धेरै सम्भावनाका बीचमा छ ‘रुवीभ्याली’ : मन्त्री दुलाल
वाग्मती । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले मानव विकासको सूचकाङ्कमा प्रदेशमै सबैभन्दा पछाडि परेको धादिङको रुवीभ्याली गाउँपालिकाको स्थलगत अवलोकन तथा भ्रमण गरेका छन् ।
उनले प्रदेश सरकारले शुरु गरेको एकीकृत विकास कार्यक्रमलाई अझ बढी फलदायी बनाउन ती गाउँपालिकाको स्थलगत अवलोकन गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा मन्त्री दुलालले नामले निकै आकर्षक लाग्ने रुवीभ्याली आधुनिक समाजका सबै सेवा सुविधाबाट बञ्चित रहेको बताए। “यातायात छैन, उपचारका लागि चिकित्सकीय सेवा छैन, १० कक्षाभन्दा माथि पढ्ने शैक्षिक संस्था छैन, सिँचाइको सुविधा छैन”, उनले भने, “धेरै सम्भावनाहरुका बीचमा छैनले घेरिएको छ रुवीभ्याली ।”
वाग्मती प्रदेशका ११९ स्थानीय तहमध्ये अति दुर्गम, सडक सुविधाविहीन र मानव विकास सूचकाङ्कमा पछाडि परेको स्थानीय तह हो, रुवीभ्याली । गणेश हिमालको काखमा अवस्थित यो क्षेत्र बहुमूल्य पत्थर रूवी, क्वार्टज, दुर्लभ कस्तुरी, रेडपाण्डा, प्राकृतिक तातोपानी, कालो कुण्ड, सेतो कुण्डलगायत प्राकृतिक सम्पदा रहेको पर्यटनको अपार सम्भावना बोकेको पूर्णजैविक कृषि व्यवस्था रहेको गाउँपालिका हो ।
तामाङ, गुरुङ, घले र थोरै सङ्ख्यामा विश्वकर्मा समुदायको बसोबास रहेको यो गाउँपालिकामा प्रदेश सरकारले एकीकृत विकास कार्यक्रम अघि बढाएको छ । “हामी चाँडै नै प्रतिवेदन तयार पारी सम्बन्धित ठाउँमा बुझाउँछौँ”, मन्त्री दुलालले भने । रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment