नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभाको ३५ औँ बैठक सम्पन्न

डिसी नेपाल
३० मंसिर २०७७ २२:३४

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभाको ३५ औँ बैठक मङ्गलवार सम्पन्न भएको छ । बैठक उद्घाटन सत्रको समुद्घाटन पानसमा दीप प्रज्वलन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक योगेश भट्टराईले गरेका थिए ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको समारोहमा प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रेषित गरेको भिडियो सन्देश देखाइएको थियो । भिडियो सन्देशमार्फत् प्रधानमन्त्री ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेका नकारात्मक प्रभावका बिच समस्याभित्रबाट समाधानको उपायको खोजी गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताएका थिए ।

उनले प्राचीन तथा वैदिक सभ्यता र ज्ञानभूमि नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्य भएको विचार व्यक्त गरेका थिए ।प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गराउने क्रममा हरेक क्षेत्रको भूमिका हुने भएकाले मानवीय अन्तरप्रज्ञालाई जागृत गर्दै त्यसमा मानव समाजलाई सार्थकरुपमा हिँडाउनु प्राज्ञिक निकायको दायित्व भएको पनि बताए ।

तपोभूमि र अमूल्य वरदानयुक्त नेपालका पाखा र खोँचमा अनेक महाकाव्य लुकेर बसेका तथा कैयौँ आविष्कार गर्भमा रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रज्ञा–प्रतिष्ठानले नेपाल र नेपाललाई चिनाउने आधिकारिक र प्रामाणिक ग्रन्थ ‘नेपाल दर्पण’ प्रकाशनको योजना अगाडि बढाएकोमा आफूलाई हर्षित तुल्याएको बताएका थिए । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय सङ्ग्रहालय निर्माणको प्रक्रिया शुरु हुनाले अग्रजको सम्मानको प्राज्ञिक थालनी भएको र यस्ता काममा सरकारको सहयोग निरन्तर रहने विश्वास दिलाएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक योगेश भट्टराईले सभालाई सम्बोधन गर्दै पछिल्लो समयमा नेपाली संस्कृतिमाथि अतिक्रमण बढ्दै गएकाले त्यसलाई रोक्न सम्पूर्ण संस्कृतिकर्मीहरूलाई आग्रह गरे । उनले देशको कला, साहित्य, इतिहास र संस्कृतिको संरक्षण गर्न प्राज्ञिक वर्गलाई संवेदनशील हुन आग्रह गरे । नेपालको विविध भाषा, साहित्य, संस्कृति, सभ्यता र भूगोल विश्वका ठूला मुलुकहरुको भन्दा कम नभएको भन्नुहुँदै मन्त्री भट्टराईले पूर्वीय संस्कृतिभित्रको विविधता जोगाउन विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई अनुरोध गरे ।

कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानले गरिरहेका कार्यक्रमहरूको समीक्षा र भावी कार्यक्रमिक योजनाबारे सभामा छलफल हुने बताए । उनले प्रज्ञा–प्रतिष्ठानको जीवनमा प्राज्ञ सभाको विशिष्ट भूमिका रहने उल्लेख गरे । उपकुलपति डा जगमान गुरुङ र सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले क्रमशः स्वागत तथा धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले ३५ औँ प्राज्ञ सभा बैठकको सफलताको कामना गरेका थिए ।

सभाको बैठक आरम्भ हुनुअघि पदेश प्राज्ञ सभा सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई सभाका अध्यक्ष कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानको प्रतीक चिन्ह लगाइदिएका थिए।

त्यसपछि प्राज्ञ सभाका अध्यक्ष गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको प्राज्ञ सभाको ३५ औँ बैठकले गत आ।व।को खर्च पारित गर्दै चालू आव.व.का लागि १९ करोड ५० लाखको अनुमानित बजेट पारित गरेको छ । सभाले वार्षिक नीति र कार्यक्रमसमेत पारित गरेको छ । यसै गरी प्राज्ञ सभाको ३५ औँ बैठकले आ.व. २०७७/०७८ का लागि विभिन्न प्रज्ञा पुरस्कारहरूको निर्णय गरेको छ भने एक जना आजीवन सदस्य र दुई जना मानार्थ सदस्य मनोनयन गरेको छ ।

बैठकले प्रा डा वीरेन्द्रप्रसाद मिश्रलाई नगद दुई लाखको नेपाल सामाजिकशास्त्र/संस्कृति/दशनशास्त्र पुरस्कार र नगद दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा डा तेजरत्न कंसाकरलाई प्रदान गर्ने निर्णय गरेको छ । यसै गरी एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले दुई दुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार भारत, आसामका लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने ३ हजार अमेरिकी डलर वा सो बराबरको नेपाल प्रज्ञालङ्कार सम्मान चीनका प्राध्यापक वाङ हङवेईलाई प्रदान गर्ने निर्णय गरेको छ । यसै गरी बैठकले डा महेशराज पन्त र प्रा डा सूर्यप्रसाद सुवेदीलाई प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यता र आनन्ददेव भट्टराई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *