भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, खोप ७० प्रतिशत प्रभावकारी

डिसी नेपाल
१९ पुष २०७७ १४:१८

नयाँदिल्ली। भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ। सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो।

विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई स्वीकृति दिइएको भारतको औषधि नियन्त्रकको कार्यालयले आइतबार जनाएको छ।

कार्यालयको निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप कति सुरक्षित छ भन्ने एकिन गरेर मात्रै स्वीकृति गरिएको अधिकारीहरुले बताएका थिए। सुरक्षाको विषय आफूहरुको मुख्य चासो भएको उनीहरुको भनाइ थियो।

खोपले कुनै हानि नगरे पनि केही सहायक असर भने गर्न सक्ने अधिकारीहरुले बताएका छन्। सामान्य ज्वरो आउने र अन्य खोप लगाउँदा झैं सामान्य दुखाई लगायतका पीडा हुने उनीहरुको भनाइ छ।

सेरमको खोपले यही जनवरी १ र २ तारिखमा तोकिएको मापदण्ड पुरा गरेको पनि नियन्त्रकको कार्यालयले जनाएको छ।

यो खोप २३ हजार ७४५ जनामा परीक्षण गर्दा प्रभावकारी नजिता दिएको देखिएको सेरमले दावी गरेको छ। परीक्षणमा १८ वर्ष वा सो सरहदेखि त्योभन्दा धेरै उमेरका मानिसहरु सहभागी भएका थिए।

परीक्षण गर्दा सेरमको खोपले औसतमा ७०.४२ प्रतिशतसम्म काम गरेको पाइएको अधिकारीहरुले जनाएका छन् । यसको परीक्षण तेस्रो चरणसम्म भएको थियो ।

सामान्य वा नियमित अवस्थामा भने यी खोपहरु प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । यसको विकास र परीक्षणको काम अझै पनि जारी रहेको छ ।

भारत बायोटेकको खोप भने आइसिएमआर र नेसनल इन्स्टिच्यूट अफ भाइरोलोजीले संयुक्त रुपमा विकास गरेका हुन् । विश्वभरी नै राम्रो मानिएको प्रणाली मार्फत यसको विकास गरिएको पनि अधिकारीहरुले जनाएका छन् ।

सेरम र भारत बायोटेकका खोपहरु दुई डोज लगाउनु पर्नेछ भने यी खोपहरु २ देखि ८ डिग्री सेल्सियसमा भण्डार गर्न सकिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *