‘सिन्धुलीगढी युद्ध संग्रहालय’को आन्तरिक सजावट सम्बन्धी गोष्ठी सम्पन्न

डिसी नेपाल
२१ मंसिर २०७७ १६:५८

काठमाडौँ । निर्माणाधिन ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ को आन्तरिक सजावट प्रारुप तयारी सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

इतिहास तथा संस्कृति सम्बर्द्धन गर्ने नेपाल सरकारको घोषित नीति तथा कार्यक्रम एवं ‘प्रधानसेनापतिको कमाण्ड मार्ग निर्देशन २०७५’ मा उल्लेखित नेपाल तथा नेपाली सेनाको इतिहास प्रबर्द्धन गर्ने क्रममा नेपाली सेनाको पहलतामा उक्त गोष्ठी भएको हो ।

शनिबार बागमती प्रदेश सांसद विनोद खड्काको प्रमुख आतिथ्यतामा उक्त गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा सिन्धुलीगढी युद्ध संग्रहालयका लागि आवश्यक सामग्री संकलन, प्रदर्शनी हलको डिजाइन, अन्यत्रबाट सामग्री संकलन तथा प्राप्ती र संग्रहालयको संचालन तथा व्यवस्थापनको विषयहरुमा छलफल भएको थियो ।

उक्त अवसरमा संग्रहालयमा हालसम्म भएका प्रगति विवरणका सम्बन्धमा बर्द बहादुर गणका गणपतिद्वारा प्रस्तुतिकरण भएको थियो । सो क्रममा नं. ९ वाहिनी अड्डाका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहले नेपाली इतिहासमा सिन्धुलीगढीको लडाइँमा अंग्रेज बिरुद्धको जीतले नेपाल र नेपालीको अस्तित्व जोगाउन महत्वपूर्ण भूमिका खेलेको ऐतिहासिक सिन्धुलीगढी क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गरि संरक्षण तथा प्रबर्द्धन गरिनु पर्ने कुरामा जोड दिएका थिए ।

सो गोष्ठीलाई सम्बोधन गर्दै प्रदेश सांसद विनोद खड्काले सम्बन्धित विशेषज्ञहरुको राय सुझावलाई आत्मसाथ गरी प्राप्त हातहतियारहरु तथा अन्य दस्तावेजको सजावट, व्यवस्थापन तथा संचालन गर्न र ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ लाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा स्थापित गराउन सकेमा सिन्धुलीगढीको महिमा अझ बढ्न सक्ने विश्वास व्यक्त गर्दै नेपाली सेनाको सराहना गरेका थिए ।

उक्त कार्यशाला गोष्ठीमा कमलामाई नगरपालिकाका नगर उपप्रमुख, कमलामाई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत, राष्ट्रिय संग्रहालय प्रमुख, संरक्षणविदहरु, आर्किटेक्ट ईन्जिनियरहरु, आन्तरीक सजावटका विज्ञहरु, पूर्व पाटन संग्राहलय प्रमुख, नेपाली सेनाका अधिकृतहरु, सञ्चारकर्मीहरु तथा अन्य सरोकारवाला पक्षहरुको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *