हिंसापीडितको साहसका लागि सम्मान र सहयोग

डिसी नेपाल
२३ मंसिर २०७७ ७:५९

सप्तरी । हिंसापीडितहरूको साहस र हिम्मतको सम्मानमा सोमबार राजविराजमा दुई पीडित महिलालाई सम्मान गरिएको छ। असहज परिस्थितिको सामना गर्दै न्यायका लागि देखाएको आँट, साहस र हिम्मतका लागि डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी रधियादेवी मण्डल र राजविराज नगरपालिका–२ की विजयादेवी यादवलाई सम्मान गरिएको हो। उनीहरूलाई जनही रु पाँच हजार प्रदान गरिएको छ।

मुस्किल परिस्थितिमा पनि डटेर सामना गर्दै आफ्नै न्यायका लागि लगातार सङ्घर्ष गरिरहेकी यादव र मृत्युवरण गर्न बाध्य बनाइएकी सङ्गीता मण्डलका आरोपितलाई कारवाही गर्न देखाएको साहसका लागि उनकी आमा रधियादेवीलाई उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ। हिंसापीडितलाई हौसला प्रदान गर्ने कार्यक्रमबमोजिम दहेजमुक्त मिथिला नेपालका अध्यक्ष करुणा झाले मण्डल र यादवलाई सम्मान गरे।

आँट, भरोसा र आशा दिनेभन्दा धम्क्याउने बढी भएकाले एक्लो अनुभव गरिरहेका बेला प्राप्त सहयोग र सम्मानले हौसला बढेको उनीहरूले बताए। इन्सेक, दहेजमुक्त मिथिला, मैथिली साहित्य परिषद्, राजविराज जेसीज, नगर बाल सञ्जाललगायतको मूल समारोह समितिको आयोजनामा राजविराजस्थित शहीद दशनचोकमा आयोजित कार्यक्रममा मण्डल र यादव सम्मानित भएका हुन्।

गत भदौ २९ गते सामूहिक बलात्कारबाट पीडित १७ वर्षीया सङ्गीता मण्डलको अस्मिताको मूल्य तोक्दै पञ्चहरूले आरोपितलाई कारवाही गर्न रोकेपछि भदौ ३० गते आत्महत्या गरेकी थिइन्। मृतक सङ्गीताकी आमा रधियादेवीले न्याय दिलाउनुको साटो अस्मिताको मूल्य पञ्चहरूले तोकेर अपमान गरेकाले नै उनले पासो लगाएर मृत्यु रोजेको दुखेसो गरिन्।

यसैगरी वर्षौँदेखि घरेलु हिंसाबाट प्रताडित विजयादेवी यादवले न्याय पाउने आशामा सङ्घर्षबाट नथाकेको बताइन्। उनका पति सशस्त्र प्रहरी निरीक्षक रामचरण यादवले परित्याग गरी छोराछोरीलाई समेत भेटघाट गर्न नदिएको गुनासो गर्दै यादवले विभिन्न सरकारी निकायमा पटक–पटक उजुरी दिएर धाए पनि न्याय नपाएको बताए। अब आइन्दा कुटपिट नगर्ने भनी जिल्ला प्रहरी कार्यालय सप्तरीमा लिखित सहमति गरे पनि शारीरिक र मानसिक यातना भोग्दै आएको बताउनुभएकी यादवले आम्दानीको स्रोत नभएको र सहमतिबमोजिम पठाउनुपर्ने रकम लकडाउनको मौका छोपी आठ महिनादेखि श्रीमान्ले नपठाएको बताइन्।

कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले संसार कोरोनासँग लडिरहे पनि गाउँ समाजसँग निरन्तर सङ्घर्ष बताइन् पीडितहरूको खोजी गरी हौसला प्रदानका साथै जीविकोपार्जनका लागि व्यवस्था गर्न लागिएको बताए।

कार्यक्रममा सहप्राध्यापक अशोककुमार झा, मैथिली महिला परिषद्का पूर्वअध्यक्ष सुमित्रा दास, राजविराज जेसीजका अध्यक्ष पुनम पोखरेल, नगर बाल सञ्जालका अध्यक्ष अनिषा ठाकुरले पीडितहरूलाई हिंसाका विरुद्ध आवाज उठाउन र एक्लो महसुस नगर्न आग्रह गरे। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *