नागढुङ्गाबाट डेढ करोडसहित दुई जना पक्राउ

डिसी नेपाल
२० पुष २०७७ १५:५५

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौंआउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को हुण्डाई कारमा जाँचका क्रममा उक्त रकमसहित आज बिहान दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुका २२ वर्षीय कार चालक सङ्गम थारु रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले कारको डिक्कीमुनी विभिन्न भागमा तीनवटा झोलामा लुकाएर ल्याएको उक्त रकमसहित दुईजनालाई पक्राउ गरिएको जानकारी दिए ।

“उक्त रकम भारतबाट भारतीय रुपैँया ल्याई नेपालको सीमा क्षेत्रमा पटकपटक सटही गरेको अनुसन्धानबाट खुलेको छ”, प्रवक्ता विष्टले भने । उक्त घटनामा प्रयोग भएको सवारी साधन र बरामद गरिएको रकमसहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पठाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *