उखु किसान आन्दोलनः संसद् विघटनसँग सरोकार छैन्, खुन पसिनाको पैसा चाहियो

डिसी नेपाल
५ पुष २०७७ १७:३४

काठमाडौं। संसद् विघटनको चर्चाले छाएको आज (आइतबार)को दिन पनि उखु मिलबाट करोडौं रुपैयाँ भुक्तानी नपाएका उखु किसानहरुले माइतीघर मण्डलमा हप्तादिन अघिदेखि थालेको आन्दोलन जारी छ। उद्योगीबाट वर्षौदेखि भुक्तानी नपाएका पीडित किसानहरु आन्दोलनको क्रममा संसद् विघटनबारे सरोकार नभएको बताउँछन्।

आन्दोलनको भीडबाट पीडितहरु भन्छन्, ‘संसद् विघटन होस् या जेसुकै होस् त्यसको सरोकार छैन्। खुन पसिनाको हाम्रो कमाइको पैसा चाहियो। कुनै भिख माग्न त आएका हौइनौं नि? संसद विघटन भएपछि देश चल्छ कि चल्दैन?, त्यसैले जतिदिनसम्म हाम्रो पैसा दिँदैनन् हामी यहि रोडमा हुन्छौ। जुनसुकै पार्टीले सरकार चलाओस्, हामीलाई पैसा चाहियो, सरकारले पाँच वटा मिल मालिकलाई मार्ने हो कि, हामी हजारौं किसानलाई मार्ने हो?’

सर्लाहीका धनराज सहनी ०७४ सालदेखिको ६–७ वटा बिल देखाउँदै कति पैसा लिन बाँकी छ तपाई आफै हेरिदिनु भन्दै पत्रकारलाई पैसा दिलाइदिन आग्रह गर्छन्। खाली खुट्टामा आन्दोलन गरिरहेका वृद्ध सहनी आँखाभरी आँशु पारेर पत्रकारलाई अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिज प्रा.लि.को बिल देखाउँदै पैसा दिलाई दिन आग्रह गर्दै भन्छन्, ‘घरमा श्रीमतीको खुट्टामा क्यान्सर भएको छ, अप्रेशन गर्नुपर्ने छ, यो बिल सबै जोडेर पैसा दिलाइदिनुस् अनि म भरतपुर जान्छु।’ उनी आफैले बोकेको बिलमा भएको रकम भन्न नसकेर त्यहाँ उपस्थित जिज्ञासुलाई बिलमा भएको रकम जोडेर दिलाइदिन रुदै आग्रह गरिराख्छन्।

श्री महालक्ष्मी सुगर्स प्रा.लि.ले अरु मिलको तुलनामा कम मूल्य दिएको गुनासो गर्दै पीडित भन्छन्, ‘उखु चाहिँ उधारो दिएका छौं र त्यसलाई पेलेर बनेको चिनी नगद दिएर खाइसकेका छौं। हामीलाई चिनी त उधारो कसैले पनि दिदैन।’

सर्लाहीका श्यामबाबु शाहको ०७४ सालदेखिको अन्नपूर्ण मिलबाट वक्यौता लिन ६ लाख रुपैयाँ रहेको भन्दै बैंकको ब्याजमा डुबिसकेको गुनासो गर्छन्। त्यस्तै, अन्नपूर्ण मिलबाटै सर्लाहीका सुनिल कुमार पनि ०७४ सालदेखिको १४ लाख लिन बाँकी रहेको बताउछन्।

किसानको आन्दोलनलाई सहयोग गर्दै आएका नेपाली क्रान्तिकारी किसान संघको केन्द्रीय उपाध्यक्ष गोबिन्द दुवालले उखु रोप्ने किसानहरुले दुःख गरेर कमाएको सम्पत्ति सरकारले उद्योगपतिहरुबाट तुरुन्त दिलाइदिनु पर्नेमा जोड दिन्छन्।

उनी भन्छन्, ‘सरकारले यसलाई अहिलेसम्म ध्यान नदिएको गुनासो गर्छन् किसानको मुख्य समस्या भनेको संसद् विघटन हुने नहुने सम्बन्धित कुरा होइन, अहिले मुख्य देशको समस्या किसानको समस्या हो। यो आन्दोलन जायज कुरामा भएकोले सबैले यसमा साथ दिनुपर्छ। सरकारले उद्योगीलाई पक्रेर कारवाही अगाडि बढाएको छ भन्ने कुरा पत्रपत्रिकामा हामीले पढेका छौं तर त्यो व्यवहारमा भएको थाहा छैन्।’

आन्दोलनको समर्थन गर्दै आएका उखु किसान संघर्ष समिति (सर्लाही)का संरक्षक राकेश मिश्र भन्छन्, ‘सरकारको आश्वसन होइन हामीलाई किटानी चाहियो कुन दिन, कति र कसरी पाउने भनेर जबसम्म किटानी हुँदैन तबसम्म आन्दोलन पनि स्थगित हुँदैन। अब कोहि पनि किसानले मिलको अगाडि आन्दोलन गर्न नपरोस र किसानलाई दुःख दिन नसकोस भनेर एउटा कानुनी रुपमा कार्यविधि हुनु पर्छ।’ त्यसैगरी, उनी उद्योगीलाई पक्रेर किसानलाई पैसा दिन थालेको भन्ने कुनै प्रमाण नै नभएको भन्दै जबसम्म सम्पूर्ण भुक्तानी प्रक्रियाको टुङ्गो लाग्दैन तबसम्म आन्दोलन जारी रहने बताउछन्।

आन्दोलित किसानहरु अब जे हुने हो यहि आन्दोलनले अन्तिम निर्णय गर्छ भन्दै आन्दोलन जारी रहने र अझै पीडित किसानहरु आउने क्रम पनि जारी रहने बताउँछन्। साथै, उनीहरुले आन्दोलन स्थलमा केहि दिनपछि टेण्ट लगाएर त्यहि बस्ने सुत्ने गर्ने जानकारी गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *