भाटभटेनी मन्दिरको सत्तल पुनः निर्माण अपारदर्शी भएको गुनासो

डिसी नेपाल
१७ पुष २०७७ २२:३४

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त काठमाडौँ महानगरपालिका–५ स्थित भाटभटेनी मन्दिरको सत्तल साढे पाँच वर्षपछि पुनःनिर्माण शुरु गरिए पनि अपारदर्शी भएको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् ।

सत्तल निर्माण गर्न महानगरपालिकाले ड्रइङ डिजाइन गरिसकेपछि भाटभटेनी सुपरमार्केटले निर्माण गर्ने इच्छा देखाएको थियो । महानगरपालिका सम्पदा विभाग प्रमुख अर्चना शाक्य भाटभटेनी सुपरमार्केटलाई नै काम गर्ने जिम्मेवारी दिइएको बताउँरछिन् । निर्माणस्थलमा पुनःनिर्माण गरिने सत्तलको चित्र राखिए पनि जानकारीका लागि राखिनुपर्ने सूचना पाटी छैन । सुशासन ऐनले निर्माणस्थलमा त्यससम्बन्धी जानकारी दिन सूचनापाटी राख्नुपर्ने व्यवस्था गरे पनि राजधानीकै मुख्य–मुख्य स्थानमा भइरहेको निर्माण एवं पुनःनिर्माणमा पनि यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन ।

निर्माणस्थलमा आयोजना सूचना पाटी नराखिँदा के बनाउन लागिएको हो भन्ने थाहा नभएको स्थानीयवासी सुन्दरमान श्रेष्ठको गुनासो छ । पुनःनिर्माणका लागि जीर्ण सत्तल भत्काएको लामो समय भए पनि काम भने शुरु हुन सकेको छैन । मन्दिरका पुजारीसमेत के बनाउन लागेको भन्ने विषयमा जानकारी नभएको बताउँछन् । आठ पुजारी रहेको र एक÷एक हप्तामा पालो आउने गरेकाले थाहा नभएको हुनसक्ने ती पुजारीको भनाइ छ ।

सत्तल निर्माणमा सरोकार भएका पक्षलाई कति लागतमा के बनाउन लागिएको भनी जिज्ञासा राख्दा एकले अर्कोलाई देखाएर पन्छिएका छन् । महानगरपालिकाका सम्पदा विभाग प्रमुख शाक्य करिब रु दुई करोड लागत स्टमेट गरिएकाले त्यति नै रकममा बनाउन लागिएको हुनसक्ने बताउँछन् । यस विषयमा भाटभटेनी सुपरमार्केट र ५ नं वडा कार्यालयले थप जानकारी दिन सक्ने उनको भनाइ छ ।

सत्तल पुनःनिर्माणका लागि महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा रु दुई करोड बजेट विनियोजन गरेको जानकारी पनि उनले दिए । भाटभटेनी सुपरमार्केटले नै बनाउने प्रतिबद्धता आएकाले महानगरले काम नगरेको जनाइएको छ । भाटभटेनी सुपरमार्केटको मुख्य कार्यालय पनि मन्दिर नजिकै छ । कार्यालयमा पुग्दा यस विषयमा जानकारी दिने कोही नभएको भन्दै कर्मचारी एक अर्कामा पन्छिए । कार्यालयको फोनबाट पछ्याउने क्रममा इञ्जिनीयर सुवर्ण डङ्गोललाई सोध्नुपर्ने जानकारी दिए पनि उनको सम्पर्क नं. दिन समेत कर्मचारीले मानेनन् ।

वडाध्यक्ष रमेश डङ्गोल व्यक्ति विशेषले निर्माण गर्न लागेकाले आयोजना सूचना पाटी नराखेको हुनसक्ने बताउँछन् । सत्तल पुनःनिर्माणका लागि भाटभटेनी सुपरमार्केटले कोसँग सम्झौता गरेको भन्नेसमेत महानगर र वडा कार्यालयले खुलाउन सकेनन् । सम्झौताका विषयमा पनि वडाले महानगर र महानगरले वडालाई देखाउने गरेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *