चार महिनामा चार अर्ब डलर दान गर्ने महिला

डिसी नेपाल
१ पुष २०७७ १६:४०

बीबीसी । मकेन्जी स्कटले चार महिनाको अवधिमा विभिन्न परोपकारी संस्थाहरूलाई चार अर्ब अमेरिकी डलरभन्दा बढी रकम दान गरेकी छन्। उनी एमेजनका संस्थापक जेफ बेजोसकी पूर्वपत्नी हुन्।

उनीबाट आर्थिक सहयोग पाउने संस्थाहरूमा असहाय भोकाहरूलाई खानेकुरा उपलब्ध गराउने र आपत्कालीन उद्धार कोष सञ्चालकहरू छन्। एउटा ब्लगमा आफ्नो धारणा लेख्दै मकेन्जी स्कटले कोरोनाभाइरस महामारीको समस्याबाट मारमा परेका अमेरिकीहरूलाई आफूले सहयोग गर्ने प्रयास गरेको बताएकी छन्।

मकेन्जी स्कट संसारकै १८ औँ सर्वाधिक धनी व्यक्ति हुन् र यो वर्ष उनको कुल सम्पत्ति २३।६ अर्ब डलरले बढेर ६०.७ अर्ब डलर पुगेको छ। उनको सम्पत्तिको धेरैजसो भाग पूर्वपति जेफ बेजोसबाट भएको हो। उनी मुख्यतः अनलाइन कारोबारमा संलग्न एमेजनका प्रमुख कार्यकारीका साथै संसारका सबैभन्दा धनी व्यक्ति पनि हुन्।

मकेन्जी स्कटले आफूलाई सहयोगका लागि ६,५०० वटा आवेदन प्राप्त भएकोमा तीमध्ये ३८० वटा परोपकारी संस्थालाई छानेर आफूले रकम दान गरेको बताएकी छन्।

गत जुलाई महिनामा उनले ११६ वटा संस्थालाई १.७ अर्ब डलर दान दिएकी थिइन्। यो समेत जोड्दा यो वर्ष मात्र उनले झन्डै ६ अर्ब डलर रकम दानमा दिइसकेकी छन्।

उनले दिएको आर्थिक सहयोग खासगरी खाद्य सुरक्षाको उच्च सङ्कटमा परेका, जातीय असमानताको अवस्था चर्को भएका, स्थानीय गरिबीदर चर्को भएका र परोपकारी संस्थाहरूबाट प्राप्त हुने रकममा कमजोर पहुँच भएका समुदायहरूमा केन्द्रित रहेको छ।

गिभिङ प्लेज

गत वर्ष उनले आफ्नो सम्पत्ति दान गर्छु भनेर कबोल गरिने गिभिङ प्लेज नामको एउटा सार्वजनिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेकी थिइन्।

गिभिङ प्लेज संसारका अतिधनाढ्य व्यक्ति र परिवारहरूले आफ्नो सम्पत्तिको ठूलो भाग समुदायको हितका लागि दान गर्नेछौँ भनेर सार्वजनिक रूपमा व्यक्त गरिने एउटा प्रतिबद्धता हो।

मकेन्जी स्कटले आफूले दान दिने संस्थाहरूको चयन उनको सल्लाहकारहरूको एउटा टोलीको परामर्शको आधारमा गर्ने गर्छिन्, जसले हजारौँ परोपकारी संस्थाहरूका विषयमा सोधखोज गरेपछि मात्र आफ्नो सुझाव प्रस्तुत गर्ने गर्छन्।

परोपकारी कार्य र गतिविधिका विज्ञ जानकारहरूले मकेन्जी स्कटले दान गरेको रकम र त्यस्तो रकम हस्तान्तरण गर्न अपनाएको प्रक्रियाको प्रशंसा गरेका छन्।

अन्य ठूला दाता

एमेजनका प्रमुख कार्यकारी तथा संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले जलवायु परिवर्तनसँग सम्बन्धित विषयका लागि १० अर्ब डलर दान गर्ने प्रतिबद्धता जनाएका छन्।

ट्विटरका सहसंस्थापक ज्याक डोर्सीले कोरोनाभाइरस महामारीको उद्धार प्रयास र अन्य विषयहरूमा सहयोग पुर्‍याउन एक अर्ब डलरको कोष स्थापना गर्ने घोषणा गत एप्रिल महिनामा गरेका थिए।

बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले उनीहरूको परोपकारी संस्थामार्फत् खोप, उपचार र रोग निदान कार्यका लागि ३० करोड ५० लाख डलर दिने बताएका छन्।

ह्यारी पोटर उपन्यासहरूकी लेखिका जेके राउलिङले घरबारविहीन र महामारीका बेला घरेलु हिंसाबाट पीडित भएका मानिसका १० लाख पाउन्ड दान दिइसकेकी छन्। फेसबुक संस्थापक मार्क जकरबर्ग र उनी पत्नी प्रिसिला चानले अमेरिकी निर्वाचनलाई सुरक्षित तुल्याउन भन्दै ३० करोड डलर दान दिएका थिए।

गत जुन महिनामा बास्केटबल खेलका महान् खेलाडी माइकल जोर्डनले ब्ल्याक लाइभ्स म्याटर्स र सामाजिक अन्यायका अन्य मुद्दाविरुद्धको अभियानमा सहयोग गर्न आगामी दशकभरि गरेर १० करोड डलर दान दिने घोषणा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *