शिवालयमा १५ दिने कानुनी सचेतना शिविर
सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिकामा कानुनी सचेतना तथा कानुनी सेवा शिविर सञ्चालन गरिएको छ ।
मध्यपश्चिम विश्वविद्यालय कानुन सङ्कायमा अध्ययनरत सातौँ सेमेस्टरका विद्यार्थीहरूले शिवालयको बस्ती तहमै पुगेर निःशुल्क कानुनी सचेतना अभियान चलाएका हुन् । कानुनको आधारभूत जानकारी समुदायसम्म पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरिएको अभियानमा सहभागी आशिका भट्टराईले जानकारी दिइन् ।
१५ दिनसम्म सञ्चालन हुने अभियानमा बुन प्रसाद जैसी, आशिका भट्टराई, शैलेन्द्र सिंह, धर्मेन्द्र मल्ल र युवराज बिष्ट सहभागी छन् । उनीहरूले शिवालयको बस्ती तहसम्मै पुगेर नागरिकलाई कानुनका आधारभूत जानकारी, कानुन उलङ्घनले हुने दण्ड सजाय तथा कानुनी उपचार, कानुनी पहुँचमा पुग्न नसकेका नागरिकलाई कानुनी पहुँचको जानकारी गराउने लगायतका क्रियाकलाप सञ्चालन गरिएको उनीहरूले बताएका छन् ।
टोलीले शिवालय गाउँपालिकाको विभिन्न वडा र विद्यालयमा गई विद्यार्थी र समुदायमा प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । कानुनी उपचारका लागि नागरिकको अधिकार र कर्तव्य बोध गराउने विषयमा पनि छलफल भएको अभियानकी सहभागी आशिका भट्टराईले बताईन् । ‘कानुनी अधिकार, कर्तव्य, न्याय प्राप्तिका उपाय तथा दैनिक जीवनसँग जोडिएका कानुनी प्रावधानबारे समुदायका नागरिकलाई जानकारी गरायौ’ उनले भनिन्, ‘समाजमा देखिएका समसामयिक समस्या, विवाद तथा सम्भावित कानुनी जटिलताहरूलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा स्थानीयसँग छलफल भयो ।’
अन्याय महसुस भई रहँदा पनि कानुनी उपचारमा जाने वातावरण नागरिकहरूले महसुस नगरेको बताएका छन् । ‘गाउँमा कतिपय नागरिकलाई विभिन्न किसिमको अन्याय भएको महसुस गरेको भए पनि त्यसको कानुनी उपचार खोज्न नसकेको पाइयो’ आशिकाले भनिन्, ‘१५ दिनको अभियानले धेरैलाई कानुनी बाटो अवलम्बन गर्ने, त्यसका लागि सहयोगी निकाय खोज्ने तथा कानुन उलङ्घनले निम्त्याउने जटिलताबारे जानकारी पाउनु भएको छ ।’
विद्यार्थीहरूको अभियानले गाउँपालिकाका नागरिक र जनप्रतिनिधीहरुलाई समेत महत्त्वपूर्ण सिकाई भएको गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले बताए ।
‘कानुनको अनभिज्ञताले हुने गैर कानुनी कामहरू रोक्न र कानुन बमोजिम अगाडि बढ्न जनप्रतिनिधीहरुलाई सिकाई भएको छ’ उनले भने, ‘नागरिक र जनप्रतिनिधीहरुमा कानुनको आधारभूत जानकारी मात्रै भए पनि धेरै कुरामा सहज हुनेछ ।’ अभियानले गाउँपालिकाको न्याय सम्पादनमा सहज हुने न्यायिक समितिका सदस्य तसबिर ओलीले बताए ।







डिसी नेपाल







Facebook Comment