हाँडीगाउँ संस्कृति संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि बन्ने

डिसी नेपाल
६ पुष २०७७ १८:२८

काठमाडौं । काठमाडौँ महानगारपालिकाले ‘बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७७’ र हाँडीगाउँ संस्कृति संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।

कामपाको प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षमा आज बसेको ५४औँ कार्यपालिका बैठकले अनुगमन विधेयक र अक्षय कोष सञ्चालन कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको हो । बैठकले यही २७ गते आठौँ अधिवेशनको मितिसमेत तोकेको छ । त्यसैगरी बैठकले कमलपोखरीको पुनःनिर्माण, वडा नं ५ स्थित गोरखनाथ पुनःनिर्माण र वडा नं २५ स्थित ओलाछिं त्वाः छेँ पुनःनिर्माणको म्याद थप गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी वडा नं २२ स्थित सैनिक अस्पतालको अभिलेखीकरण दस्तुरमा ८० प्रतिशत र वडा नं ७ स्थित शिवदर्शन ज्ञानकुञ्ज व्रह्मकुमारी पाठशालाको नक्सा दस्तुर छुट गर्ने निर्णय पनि गरेको छ । बैठकमा जुम्लाको चन्दननाथ नगरपालिकासँग भगिनी सम्बन्ध सहमतिमा हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ ।

यस्तै रामग्राम नगरको भगिनी सम्बन्ध कार्यक्रम प्रतिवेदन अनुमोदन गरेको छ । इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि र आगामाी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउन लागिएको नेपाल भाषाको प्रशिक्षणसम्बन्धी कार्यविधि माथि पनि छलफल भएको छ ।

महानगरको सञ्चार विभागअन्तर्गत मेट्रो एफएममा कार्यरत भएकै बेला मृत्यु भएका पत्रकार विक्रम शाक्यकी धर्मपत्नी धनलक्ष्मी शाक्यलाई रु एक लाख सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *