चितवन राष्ट्रिय निकुञ्जको बाघले दुई अर्ना मार्यो

डिसी नेपाल
१३ पुष २०७७ २२:३१

चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर दुई वटा अर्ना मारेको छ । निकुञ्जको पुरानो पदमपुरमा रहेको खुल्ला खोरमा आज दुई वटा अर्ना मृत फेला परेका हुन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार खोरभित्र दुई वटा माउँ पोथी मृत अवस्थामा भेटिएका हुन् । खोरभित्रै रहेको बाघलाई निकुञ्जका प्राविधिकले आजै नियन्त्रणमा लिएर निकुञ्जको भित्री इलाकामा छाडेको उनले जानकारी दिए । सरकारको विसं २०७१ को निर्णयानुसार २०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना स्थानान्तरण गरी ल्याइएको थियो ।

तत्कालीन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो । कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तीमध्ये विभिन्न कारणले छ अर्ना यस अघि नै मरिसकेका छन् ।

स्थानान्तरण गरी यहाँ ल्याएपछि हालसम्म तीन भाले, दुई पोथी र एक हालै जन्मिएको लिङ्ग पहिचान नभएको गरी ६ वटा बच्चा जन्मिएका छन् । अब निकुञ्जमा बच्चा र बयस्क गरी १३ वटा अर्ना रहेका छन् । खोर बढाएर यहाँ २० देखि ३० अर्ना पुर्याउने योजना निकुञ्जको छ । झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने योजना निकुञ्जको छ ।

अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *