चिन्तन : स्वार्थमा निर्लिप्त मानिस र प्रेम तत्व

कुनै पनि घटना सानो अथवा ठूलो। त्यसले निरन्तरताको प्रक्रियामा असर पुर्याउँदछ र व्यवहारिक तुलनामा विचलन ल्याउँछ। घटना भनेको नियमित प्राकृतिकरुपमा सञ्चालन भइरहेको प्रक्रियामा कुनै बाहिर अथवा अनियमित भवितव्यले हस्तक्षेप गरी, सन्तुलन बिगारी, अनपेक्षित परिणाम भोग्नु पर्ने बाध्यता हो।

घटना कुनै पनि रूपमा कुनै पनि समयमा हुनसक्छ र सामान्यतया मानवको सामान्य सोचाइभन्दा बाहिरको परिस्थितिले सिर्जना गरेको हुनसक्छ। मानिस अत्यन्त नै संवेदनशील प्राणी भएको हुँदा मानिसको मन अथवा बुद्धिमा अचानक परिवर्तन आयो भने पनि अप्रत्यासित वातावरण सिर्जना हुनसक्छ।

आजको विश्व अत्यन्त द्रुतगतिमा अघि बढिरहेको छ। मानव मानवबीच प्रत्यक्ष र अप्रत्यक्ष किसिमले चरम प्रतिष्पर्धा छ। समाज समाज, क्षेत्र क्षेत्र र राष्ट्र राष्ट्रबीच पनि प्रतिपर्धाको होड नै चलेको छ। विकासको होडले व्यक्तिगत स्वतन्त्रता हनन् गरेको छ र मानिसको वास्तविकताभन्दा पनि बाहिरी आवरणद्वारा आफू नै सर्वश्रेष्ठ हुँ भनेर देखाउनु पर्ने विचित्रको स्वभाव सिर्जना भएको छ।

व्यक्तिवादी चरित्रको चरम प्रभावले गर्दा समाज र परिवारको महत्व दिनानुदिन घटिराखेको छ। बन्धनमुक्त जिम्मेवारीमुक्त रहेर बाँच्ने मनसुवा विकसित भएर मानिसहरूको शरीर नै उपभोग्य सामग्रीमा परिवर्तन भइरहेको छ। जसले गर्दा उपभोग अथवा प्रयोगपछि सामग्रीको उपयोग समाप्त भएजस्तै नाता सम्बन्ध प्रेम, अपनत्व र विश्वासमा संकट पदै भएर मानिसहरू एकलिँदै छन्।

व्यक्तिवादी चरित्र बलवती र हावी भएको हुँदा मानिस स्वतन्त्र भएसितै नितान्त एक्लो पनि हुँदैछ। एक्लो हुनु मानिसको स्वभाव त प्राकृतिक गुण भने होइन। यस अवस्थामा मानिस आफैमा एउटा मानसिक द्वन्दमा फसेको छ। द्वन्दको अवस्था चित्त स्थिर हुँदैन र अस्थिर चित्तले प्रकृति प्रदत गुणलाई न्यूनीकरण गरी विवेकहीन बनाउनु अस्वाभाविक परिस्थिति हो।

यो अस्वभाविक परिस्थितिले वास्तवमा मानिसलाई मानिस होइन। एउटा विद्युतीय स्वचालित संयन्त्रजस्तै बनाएको छ। ऊ निरन्तर जोतिइरहेको छ, जोतिएअनुसार अर्थ आर्जन पनि गरेको छ। भौतिकी हिसाबले ऊसित सबै प्रकारका सुविधा सम्पन्नता छन्। तर त्यो सम्पन्नतालाई साझा गर्न ऊसित भावना छैन।

आधुनिकतामा नाममा यो उसको स्वयमको रोजाइ भएको हुँदा यो भावनाको हीनताको स्थिति साझा गर्ने ऊसँग कोही छैन । किनकि एकाङ्कीमा स्वः व्यवहारले जेलिसकेको छ। प्रतिद्वन्द्विताबाहेक उसले केही पनि देख्दैन। मानिस शान्तिबाट बिमुख भइसकेको छ । सफलता भनेको मात्रै द्रव्यसंग तुलना हुन्छ ।

प्रेम र विश्वबन्धुत्व बुझेकाहरूले प्रथमतः स्वयं आफूलाई नै प्रेममय बनाउनु पर्दछ। अहंकार शून्य, घमण्ड रहित, क्रोध समन र क्षमाशीलताको विकास नभएसम्म आफूलाई जस्तैः प्रेम अर्कोलाई गर्न सकिन्न।

मानिस सफल हुने होडमा लागेको लागेको छ। त्यो होडैहोडको बीचमा पहिचान बनाउन सजिलो छैन। गंगटो प्रविधि ऊसित पनि छ, समूहमा पनि छ। प्रतिस्पर्धामा मत्स्यनाथ पनि छ उत्तिकै बलशाली छ। सरिसृप (एकले अर्कालाई आहारा बनाउने ) प्रवृत्ति पनि छ्याप्छ्याप्ती छन्।

यस विकृत परिस्थितिमा मानिसको मानसिकता खलबलिनु अस्वाभाविक होइन र खलबलिएको मानसिकता बोकेर तृष्णा, अहम्, अहंकारग्रस्त आफ्नो मुढताले मानिसलाई कता पुर्याउँछ? न व्यक्तिलाई थाहा छ, न समाज र समूहलाई ज्ञात हुनसक्छ। व्यक्तिको पनि दौडाहाले रनभुल्लतामा छ। समाज पनि विखण्डनले गर्दा निष्क्रिय छ। एकप्रकारको नैरास्यताबाट आजको होडबाजी ग्रस्त समाज आक्रान्त छ।

प्रकृतिले दिएको स्वतःस्फूर्त समूहगत प्रविधिबाट मानिस जति जति व्यक्तिवादी स्वार्थ परायणतातर्फ बढ्दछ त्यति त्यति नै अशान्ति, कलह, बैमनस्यताको वृद्धि हुन्छ। स्वार्थपरायणता मानिसको सनातन प्रविधि होइन। जब प्रवृत्तिगत आधारको अवमूल्यांकन हुन्छ, सामाजिक सहअस्तित्वमाथि कुठाराघात हुन्छ अर्थात् उल्टो परिस्थिति सिर्जना हुनजान्छ।

आफ्नो सीमा र क्षेत्र नाध्नेको पतन निश्चित छ। आफ्नो प्रकृतिदत्त स्वभावमा परिवर्तन हुनुले निश्चितरूपमा कष्ट भोग्न बाध्य हुनुपर्दछ। आजको मानव पनि त्यही समस्या उन्मुख भइरहेको छ। मानवले विकासका क्रममा कयौं घटना–दुर्घटना, आपत–विपत, अनेकन प्राकृतिक र अप्राकृतिक विपदा सहेर एउटा मानव सभ्यता विकास गरेको हो।

यस सभ्यताको विकास विभिन्न कालखण्डमा भिन्नभिन्न भौगोलिक स्थानमा भए पनि यसको अर्थात् सबैको मुख्य उद्देश्यचाहिँ मानवलाई आफ्नो मुलरुप अर्थात समूहगत हिसाबमा रहने, एक अर्कालाई सहयोग गर्ने।

निश्चितरुपमा तोकिएको समाजका मूल्य र मान्यता पालन गर्ने र गर्न सहयोग गर्ने, अनि आफू पनि शान्तिसित बाँच्ने र अरुलाई पनि शान्तिसँग बाँच्न दिने प्रेरणा प्रदान गर्ने हो।

संसारका कुनै पनि दर्शनले मानिसलाई स्वार्थपरक जीवन यापन गर्न प्रोत्साहन गरेका छैनन्। पौराणिक कालदेखि आजसम्मका सबै विज्ञानले पनि सबै ज्ञानहरू समूहगत फाइदाका लागि नै विकास गरेका छन्।

अमुक ज्ञानचाहिँ अमुक वर्गको लागि अथवा अमुक औषधिचाहि“ अमुक छालाका लागि भनेर अन्वेषण भएको छैन। सबै शास्त्रहरूको सार भनेको सर्वजन हिताय र सर्वजन सुखाय अर्थात् सबैको हित र सबैको सुखका निम्ति हरेक नागरिक सक्रिय रहनु पर्छ भन्ने नै हो।

यसका मूल सिद्धान्तको प्रतिपादन गर्ने हजारौं विज्ञहरूले शताब्दियौं लगाएका छन्। पुस्ता पुस्तामा जिवित रहोस् भनेर नै शिक्षालयहरूको विकास गरिएको हो। यस्तो विश्वमा भएको अत्युत्तम ज्ञान, सिद्धान्त र व्यवहारलाई आधुनिकताका नाममा केही सीमित पश्चिमेली बुर्जुवा चरित्रका स्वनाम, स्वार्थ परायणका कारण सनै सनै वैयक्तिक स्वतन्त्रताका नाममा बन्धनकारी मानेर “मै खाऊ“ मै लाऊँ, सुख सयल वा मोज मै गराैं+” लाई मूलमन्त्र मानी–“चिताको खित्का” लाई भने बिर्साउने प्रयत्न भइरहेछ।

आजको विश्व एउटा अत्यन्त संवेदनशील अवस्थामा छ। विज्ञानको बरदानले हामी विश्वका सबै मानिस कुनै न कुनैरुपमा जोडिएका छौं। जोडिएको अनुभूति प्रायः सबै सचेत मानिसमा विद्यमान छ।

हाल विश्वमा फैलिएको कोभिड–१९ नामक महामारीले यसको एउटा अत्यन्तै दुर्भाग्यपूर्ण तर सत्यको स्थापित गराएको छ। मानिस मानिस सबै एक हौं र आपसमा आफ्ना हौऔ भन्ने भावना यस्तो बितण्डात्मक अवस्थामा पनि हामीमा आएन भने–हामी मानिसको समवेदना, भाबना, प्रेम र सदासयता भन्ने कुरो समाप्त भएको मान्नुपर्ने हुनसक्छ।

जगजाहेर छ, केही घण्टामा नै पृथ्वीको एउटा कुनाबाट अर्को कुनामा पुग्न सक्ने मानिस विभिन्न ग्रहमा मानव वस्ती नै बसाउने प्रयत्नरत वैज्ञानिक समाज, अन्तरिक्षबाट पृथ्वी सञ्चालन गर्ने संयन्त्र सिर्जना गर्ने विज्ञ, एउटा सामान्यरुपमा विकसित भएको महामारीको समन गर्न झण्डै आधा वर्ष बितिसक्दासम्म पनि सक्षम भएको छैन।

र अझै पनि अन्योलको वातावरण विश्वव्यापीरुपमा छदैछ। आजको विश्वले हेर्दा हेर्दै लाखौं स्ववन्धुहरू गुमाइरहेको छ। अनि गुमाउने क्रम जारी छ । संसारमा भएका हामी मानिसको विडम्बना र बाध्यता छ कि हामी ए, आज त मृत्यु हुनेको संख्या हिजोभन्दा घटेछ भनेर चित्त बुझाउन बाध्य छौं। हामीमध्येबाट एकजना पनि यस्तो महामारीबाट ज्यान गुमाउनु भनेको विकासको घमण्डमा डुबेको विश्वलाई दरिलो झापड हो।

के वैयक्तिक विकास भनी विश्वमा नयाँ आयाम थप्यौं भनी संसारका स्वामी हामी नै हौं भन्नेहरू यस महामारीबाट जोगिन सकेका छन्? वास्तवमा जत्रो बाँध त्यत्त्रै कोरलोको परिस्थिति देखापरेको छ । अर्थात् जो सबैभन्दा सुसज्जित थिए र छन् तिनको नै सबैभन्दा बढी अपरिपक्वता देखापरेको छ।

मानिस शान्तिबाट बिमुख भइसकेको छ । सफलता भनेको मात्रै द्रव्यसँग तुलना हुन्छ । मानिस सफल हुने होडमा लागेको लागेको छ। त्यो होडैहोडको बीचमा पहिचान बनाउन सजिलो छैन। गंगटो प्रविधि ऊसित पनि छ, समूहमा पनि छ। प्रतिस्पर्धामा मत्स्यनाथ पनि छ उत्तिकै बलशाली छ।

हुन त यो हुन्डरीयुक्त परिस्थितिले सबैलाई उस्तै गरी चपेटेको छ, कसैलाई चोखो छाडेको छैन तर संसारलाई दिग्विजय गर्नेले त यस्ता संकटलाई सजिलै जित्नुपर्ने थियो। वास्तविक सत्य भनेको न कसैले कसैलाई जान्न सक्छ न कसैले कसैमाथि दिग्विजय नै प्राप्त गर्न सक्छ। विजय प्राप्तिको एकमात्र फगत एकमात्र उपाय भनेको प्रेमको विस्तार हो। सद्भावनाको विस्तार हो। विश्व बन्धुत्वको विस्तार हो– सहना भवन्तु, सहना भूनतु … सह जीवन हो र सहजीवनको विस्तार हो।

गौण रुपमा हेर्ने हो भने यो संसारको मूल स्वरुप नै विना स्वार्थको प्रेम हो। विना स्वार्थ दान हो र समर्पण हो। जुन कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ वास्तवमा यसको मूल्य नै हुँदैन। मूल्यमा आंकन गर्न सकिँदैन त्यो यस्तो ऋण हो जसको भुक्तान नै सम्भव हुँदैन। प्रकृतिप्रदत्त हावापानी, घरा, अनि धरणीको ऋण मोचन असम्भव छ। प्रकृतदत्त वरदानबाट जीवन प्राप्त गरेको मानिस कसरी एंकाकी बन्न सम्भव छ र?

सामान्यरुपमा नै हेर्दा पनि हाम्रो रगत रातो छ। सबैको रगत रातो नै छ। कालको पनि रातो छ, गोराको पनि रातो छ। सबै शरीर पानी र अन्नादी वस्तुहरूमै आधारित छ। सबैका इच्छा पनि उस्तै छन्। अनुभव र अनुभुतिका प्रक्रिया पनि उत्तिकै छन् । उमेरअनुसारको विकास पनि उस्तै छ र अन्त्य पनि उस्तै छ।

यो पहिचान समान प्रकृतिदत्त वरदानको सिधा मतलब भनेको एक र अनेकको कदर, मूल्याङ्कन र एक अर्कामा समताको वृद्धि गरी जीवनलाई प्रकृतिको अनुकरणीय अर्थात् स्वार्थरहित बनाउनु हो। तर आजको विश्वका हामी मानिसहरूमा उल्टो धारको प्रभाव बगेको छ। विकासको उन्माद चढेको र बढेको छ। अन्तहीन लिप्सा लोभ र कहिले तृप्त नहुने तृष्णा।

हामी अन्तरमनले कसैलाई विश्वास गर्दैनौ। यथार्थतामा कसैलाई सुन्दैनौं र कसैलाई मान्दैनौं। हरेकमा आफूनै जगतको ज्ञाता मनपर्ने मष्तिस्क बुझ्ने सर्वज्ञाताको भावनाले जरा गाडेको छ। ममत्याइ चरमोत्कर्ष भनेको विखण्डनको अवस्था हो र सामाजिक, पारिवारिक मात्र होइन। वैयक्तिक हिसाबमा नै मानिसको मन नै विखण्डन हुन पुगेको छ।

अर्थात् एक व्यक्तिले अर्को व्यक्तिलाई अविश्वास गर्ने मात्र होइन कि, ऊ स्वयं आफूलाई नै विश्वास गर्दैन। यो स्वयमको अविश्वासले गर्दा व्यक्ति कुण्ठित छ, दुःखी छ र त्रस्त पनि छ। त्यो त्रस्त परिस्थितिको प्रक्षायाले अर्को पनि त्रस्त छ । जसले जे छ, त्यसले त्यति दिने हो भन्ने मौलिक र सत्य सिद्धान्त यहाँनेर लागू भएको छ। जो स्वयं त्रस्त छ, अशान्त छ, दुखी छ त्यसले दिने पनि त्यही नै हो।

बन्धनमुक्त जिम्मेवारीमुक्त रहेर बाँच्ने मनसुवा विकसित भएर मानिसहरूको शरीर नै उपभोग्य सामग्रीमा परिवर्तन भइरहेको छ। जसले गर्दा उपभोग अथवा प्रयोगपछि सामग्रीको उपयोग समाप्त भएजस्तै नाता सम्बन्ध प्रेम, अपनत्व र विश्वासमा संकट पदै भएर मानिसहरू एकलिँदै छन्।

यस अर्थमा यो त्रस्त मानसिक अवस्थाको जिम्मेवार एउटा व्यक्तिमात्र होइन। प्रायः संसारमा नै व्याप्त भएको छ। यो एक प्रकारको महाव्याधी नै हो। एकबाट अर्कोमा सर्छ। आजका विश्व घटनाक्रमहरूको चक्र यही सरुवा प्रविधिको परिणाम हो। संसार वैयक्तिक अर्थात स्वार्थ परायणताको विकास पाश्चात्य समाजमा चरमसुखको चाहनाबाट सिर्जना भएको भए पनि यो महारोग (हालको कोभिड–१९ जस्तै) संसारभरि धेरै थोरै जेजस्तो रुपमा भएपनि पुगिसकेको छ ।

सबैभन्दा विस्मयकारी अवस्था भनेको चाहिँ यो महामारीले मानवता पक्षलाई नै आक्रमण गरेर वन्धुत्व पक्षलाई नै पक्षघात पनि थालेको छ। यो पक्षघात प्रक्रियालाई समन गर्न अत्यन्तै कठिन छ। मूलरुपमा यसले वैयक्तिक विकासको मुद्दालाई र वैयक्तिक स्वतन्त्रको मुद्दालाई अस्त्रको रुपमा प्रयोग गरेको छ।

यहाँनेर बुझ्नु र बुझाउनु पर्ने मुख्य विषय भनेको मानवताको विकास र सम्वर्धन गर्नु भनेको वैयक्तिक विकास अथवा स्वतन्त्रताको ह्रास गर्नु होइन, बरु व्यक्तिलाई अझ बढी विकसित र आत्मनिर्भर बनाउनु हो। मानिस जन्मजात सामाजिक प्राणी भएको हुँदा उसको मुख्य घर भनेको ऊ स्वयमको समाज हो र ऊ त्यो समाजरुपी घरको एउटा सदस्य हो।

घरको एउटा सदस्यलाई लागेको रोग अरुमा सर्नसक्छ अथवा नसरे पनि परिवारका सबै सदस्यलाई प्रत्यक्ष र अप्रत्यक्ष दुवैरुपमा पीडित बनाउन सक्छ। यो पीडित बनाउने प्रक्रिया हरेक घरमा जब पुग्छ, त्यो सामान्य घर नरहेर एउटा पीडा कुञ्ज बन्न जान्छ तर स्वार्थरुपी महायोगी चाहिँ सरुवा पनि छ र मारुवा पनि छ। प्रथमत त्यो एकबाट अर्कोमा सर्ने भनेको “जस्तालाई त्यस्तै” अर्थात् “जसले जे दिन्छ त्यही पाउँछ” सिद्धान्तअनुसार हो–यो चक्र प्रणाली हो र यो चक्र तरंगझैं वृद्धि हुँदै गएको छ । यो अप्राकृतिक हो।

त्यसैले यसको विस्तार पनि यही कृतिमताको गतिमा भएको छ। बास्तबमा यो मानव सिर्जित दुर्घटना हो। प्रवृतिगत दुर्घटना हो, मानव सभ्यताको वाधक हो। प्रवृत्तिगत रोग भएको हुँदा प्रवृत्तिगत सुधारबिना यसप्रकारका रोगको निदान सम्भव छैन। प्रवृतिगत सुधारको सुरुवात जसले समाजको वास्तविक महत्व बुझेको छ। जसले प्रेम बुझेको छ, बन्धुत्वको मर्मलाई बुझेको छ, यसैबाट शुरुवात गर्नुपर्दछ।

माथि उल्लेख गरिएअनुसार मानव भनेको सामाजिक प्राणी हो। मूल रुपमा प्रेममा बाँच्न चाहने उसको मूलभुत स्वरुप हो। यो स्वार्थ परायणता भनेको एउटा लगाइएको रोग हो। सल्काइएको डडेलो हो। मूलरुपमा फर्कन गरेको आग्रहलाई नजर अन्दाज गराउन कृतिम नयाँ प्रवन्यले रोक्ने सम्भावना भएपनि हृदयबाट प्रेमको आव्हानलाई स्वार्थपरायणताले रोक्न सक्दैन।

प्रेम र विश्वबन्धुत्व बुझेकाहरूले प्रथमतः स्वयं आफूलाई नै प्रेममय बनाउनु पर्दछ। अहंकार शुन्य, घमण्ड रहित, क्रोध समन र क्षमाशीलताको विकास नभएसम्म आफूलाई जस्तैः प्रेम अर्कोलाई गर्न सकिन्न। इतिहासको–अर्थात् कसैले गरेको नराम्रो व्यवहारलाई पटक–पटकको कोट्याइयो भने पुनः इतिहास दोहोरिन सक्छ तसर्थ खाटो बसेको घाउलाई कोट्याउनु हुँदैन र नयाँ घाउँ लाग्न दिनुहुँदैन। नयाँ घाउ लागे प्रेमले त्यसको मलमपट्टी तुरुन्तै गर्नुपर्छ ताकि त्यो पाक्न वा फैलन नपाओस्।

यो स्वार्थ परायणता, अहंकार, म र म मात्रै भन्ने भावना पनि एउटा मिठो घाउँ अर्थात् पीडाकै रुपमा मानव मष्तिस्कमा प्रवेश गरेको हुँदा यसलाई हटाउने महाअस्त्र प्रेमले त्यति छिट्टै अ असर नगरी हाल्न सक्छ। यसलाई निरन्तरता दिने कुशल चिकित्सक भनेको त्यही हो, जसले आफू सित भएको परम सत्य भावना, प्रेम, सद्भावना, सह–अस्तित्वको भावनालाई सम्पूर्ण रुपमा वितरण गर्नु पर्दछ।

जसरी महारोगले चक्रप्रणालीद्वारा मानवसभ्यतामाथि आक्रमण गरेको छ। यसको प्रतिकारको स्वरुप चाहिँ क्षमाको पृष्ठभूमिबाट निर्माण गरी प्रेम–सद्भाव, अपनत्व, बन्धुत्वरुपी कवजहरू धारण गरेर वसुधैव कुटुम्बकमको ब्रह्माअस्त्रको प्रयोग गर्नुपर्दछ।

यसका लागि मानवतावादी योद्धाहरू, प्रेम पारखीहरू, विश्वबन्धुत्वका महारथीहरूले क्षमाशिलताका शंखनादहरूको प्रयोग सबै दिशाहरूबाट एकै गतिबाट चारैदिशा घेरेर त्यो अहंकार, घमण्ड, स्वार्थपरायणता, क्रोध, घृणा, वैमनस्यता, इषर््या, द्वन्द्वता आदि आदि विभिन्न रुपमा छ्याप्छ्याप्ती भएका महारोगहरू परास्त गर्नका लागि हुनुपर्छ। मानवताको रक्षा गर्नुपर्छ।

यो प्रेममय जगतलाई प्रेमले नै सजाउनु पर्छ। प्रेमले नै सम्हाल्नुपर्छ र प्रेमले नै पुलकित बनाई, त्यही विरासत बाड्न पर्छ। लुटाउनु पर्छ प्रेम–शास्वत प्रेम– जुन अनवरतरुपमा बगिरहोस् अनन्ततक रहिरहोस्। ।। शुभम्।।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो