संकटमा पार्टी प्यालेस : अर्बौंको लगानी जोखिममा, ८ वटा पार्टी प्यालेस सधैंका लागि बन्द

उपेन्द्र शाही
२४ पुष २०७७ ७:२९

काठमाडाैं। एक वर्षमा मुस्किलले ६ महिना चल्ने पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय निकै संकटमा गुर्जिरहेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण त्रासका कारण गत चैतको पहिलो सातादेखि बन्द पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय करिव १० महिना पछि सञ्चालनमा त आयो, तर यो बीचको १० महिना अवधिमा केही पार्टी प्यालेस सधैंका लागि बन्द भइसकेका छन्, कसैले वैकल्पिक व्यवसाय सञ्चालन गरे त कोही अझै पर्ख र हेरको अवस्थामा छन्।

कत्ति व्यवसायीले त अब सिजन आएको भनेर औपचारिक सुरुवात वैशाखदेखि गर्ने भन्ने सपना बुनेका थिए। यस्ता पार्टी प्यालेसको संख्या पनि थुप्रै छ। तर, सपना अधुरै रह्यो। कहिल्यै नसोचेको विपत्ति आइलाग्यो, कोरोना महामारी।

‘९ महिना ठप्प रह्यो। सरकारले सञ्चालन गर्न अनुमति त दियो तर लगन छैन् र माग पनि एकदमै कम छ,’ विगत ७ वर्षदेखि सञ्चालनमा रहेको नयाँ बजार स्थित सासा पार्टी प्यालेसका व्यवस्थापक राजेश केसीले भने, “जनमानसमा खोलेको सन्देश प्रवाह होस् भनेर स्वास्थ्यका मापदण्ड अपनाउँदै पार्टी प्यालेस खोलेका छौं। त्यसकै लागि यसबीचमा हामीले २ वटा ५० जनाको पार्टी गर्याैं। हाम्रो पार्टी प्यालेसमा ८ सय जनाको क्षमता छ। तर, जनमानसमा सकारात्मक सन्देश प्रवाहा गर्नको लागि पनि हामीले सानो संख्याको पार्टीको आयोजना गर्याैं। व्यापार त यो वर्ष जिरो नै छ। सरकारले केही गर्छ कि भन्ने आश थियो तर केही पनि गरेन। न राहतको व्यवस्था छ, न कर छुटमा सहुलियत न घर भाडा छुट। अब यस्तै रहने हो भने केही समय पछि बाध्यताले पनि यो व्यवसायबाट पलायन हुनु पर्ने अवस्था छ।”

यस्तै केही समयदेखि बबरमहलमा रहेको कार्की पार्टी प्यालेसमा राजनीतिक दलका पार्टीहरु नियमित जसो हुने गरेको देखिएपछि हामी त्यहाँ पुग्यौं। महामारीको प्रभावले धेरै जसो पार्टी प्यालेस सुनसान जस्तै भए पनि कार्की पार्टी प्यालेसमा भने अवस्था फरक किन त? यो प्रश्न को जवाफमा कार्की पार्टी प्यालेसका सञ्चालक दिलबहादुर कार्कीले बाहिरबाट देखिएको जस्तो अवस्था नभएको सुनाए।

एउटा पार्टी प्यालेसमा करिव २ करोड देखि १२ करोडसम्म लगानी छ। एउटा पार्टी प्यालेसको मासिक खर्च मात्रै करिव पाँच, सात लाख हुन्छ। साधारण पार्टी प्यालेसमा पनि घर भाडा, बैंकको व्याज, बिजुली बत्ति, पानीको खर्च, कर्मचारीको तनाखा लगायो भने पाँच सात लाख खर्च हुन्छ। तर, आयस्रोत भने छैन।

उनले भने, “हो कार्की पार्टी प्यालेस सेन्टरमा छ। ग्राहकको सन्तुष्टिलाई हामीले जहिले शिरोपर गर्छौंं, फेरि हाम्रोमा जस्तो खालकाे पनि सेटिङ गर्न मिल्ने क्षमता छ। हामीले थोरै मूल्यदेखि टप कलाससम्मका पार्टी गरेका छौं। त्यसैले केही चहल पहल देखिए पनि सामान्य अवस्थाको तुलनामा यो वर्षको व्यापार जिरो छ। घरजग्गाको भाडा तिर्न र कर्मचारीलाई तलब खुवाउन हम्मे हम्मे छ। यस्तै मासिक बिजुली बत्ती, मर्मत सम्भार र सरकारलाई नियमित रुपमा कर बुझाउनु परेको छ। यी सबै गर्दा मासिक रुपमा पार्टी प्यालेसको खर्च मात्रै पनि ५ लाख भन्दा धेरै हुन्छ।”

सामान्य अवस्थामा हामीले वार्षिक रुपमा ६/७ करोड सम्म व्यापार गरेका छौँ,’ उनले भने, “चैतदेखि हालसम्म करिब १० महिना बितिसकेको छ। यो बीचमा हामीले १०/१२ लाखको मात्रै कारोबार गरेका छौँ। लगनको मुख्य समय गइसकेको छ, अब माघ फागुनमा पनि लगन कम नै छ। त्यसैले बाँकी रहेको यो समयमा पनि धेरै आशा छैन्। महामारीले विशेषगरी हामीलाई वास्तवमा सभाईभ गर्न धेरै गाह्रो छ।”

यस्तै काठमाडौंको खुसिभुँमा रहेको नेपा पार्टी प्यालेसको व्यथा पनि त्यस्तै रहेछ। पर्टी प्यालेसकी व्यवस्थापक संगीता प्रजापतिले स्थिति सामान्य होला भन्ने आस गरे पनि कोरोना कहरको असर हिजो भन्दा आज, आज भन्दा भोलि झन् झन् गहिरिँदै गइरहेको बताइन्। करोडौंको लगानी लागेको छ। यो व्यवसायबाट घर खर्च पनि टर्दै आयको थियो। मान्छेको आय स्रोत छैन। कर्मचारीहरुले रोजगारी गुमाएका छन्। यो अवस्थामा माग पनि छैन। अझै आश गर्न सकिने अवस्था छैन,’ उनले भनिन्, ‘सरकारले घरभाडा र करमा छुट दिन्छ कि भन्ने आस थियो तर, खोइ अहिलेसम्म सबै समयमा तिर्नु पर्ने बाध्यता छ। धेरै पार्टी प्यालेस व्यवसायीहरुले नयाँ ढंगले पनि सोच्नु भएको छ र कामको सुरुवात पनि गरेका छन्।’

उनले भनिन्, ‘कसैले रेष्टुरेन्ट बनाएर अनलाइनबाट फुड डेलिभरी गरिरहेका छन् भने कसैले कुखुरा पालन लगायतका वैकल्पिक व्यवसाय पनि गरिरहेका छन्। त्यसैले अब हामी पनि पर्ख र हेरको अवस्थामा छौँ।”

यी त केही प्रतिनिधी घटना मात्र हुन् देशभरका पार्टी प्यालेसको स्थिति हाल यस्तै छ। देशभरिमा करिव ७ हजार भन्दा धेरै पार्टी प्यालेस र क्याटरिङहरु सञ्चालनमा रहेका छन्। काठमाडौं उपत्यकामा मात्रै पनि ६ सय भन्दा धेरै पार्टी प्यालेसहरु रहेका छन्। यो पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय चलाइरहेका करिब ७ हजार व्यवसायीको ब्यथा हो।

महासंघको धारणा

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अनुसार महामारीले सिर्जित आर्थिक संकटका कारण काठमाडौं उपत्यकामा ८ वटा जति पार्टी प्यालेसहरु बन्द अवस्थामा पुगिसकेका छन्। नक्सालमा रहेको स्टार पार्टी प्यालेस अब नखुल्ने गरी नै बन्द भएको छ। यस्तै बागबजारमा रहेको आरधना पार्टी प्यालेसको अवस्था पनि उस्तै छ। पार्टी प्यालेस विगत ६ महिनादेखि पूर्ण रुपमा बन्द छ।

महासंघका महासचिव उत्तमप्रसाद शर्माका अनुसार नेपालमा एउटा पार्टी प्यालेसमा करिव २ करोड देखि १२ करोडसम्म लगानी छ। एउटा पार्टी प्यालेसको मासिक खर्च मात्रै करिव पाँच, सात हुन्छ। उनले भने, “साधारण पार्टी प्यालेसमा पनि घर भाडा, बैंकको व्याज, बिजुली बत्ति, पानीको खर्च, कर्मचारीको तनाखा लगायो भने पाँच सात लाख खर्च हुन्छ।” तर, आयस्रोत भने छैन।

यो एक वर्षमा मुस्किलले ५० प्रतिशत मात्र सञ्चालन हुने व्यवसाय हो। नेपालमा पार्टी प्यालेस विवाह उत्सव, भोज, ब्रतवन्ध, पाश्नी र अरु सामूहिक कार्यक्रमरुका लागि प्रयोग गरिन्छ। विशेषगरी लगन हुने महिनामा वैशाख, जेठ, असार मुख्यमा पर्छन्। त्यस्तै मंसिर माघ र फागुन गरि ६ महिना कमाए हुने महिना हुन्। पछिल्लो समय भने विभिन्न संस्थाहरुले साधारण सभा, उद्घाटन कार्यक्रम लगायत कार्यक्रम गर्ने प्रचलन पनि बढ्दो छ।

महासचिव उत्तम राज केसीले पार्टी प्यालेस व्यवसाय भनेको बिशुद्ध सामाजिक कार्य गर्ने व्यवसाय भएकोले यो व्यवसायलाई सरकारले अत्याआवश्यक सेवा व्यावसायमा राखिनु पर्ने माग राखे। उनले भने, “मान्छेको जन्मदेखि मृत्युसम्मका सामाजिक संस्कारका कार्य गर्ने थलो पार्टी प्यालेस हो। यो व्यवसाय विशुद्ध नाफा मुलक व्यवसाय नभयर सेवा मुलक र आम मानिसहरुलाई सहयोग हुने व्यवसाय हो। त्यसैले म तपाईको मिडिया मार्फत यो व्यवसायलाई अत्याआवश्यक सेवा व्यावसायमा राखिनु पर्ने जोडदार माग गर्दछु।” उनले यो व्यवसायलाई अत्यावश्यक सेवा अन्तरगत राखेर सरकारले पुनउत्थार्नको विशेष योजना बनउनु आवश्यक रहेका बताए।

उनले सरकारसँग घर भाडा र कर छुट पाउनु पर्ने माग राखे पनि त्यसमा कुनै सुनुवाइ नभएको बताए। हाल सञ्चालनमा रहेका सबै पार्टी प्यालेसको एउटै खाले समस्या छन्। ९५ प्रतिशत पार्टी प्यालेस व्यवसायीले भाडामा लिएर सञ्चालन गरिरहेका छन्। त्यसैले सबैभन्दा ठुलो समस्या भाडा रहेको छ। त्यस्तै पार्टी प्यालेस व्यवसायहरु यस्तो समयमा पनि बैंकको कर्जा, सरकारलाइ तिर्नु पर्ने करबाट पिरोलि रहेका छन्।

यस्तो दर्दनाक अवस्थामा पनि सरकारले सहयोग नगरेकोमा व्यवसायीहरुले आक्रोश पोखेका छन्। उनीहरुले बैंक कर्जामा पुर्नविचार गरिनु पर्ने, घर भाडामा सहुलियत पाउनु पर्ने, सरकारलाई तिर्ने करमा पुर्नविचार गरिनु पर्ने, बेरोजगार भयकालाई रोजगारीको व्यवस्था गरिनु पर्ने माग राख्दै आएका छन्।

राज्यकोषमा घाटा, सहायक व्यवसायमा ठूलो असर

यो व्यवसायमा करिव १८ देखि २० अर्ब सम्मको लगानी छ। विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसले र्सिजित आर्थिक संकटका कारण केही व्यावसायी पुरै रुपमा पलायन भएका छन् त कुनै व्यवसाय नै गर्न नसक्ने अवस्थासम्म पुगेका छन्। यो व्यवसायले मासिक रुपमा करौडौं राजस्व सरकारलाइ बुझाउँदै आयको छ। अब व्यवसायी निराश भएर पलायन हुने क्रम बढ्दो रहेकोले राज्यकोषमा पनि ठुलो घाटा पर्ने देखिन्छ।

यस्तै  यो व्यवसायले नुनदेखि सुन सम्मको सहायक व्यावसाय सञ्चालनका निम्ति पनि अहं भूमिका निर्वाह गरेको हुन्छ। तरकारी बजार, सुन बजार, कपडा लगायत सहायक व्यवसायमा पनि यसको असर परेको छ।

एउटा पार्टी प्यालेसको एउटा कार्यक्रममा २० जनादेखि ४०/५० सम्म कामदारहरुले रोजगारी पाउने गर्छन्। त्यसै पनि रोजगारीको निम्ति भाैंतारिनु पर्ने देशमा यो व्यवसायबाट लाखौंको संख्यामा मानिसहरु बेरोजगार बनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *