स्थानीय पाठ्यक्रम लागू गर्दै नागार्जुन नगरपालिका

डिसी नेपाल
४ पुष २०७७ १६:५७

काठमाडौं । नागार्जुन नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । शैक्षिकसत्र २०७८ देखि नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई लागू गर्ने जनाएको छ ।

स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिकको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याउने भएको शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुँवरले बताए।

एक सय पूर्णाङ्कको सो पाठ्यक्रममा स्थानीय संस्कृति, जनजीवन, भूगोल, मौलिक विशेषता, पहिचानलगायतका सम्पूर्ण पक्षलाई समेटेर पुस्तक तयार गरिएको नगरपालिकाले जनाएको छ । उक्त पुस्तकको नाम ‘हाम्रो नागार्जुन’ रहेको छ ।

विद्यालयका शिक्षक, स्थानीयवासी र जनप्रतिनिधिबीच छलफल तथा सहमति भई राय सुझावसहित पाठ्यक्रम तयार गरिएको बताइएको छ । हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम पढाइ गरिने जनाएको छ ।

नगरपालिकामा ५१ संस्थागत र १९ सामुदायिक विद्यालय गरी ७० विद्यालय छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *