वाग्मती प्रदेश सरकारद्वारा उपचार सेवाको स्तरोन्नति

डिसी नेपाल
२१ मंसिर २०७७ २३:४१

वाग्मती । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका १३ जिल्लामध्ये आठ जिल्लाको अस्पताललाई स्तरोन्नति र उपचार सेवालाई थप प्रभावकारी तुल्याई सञ्चालनमा ल्याएको जनाएको छ । हेटौँडा, भक्तपुर, सिन्धुली, नुवाकोट, धादिङ, चौतारा, रसुवा र धुलिखेल अस्पतालबाट कोभिड–१९ को उपचारको साथै अन्य विभिन्न प्रकारका रोगबाट प्रभावित बिरामीलाई पनि प्रभावकारी उपचार सेवा दिन सकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तम सेढाँईका अनुसार हेटौँडा, सिन्धुली, नुवाकोट, भक्तपुर र धादिङ अस्पतालमा अहिले कोभिडको परीक्षण र उपचारको लागि पिसिआर मेसिन जडान गरी सञ्चालनमा ल्याइसकिएको छ । ती अस्पतालमा कोभिडको बिरामीका लागि तत्काल उपचार गर्ने क्रममा आइसियु र भेन्टिलेटर सुविधा उपलब्ध गराइसकिएको पनि प्रवक्ता डा सेढाँईले बताए ।

प्रदेश सरकारले कोभिड–१९ सङ्क्रमणका बिरामीलाई तत्काल आइसियु, भेन्टिलेटरको सेवाको अतिरिक्त कोभिड अस्पताल र आइसोलेशनमा श्ययाको व्यवस्था र दक्ष जनशक्ति उपलब्ध गराँदा रु ५० करोड रकम खर्च भएकोे पनि उनले जानकारी दिए । प्रदेश सरकारले १३ जिल्लाको अस्पताललाई क्रमशः स्तरोन्नति गरी गम्भीर प्रकारको मुटु, मिर्गौला प्रत्यारोपण र अन्य रोगको उपचारको लागि अस्पतालको विस्तार गर्न आगामी आर्थिक वर्षभित्र करिब रु दुई अर्ब बजेट लगानी गर्नेतर्फ सङ्घीय सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सामाजिक विकास मन्त्रालयबीच समन्वय र आवश्यक गृहकार्य गर्दै रहेको पनि उनले बताए ।

प्रदेशअन्तर्गत रहेका १३ वटै जिल्लाका प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्ला अस्पतालको साथै आइसोलेशन कक्षले बिरामीलाई तत्काल उपचार सेवा पुर्याए नपुर्याएको अनुगमन गरी स्वास्थ्य उपचार कार्यलाई गुणस्तरियता प्रदान गर्न मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत लिखित निर्देशन पठाएको प्रवक्ता सेढाँईले बताए । प्रदेश सरकारले काठमाडौँको टोखा, ललितपुरको बज्रबाराही, काभ्रे र चितवनमा उच्चस्तरको सेवा प्रदान गर्ने नयाँ अस्पताल स्थापनाको लागि सर्भे भइरहेको मन्त्रालयले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *