भद्रपुर नगरपालिका प्रदेश नं १ को पहिलो बालमैत्री नगर घोषित

डिसी नेपाल
७ पुष २०७७ १८:०७

झापा । प्रदेश नम्बर १ को पहिलो तथा नेपालको पाँचौँ बालमैत्री नगरपालिकाको रुपमा मंगलबार भद्रपुर नगरपालिका घोषणा भएको छ । प्रदेश नम्बर १ की सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेरले भद्रपुर नगरपालिकालाई आज बालमैत्री नगर घोषणा गरेकी हुन्।

बालमैत्री नगरपालिका निर्माणको यात्रामा भद्रपुरले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेपछि प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गरेको छ । मन्त्री गजमेरले बाल अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा नगरपालिका अनवरतरुपमा लाग्दै बालमैत्री संस्कार प्रदान गरी बालमैत्री नगरको औचित्यता र दिगोपनामा अमूल्य योगदान पुर्याउने आशा व्यक्त गरिन् ।

नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठले राजनीतिक, आर्थिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा यस नगरले बालबालिकालाई नेतृत्वदायी भूमिका निर्वाह गराउने प्रतिबद्धता व्यक्त गरे। हाल झण्डै ७२ हजारको हाराहारीमा जनसङ्ख्या रहेको नगरमा २२ हजार ११२ जना बालबालिका र ५७ वटा बाल विकास केन्द्र रहेको नगरका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *