प्रदेश २ सरकारबाट राजपत्र प्रकाशन

डिसी नेपाल
२९ मंसिर २०७७ २१:१७

धनुषा । प्रदेश नं २ सरकारले अब आफ्नै राजपत्र प्रकाशन गर्न थालेको छ । प्रदेश नं २ मन्त्रिपरिषद् बैठकले प्रदेश राजपत्र प्रकाशन निर्देशिका २०७७ पारित गर्दै अब आफ्नै राजपत्र प्रकाशन गर्ने गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत सुरेन्द्र महतोले जानकारी दिए ।

प्रदेश राजपत्र प्रकाशन निर्देशिका २०७७ पारित भएसँगै प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर पनि राजपत्रमा प्रकाशित गर्न महिनौँ लाग्ने बाध्यताबाट प्रदेश नं २ सरकार मुक्त भएको छ । सरकारले ल्याउने कुनै पनि ऐन–कानून कार्यान्वयनमा ल्याउनका लागि राजपत्रमा प्रकाशित गराउनुपर्ने व्यवस्था छ । प्रदेश नं २ सरकारले ल्याउने ऐन–कानून राजपत्रमा प्रकाशित गराउन यसअघि सङ्घीय सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत मुद्रण विभागको सहयोग लिँदै आएको थियो ।

प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको ऐनलाई राजपत्रमा प्रकाशित गर्न प्रदेश सरकारले प्रदेश मुद्रण छापाखानाको स्थापना गर्ने तयारी थालेको जनाएको छ । प्रदेश मुद्रण छापाखाना स्थापनाको निर्णय भएसँगै ऐन प्रदेश नं २ को नै राजपत्रमा प्रकाशित हुन थालेको महतोले जनाए । अहिले प्रदेश अनुसन्धान ब्यूरो, प्रदेश एफएम रेडियो, टेलिभिजन सञ्चालनसम्बन्धी ऐन, प्रदेश जनलोकपाल ऐन, गाउँसभा, नगरसभा, कानून निर्माण प्रक्रियासम्बन्धी ऐन, प्रदेश सञ्चारसम्बन्धी ऐन प्रदेश राजपत्रमा प्रकाशित गरिएको महतोले बताए।

अधिकृत महतोका अनुसार यसअघि कुनै पनि ऐन राजपत्रमा प्रकाशित गराउन मुद्रण विभागको सहयोग लिने गरिएको थियो । अब यो झन्झट सकिएको बताए । अहिले ऐनहरू प्रदेश प्रमुखबाट प्रमाणीकरण भए लगत्तै राजपत्रमा प्रकाशित हुने गरेको उनको भनाइ छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *