पिप्लामोड–नागढुङ्गा–कलङ्की क्षेत्रमा बत्ती जडान गरिने

डिसी नेपाल
१२ पुष २०७७ २३:१३
32
Shares

काठमाडौं। चन्द्रागिरि नगरपालिकाले पिप्लामोड–नागढुङ्गा–सतुङ्गल– कलङ्की क्षेत्रमा ५०० सडक बत्ती जडान गर्ने भएको छ। काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले सडक क्षेत्रमा हुने अपराधलाई रोक्नका लागि ५०० सडकबत्ती जडान गर्न लागेको हो।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरिभित्रको मुख्य सडकमा सडक बत्ती जडानका लागि नगरपालिकाले रु एक करोड रकम विनियोजन गरेको जानकारी दिए। “चन्द्रागिरिले गत महिना राजमार्ग क्षेत्रमा ६८ सिसी क्यामरा जडान गरेको छ, आउने एक महिनामा सडक बत्ती जडानको काम सक्छौँ”, नगरप्रमुख गिरीले भने।

चन्द्रागिरिले रु एक करोड लागतमा सिसी क्यामरा जडान गरेको हो। सिसी क्यामरा र सडक बत्ती जडानसँगै चन्द्रागिरिको राजमार्गमा हुने आपराधिक क्रियाकलाप कम हुँदै जाने विश्वास सो नगरपालिकाले लिएको छ।

चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा छन् भने राजमार्ग क्षेत्रमा मात्र ११ वडा पर्दछन्। चन्द्रागिरि नगरपालिकाले केही दिन पहिले मात्र नगरपालिकाभित्र हुने आगलागी नियन्त्रणका लागि दमकल खरीद गर्नाका साथै बिरामी बोक्नका लागि एम्बुलेन्ससमेत खरीद गरेको छ। चन्द्रागिरिले रु ५२ लाखमा दमकल र रु १२ लाखमा एम्बुलेन्स खरीद गरेको हो।

चन्द्रागिरिले सतुङ्गल–मातातीर्थ–चित्लाङ हुँदै हेटौँडा पुग्ने गणेशमान सिंह मार्गको चन्द्रागिरि नगरपालिकामा ढलानको काम तीव्र गतिमा अगाडि बढाएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए। नगरपालिकाको विकासलाई उच्च प्राथमिकता दिएको सो नगरपालिकाले नगरपालिकाको भवन निर्माणसमेत अन्तिम चरणमा पुर्याएको छ। यस्तै जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा नेपालकै पहिलो सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग चन्द्रागिरिमा निर्माण हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *