नलगाड जलविद्युत आयोजनाको डीपीआर छिटो सक्न मन्त्री पुन र बस्नेतद्वारा निर्देशन

डिसी नेपाल
४ पुष २०७७ १२:३२

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा बन्न लागेकोे जलाशययुक्त नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को प्रगतिबारे जानकारी लिएका छन्।

यसअघि डीपीआरकर्ताको मागअनुसार अगष्ट २०१९ मा पहिलोपटक तीन महिना र दोस्रो पटक अगष्टदेखि मे २०२० सम्म ९ महिना डीपीआरको समयावधि थप गरिएको थियो।
तर, अझै काम नसकिएको भन्दै ऊर्जामन्त्री पुन र जाजरकोटबाट प्रतिनिधिसभामा निर्वाचित वनमन्त्री बस्नेतले डीपीआरकर्तालाई बोलाएर छलफल गरेका हुन्।

जाजरकोटको नलगाड गाउँपालिकामा प्रस्तावित ४ सय १७ मेगावाटको जलाशययूक्त आयोजनाको आयोजना प्रमुखसहित कर्मचारी र डीपीआरको जिम्मा पाएको कन्सल्ट्यान्टका प्रतिनिधिसँग मन्त्रीद्वयले शुक्रबार ऊर्जा मन्त्रालयमा प्रतिवेदनबारे जानकारी लिएका हुन्।

त्यस क्रममा डीपीआरको काम गदै आएको अष्ट्रेलियन कम्पनी स्मेकका प्रतिनिधि बाबुराम भारद्वाज र रेशम ढकालले प्रतिवेदनको प्रगतिबारे जानकारी गराएका थिए।

भारद्वाज र ढकालले डीपीआरको काम करिब ८५ प्रतिशत सकिएको बताए। बाँकी १५ प्रतिशत कामका लागि समय थप गर्नुपर्ने प्रस्ताव कन्सल्ट्यान्टका तर्फबाट आएको छ। त्यसका लागि १२ सेप्टेम्बर २०२१ सम्मको समय माग गरिएको छ। तर, मन्त्रालयले अध्ययन गरी आवश्यक समय दिने जबाफ दिएको छ।

अष्ट्रेलियन कम्पनी स्मेक, एमडब्लुएच र नेपाली कम्पनी उदय जेभीले संयुक्तरूपमा डीपीआरको काम गरिरहेका छन्। सन् २०१६ मा तीन वर्षमा डीपीआर सक्नेगरी नलगाड जलविद्युत कम्पनी र स्मेक, एमडब्लुएच र उदय जेभीबीच सम्झौता भएको थियो।

छलफलमा मन्त्री पुनले डिपीआरको काम तोकिएकै समयमा नसक्नु कमजोरी भएको भन्दै विगतका कमजोरी सच्याएर छिटो काम सक्न निर्देशन दिए। कममा सहजीकरणका लागि मन्त्रालय सधैं तयार रहेको भन्दै पुनले बहानाबाजी बनाएर डीपीआरमा थप ढिलाइ भए आयोजना नै खारेज हुनसक्ने चेतावनी दिए। अब डिपीआरमा ढिलाइ भए धेरै समय कुरेर नबस्ने र विकल्प खोजिने उनको भनाइ थियो।

मन्त्रालयले नलगाड जलविद्युत आयोजनालाई क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुंगा साबित हुने आयोजनाको रुपमा अघि बढाएको छ।

छलफलमा मन्त्री बस्नेतले कल्सल्ट्यान्टले कोभिड–१९ को बहानामा डिपीआरमा ढिलाइ गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

जाजरकोटको नलगाड गाउँपालिका–७ दल्लीमा विद्युत गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल रहनेछ। नलगाड गाउँपालिकाको नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत विद्युत गृह निर्माण हुनेछ। बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किमी लामो मुख्य सुरुङ र २ देखि ३ किलोमिटरसम्मका तीनवटा सहायक सुरुङ बन्नेछन्।

५ सय मिटर लम्बाई र २ सय ४८ मिटर अग्लो ड्याम बन्नेछ। जलाशयमा ४७ करोड ४० लाख घनमिटर पानी जम्मा गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *