विश्वको सबैभन्दा एक्लो टापुमा एक्लो घर, भाइरल भइरहेको यो तस्वीर कहाँको हो ?

डिसी नेपाल
१ पुष २०७७ १५:२०

काठमाडौं। के तपाइँले विश्वको सबैभन्दा एक्लो टापुमा तपाइँको एक्लो घर होस् भन्ने सोच्नुभएको छ ? विश्वमा एउटा यस्तो टापु पनि छ जसको नजिक अन्य कुनै मानव बस्ती भएका टापु छैनन् । यो टापुमा एउटा मात्र घर छ । यहाँ अरु कोही बस्दैनन् । यो टापु र घरको तस्वीर केही दिनदेखि सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

द सनको रिपोर्टअनुसार यो टापु आइसल्याण्डको दक्षिणतर्फ छ । यहाँ १८ औं र १९ औं शताब्दीमा केही परिवार बस्थे । तर, १९३० मा यहाँका परिवार राम्रो जीवनको खोजीमा अन्यत्र गए । त्यसपछि यो टापु निर्जन भएको छ । यो टापुमा भएको एक घरका विषयमा एउटा किंवदन्ती यो पनि छ कि यो घर कुनै करोडपति व्यक्तिले बनाएका हुन् ताकि भविष्यमा हुने जम्बी विनाशबाट बच्न सकियोस् ।

यो घर र टापुका विषयमा अहिले सामाजिक संजालमा कैयौं तस्वीर र कहानीहरु भाइरल भइरहेका छन् । यो टापुको नाम एलियाए हो । यो आइसल्याण्डको दक्षिणमा वेष्टमानायेआर आर्किपेलागो नजिकै एटलान्टिक महासागरमा छ । यो घरका विषयमा एउटा हल्ला त यो पनि फैलिएको थियो कि यो घर चर्चित गायक जोर्कले बनाएका हुन् । तर, यी सबै हल्लाहरु सही होइनन् । यो घर बनाउनुको वास्तविकता अर्कै छ ।

खासमा यो घर एलियाए हन्टिङ एसोसिएसनले बनाएको हो । एलियाए हन्टिङ एसोसिएसनका कर्मचारीले यहाँबाट माछाको संख्या निगरानी गर्छन् । यो टापुको चारैतिर ठूलो संख्यामा माछा पाइन्छन् । यहाँबाट सूचना दिइएपछि मुख्य शहरबाट माछा मार्नेहरु यहाँ माछा मार्न आउँछन् । यो माछा मार्नेहरुको समुद्री बेस हो । यो घरमा माछा मार्नेहरुलाई बस्ने सबै व्यवस्था गरिएको छ । यो घरमा बस्नको लागि हन्टिङ एसोसिएसनले पालैपालो कर्मचारी ड्युटीमा खटाउँछ । यहाँ पर्यटकहरुलाई पनि विभिन्न कम्पनीले घुम्न लैजाने व्यवस्था गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *