेपालको इतिहासमा एउटा अनहोनी दुर्घटना हुनगएको थियो।

२५ गते राति अन्दाजी १० बजेको समयमा विद्युत सर्ट हुन गई शुरु भएको  अनुमान गरिएको आगलागीले २६ गते बेलुका सम्ममा ९ चोक र साना ठूला गरी १७०० कोठा भएको एशियाकै भव्य दरवारको अग्रभागको लङबाहेक सम्पूर्ण भाग जलेर खरानी र अँगारको ढेर हुन पुग्यो। तोपगोलाको प्रयोग गरेर दरवारको अग्र भागलाई अलग पारि आगलागी हुनबाट बचाइएको थियो।

राणा प्रधानमन्त्री श्री ३ चन्द्रशम्सेर जबराले ईस्वी सम्बत १९०८ मा सो दरवार निर्माण गराएका थिए। निर्माण शुरु गरिएको एक वर्षमा नै सम्पन्न भएको भनिएको सो दरवारको भव्यता फ्रान्सको भर्साइल दरवारको झल्को आउने गरी निर्माण भएको भनिन्छ।

इन्जिनियर कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले यस दरवारको नक्सांकन गरेका हुन्। सो दरवार निर्माण गर्न चन्द्रशम्सेरले १ रोपन जग्गाको ९० रुपैयाँका दरले ३५० रोपनी जग्गा खरिद गरेका थिए।

निर्माण सम्पन्नपश्चात दरवारको पटाङ्गिनीमा रानीहरुसहित पुगेका चन्द्रशम्सेरले ऊ त्यो बाघ दरवार हो भनी बाघ दरवारलाई देखाउँदा कान्छी माहारानीले त्यो बाघदरवार त यो सिंहदरवार भनिछन्। त्यसैले यसको नाम सिंहदरवार रहन गयो भनिन्छ।

यसै दरवारलाई आफ्नो निजी निवास बनाएर देशको शासन गर्न शुरु गरेको केही समयपश्चात चतुर चन्द्रशम्सेरले रु. २ करोडमा नेपाल सरकारलाई बेची ५० लाखमा बनाएको दरबारबाट १ करोड ५० लाख सरकारी ढिकुटीको धन आफ्नो बनाए र अब उप्रान्त राणा प्रधानमन्त्री यसै दरवारमा रही देशको शासन सञ्चालन गर्ने छन् भन्ने इस्तिहारसमेत जारी गरेर दरवार पनि हड़पे।

सरकार शुभराज्याभिषेकलाई सफलतापूर्वक सम्पन्न गर्न अर्जुन दृष्टिले लागिपरिरहेकै अवस्थामा असार २५, २०३० मा अर्थात प्लेन अपहरण गरी सरकारको ३० लाख भारु लुटिएलगतै भएको सिंहदरवारको आगलागी काण्डले सरकार निकै तनाबमा पर्न गएको थियो।

तत्पश्चात अन्तिम राणा प्रधानमन्त्री श्री ३ मोहनशम्सेर जबरासम्मले यसै दरवारबाट नेपालको शासन चलाएका थिए। प्रजातन्त्र आएपछि २००८ सालमा मोहनशम्सेरले सिंहदरवार छोड्नु परेको थियो।

राणा शासन समाप्तीपश्चात नेपाल सरकारका सबैजसो मन्त्रालयहरु यही भवनमा स्थापित गरिएका थिए। त्यसयता यो दरबारलाई कसैको पनि निवासका लागि भने प्रयोग गरिएन। यो दरवार निर्माण सम्पन्न भएदेखि नै बाहिरबाट काठमाण्डू उपत्याकामा आउने मानिसहरुका लागि थप आकर्षणको केन्द्र भएको थियो।

गाउँघरबाट पशुपतिनाथको दर्शन गरेर फर्कने मानिसहरुले सिंहदरवारको बखान गरेको हामी बच्चा हुँदा नै सुन्दथ्यौँ। २०२२ सालमा अध्ययनका सिलसिलामा काठमाण्डु आएको केही समयपश्चात दाजु मोहन सिटौलासँग सिंहदरवार हेर्न घुम्न जाँदा म दरवार भित्रै हराएँ । घुम्दै जाँदा दुबैजना छुट्टिन पुग्यौँ । जता गए पनि उस्तै ! एक घण्टासम्म पनि हाम्रो भेट हुन सकेन।

म दरवारको कुन ठाउँमा छु भन्ने पनि थाहा छैन। अगाडि कता पछाडि कता पत्तै नहुने ! तलामाथि मुनि चढ्ने ओर्लने सिँढी पनि भेट्न धौधौ पर्यो। कति तलामा छु भन्ने पनि थाहा छैन। म हराएँ भनेर कसैलाई सोध्न पनि लाज अप्ठ्यारो लाग्ने।

एता उता गर्दै गर्दा सिँढी फेला पारेपछि तल ओर्लदैँ गएँ। भुइँतलामा पुगेपछि पनि बाहिर निस्कने ढोका खोज्न केही समय लाग्यो। बाहिर निस्कँदामात्र थाहा पाएँ कि म त दरवारको सबैभन्दा पछाडिको ढोकाबाट पो बाहिर निस्केको रहेछु।

यसरी कुनै दिन घण्टौँसम्म भित्रै हराइने दरवार जलेर भष्म हुँदा टुलुटुलु हेरिरहनु परेको अबस्था अहिले यी हरफहरु लिपिबद्ध गरिरहँदा झलझली याद आइरहेछ।

पढ्न भनेर काठमाण्डू त गइयो तर पढ्न सकिएन। पढ्न नसके पछि गर्ने के त! घरै फर्कने कि त पेट पाल्ने उपाय गरेर जीवन खोज्ने? यसैक्रममा पुलिसमा जागिर खान पो लागियो। २०२३ साल फागुन महिनादेखि जागिरे भएर काठमाण्डूमा डेरा र दालभातको जोहो गरियो।

त्यसबेला पुलिसको असई पदका लागि एसएलसी वा सो सरह र सई पदका लागि आईए वा सो सरहको शैक्षिक प्रमाणपत्र चाहिन्थ्यो र २१ वर्ष पूरा भएको स्वस्थ नेपाली नागरिक हुनु पर्थ्यो अनि प्रतिष्पर्धामा भाग लिएर अब्बल भए नियुक्ति पाइन्थ्यो।

आखिर भयो त्यही नै। कहाँ पढ्न आएको गाउँले ठिटो काठमाण्डूको सडकमा काँधमा दुई फुलीको बिल्ला भिरेर युनिफर्ममा सजिएर हिँड्दाको फूर्ति नै अर्कै।त्यसबेला नेपाल अधिराज्यमा पुलिसको संख्या पुग नपुग पन्ध्र हजारको थियो मैंले जागिर शुरु गर्दा ।

आईजीपी अहिलेजस्तै एकजना र डिआईजी एक जना, १८ जना एसपी २५ जना जति डिएसपी, ५० जना जति इन्स्पेक्टर, १०० जना जति सई, १५० जना जति असई, ३०० जना जति हवल्दार र बाँकी कन्सटेबल र केही सयस र फलोवर्सहरु गरी जम्मा जम्मी पन्ध्र हजार जति।

२०१२ सालको पुलिस ऐन नियमले एसएसपी पद त कायम गरेको थियो तर दरबन्दी भने कायम गरेको थिएन। एआईजीपीको पदको त ब्यवस्था नै गरेको थिएन। बाग्मती अन्चल प्रहरी कार्यालयमा एक जना महिला सईको नेतृत्वमा केही असई, हेड कन्स्टेवल र कन्स्टेवलको ब्यवस्था गरिएको थियो।

सो एकमात्र महिला प्रहरीको इकाइमा प्रहरी नियमावलीमा इन्स्पेक्टरको दरवन्दी नभएको हुँदा दरवारको हुकुम प्रमाङ्गीबाट सई पपितादेवीलाई इन्सपेक्टर पदमा पदोन्नति गरिएको थियो। तर अहिलेको नेपाल पुलिस फोर्सको अबस्था अकल्पनीयरुपबाट बदलिएको छ, जुन समयानुकुल आवश्यक पनि हो।

२०३० सालको समयमा नेपालमा नागरिकको जिउ धनको सुरक्षामा खासै कुनै चुनौती थिएनन्। आन्तरिक सुरक्षाको ब्यवस्था कायम गर्नमा प्रहरी सक्षम नै थियो। निर्दलीय पन्चायती व्यवस्थाअन्तर्गत राज्यको राजनीति र प्रशासन स१चालित थियो।

२०२८ सालमा श्री ५ महेन्द्र सरकारको स्वर्गारोहणपश्चात श्री ५ वीरेन्द्र राजा होइवक्सेको थियो। राजा वीरेन्द्रको निर्दलीय पन्चायती वयवस्थाप्रतिको निजी धारणा प्रष्टरुपमा नेपालीले बुझ्न पाइसकेको अवस्था थिएन।

बाग्मती अन्चल प्रहरी कार्यालयमा एक जना महिला सईको नेतृत्वमा केही असई, हेड कन्स्टेवल र कन्स्टेवलको ब्यवस्था गरिएको थियो। सो एकमात्र महिला प्रहरीको इकाइमा प्रहरी नियमावलीमा इन्स्पेक्टरको दरवन्दी नभएको हुँदा दरवारको हुकुम प्रमाङ्गीबाट सई पपितादेवीलाई इन्सपेक्टर पदमा पदोन्नति गरिएको थियो।

सबै राजनीतिक पार्टीहरु प्रतिबन्धित नै थिए। पोखरीको बाहिरी सतह शान्त देखिए पनि भित्री तहमा अण्डर करेन्ट प्रवाहित भइरहेजस्तै नेपालको राजनीतिको अवस्था थियो। विशेषगरी कलेज र विश्वविद्यालयमा परोक्षरुपबाट विद्यार्थीहरु राजनीतिक पार्टीहरुसँग आबद्ध थिए।

राजालाई प्रभावित पार्न पञ्चायतइतर पक्षका राजनीतिक नेताहरु पनि बिभिन्नरुपबाट भित्रभित्रै सकृय थिए नै। काँग्रेस नेता वीपी कोइरालाले पनि बक्तव्य जारी गर्दै राजालाई प्रतिबन्धित राजनीति पार्टीहरुलाई खुला गर्न अनुरोध पनि गर्ने गरेका थिए।

एकातिर २०३१ सालमा श्री ५ वीरेन्द्र सरकारको शुभराज्याभिषेक गर्ने तयारीमा सरकार लागेको अबस्था थियो भने केही समयदेखि मेची र कोशी अन्चलका झापा, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटा जिल्लाहरुमा उग्रवामपन्थी राजनीतिमा संलग्न मानिसहरु ठाउँ ठाउँमा सामाजिक शान्ति सुरक्षामा खलल पुर्याउन सकृयरुपमा लाग्न थालेका थिए।

सरकार पनि देशको आन्तरिक सुरक्षामा कुनै कमजोरी हुन नदिनमा प्रयत्नरत नै थियो। काठमाण्डू उपत्याकामा सुरक्षाको बिशेष प्रबन्ध गरिएको थियो।

यसै समयमा २०३० साल जेष्ठ २८ गते बिराटनगरबाट काठमाण्डूका लागि उडेको टुइनअटर यात्रु विमानलाई नेपाली कांग्रेसले अपहरण गरी बिराटनगरको राष्ट्रबैँकको शाखाले केन्द्रीय कार्यालय काठमाण्डूमा पठाएको तीसलाख भारतीय रुपैयाँ लुटेर लगेका घटनाले सुरक्षाको स्थितिलाई नाङ्गो पारिदिएको थियो।

यस घटनाबाट सरकारले नेपाली कांग्रेस पार्टीबाट कडा चुनौतीको सामना गर्नुपर्ने संकेत त पाएकै थियो। सरकार शुभराज्याभिषेकलाई सफलतापूर्वक सम्पन्न गर्न अर्जुन दृष्टिले लागिपरिरहेकै अवस्थामा असार २५, २०३० मा अर्थात प्लेन अपहरण गरी सरकारको ३० लाख भारु लुटिएलगतै भएको सिंहदरवारको आगलागी काण्डले सरकार निकै तनाबमा पर्न गएको थियो।

यसै सन्दर्भमा सिंहदरवारको आगलागी पनि राजनीति प्रतिशोधको कारणबाटै घटाइएको त होइन भन्नेतर्फ पनि नसोचिएको भने थिएन तर त्यसलाई पुष्टि गर्न सक्ने कुनै प्रमाण फेला पार्न नसकिएको हुँदा आगलागीको कारण विद्युत सर्टबाट हुन गएको भनी चित्त बुझाउने काम गरियो।

कारण जे पनि हुन सक्छ तर के त्यो आगलागी नहुनबाट जोगाउन नसक्नु चैँ कसको कमजोरी हो त? भन्ने सम्बन्धमा धेरैले भन्ने गरेको सुनिन्थ्यो कि गुप्तचरले के हेर्यो? किन थाहा पाएन? आर्मीको सुरक्षा घेराभित्र रहेको सिंहदरवारमा भएको आगलगीको जिम्मा पनि गुप्तचर विभागले लिनु पर्ने ? यस्तो बिडम्बना हो आइलागेको थियो तत्कालीन गुप्तचर विभागलाई ।

आगलागीपश्चात बिभिन्न कोणबाट आआफ्नो तरिकाबाट बिचारहरु अभिव्यक्त भएको पाइयो। कारण जे पनि हुन सक्छ तर के त्यो आगलागी नहुनबाट जोगाउन नसक्नु चैँ कसको कमजोरी हो त? भन्ने सम्बन्धमा धेरैले भन्ने गरेको सुनिन्थ्यो कि गुप्तचरले के हेर्यो? किन थाहा पाएन? आर्मीको सुरक्षा घेराभित्र रहेको सिंहदरवारमा भएको आगलगीको जिम्मा पनि गुप्तचर विभागले लिनु पर्ने ? यस्तो बिडम्बना हो आइलागेको थियो तत्कालीन गुप्तचर विभागलाई ।

यो समयमा अमेरिकाका राष्ट्रपति केनेडीले गुप्तचरका बारेमा भनेको यो भनाइ उल्लेख गर्न सान्दर्भिक ठान्दछु। उनले भनेका थिए, ‘तिम्रा सय सफलता कसैले थाहा पाउँदैनन् तर तिम्रो एउटा असफलताले तिमी आलोचित हुनु पर्दछ।’ गुप्तचरले आफ्नोमात्र होइन अरुको कमजÞोरीको र असफलताको भारी पनि बोक्नु पर्दो रहेछ जुन त्यसबेला गुप्तचर विभागले पनि बोक्नु पर्यो।

आगलागीपश्चात राजा रानीबाट हिजोसम्म जल्दो बल्दो गौरवको रुपमा रहेको नेपालको सान गौरव सिंहदरवारको अवशेषको निरीक्षण गरिबक्सेर दुःख प्रकट गरिबक्स्यो।

आगलागीको कारण जे सुकै भएपनि नैतिकताको कारणबाट प्रधानमन्त्री कीर्तिनिधि बिष्टले श्री ५ को इच्छाबिपरित श्री ५ मा राजीनामा चढाएका थिए। त्यसपछि श्री ५ बाट नगेन्द्रप्रसाद रिजाललाई प्रधानमन्त्री नियुक्त गरिबक्सेको थियो।

सिंहदरवारको आगलागीबाट उक्सन श्री ५ को सरकारलाई त्यति सहज चैँ नभएको त्यतिबेला त्यहीँ ड्युटीमा खटिएको एक फौजीको हैसियतमा मेरो अनुमान छ। सिंहदरवार आगलागी भइरहँदा आगो निभाउन प्रयास गर्ने थुप्रै मानिसहरुको हुलमा यो पंक्तिकार पनि भएको हुँदा सो समयमा आगोले धारण गरेको उग्ररुपलाई सम्झँदा लाग्छ आगोले आफैलाई जलाउनु परे पनि कुनै हिचकिचाहट गर्दैन होला।

२०३० सालमा सिंहदरवारलाई आगोले जलाएर भष्म पारे जसरी नै २०७७ सालमा राजनीतिक गुटबन्दीको रापले सिंहदरवारलाई जलाइरहेछ र यो तापमा जलिरहेको सिंहदरवार गाउँ गाउँमा पुगेको अबस्थामा गाउँहरु पनि अवश्यै जल्ने छन्। अस्तु ः

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो