९ महिने बालकलाई बचाउन मजदूर मातापिताको संघर्ष, नेपालमा उपचार हुँदैन, विदेश जान पैसा छैन

डिसी नेपाल
२७ पुष २०७७ १४:५१

काठमाडौं। पनौतीका सन्तोष थापाको मन अशान्त छ। सामान्यतः छोरा जन्मिएपछि सन्तोष हुने नेपाली समाजमा भारी मन बनाएर बसेका छन सन्तोष। जीवन संगीनी रञ्जिता तामाङको कोखबाट ९ महिना अघि सिरषको जन्म भयो।

सिरष धर्तीमा पाइलाटेक्नु पूर्व नै रोगी भएका रहेछन्। गर्भमा रहँदै जण्डीसजस्तो घातक रोगको शिकार भएका ९ महिने सिरष अहिले जीवन र मृत्युसँग पौंठेजोरी खेलिरहेका छन्। गरिवीले पीडित रञ्जिताको दम्पत्तिमाथि अर्को ब्रजपात भयो।

‘भगवान पनि कति निष्ठुरी हुन्छन्’, रञ्जिताले भारी मन बनाएर भनिन्, ‘हामीले कति धेरै प्राथना गर्यौं। कहिलै सुन्नु भएन।’ आमाको काखमा लुटुपुटु गर्ने उमेरमा रोगसँगको संघर्षले सिरष पनि दिन प्रतिदिन दुब्लाउँदै गएका छन।

बोली नफूटे पनि ओठको हाउभाउमा गफिनु पर्ने आमाबुबा भारी मन बनाएर सिरषले लडिहरेको युद्ध हेरिरहेका छन्। सिरषले लडिरहेको युद्ध हेर्नुको विकल्प पनि छैन उनीहरुसँग। ‘जन्मिदै यो समस्या थियो,’ सिरषकी आमाले भनिन्, ‘हामीले डाक्टरहरुको सल्लाह अनुसार औषधि गरिरहेका थियौं। तर, औषधिले काम गरेन।’

करिव ७ महिना लामो औषधिपानले सिरषलाई कुनै फरक नपारेपछि उनीहरुले शिक्षण अस्पताल महाराजगंज पुर्याए। शिक्षण अस्पतालका डाक्टरहरुले जण्डिससँगै कलेजोमा पनि समस्या देखाएको बताए। ‘जण्डिसको उपचार गराइरहेकै थियौं,’ रञ्जिताले भनिन्, ‘कलेजोमा पनि समस्या छ। प्रत्यारोपण गर्नु पर्छ भन्ने सुनेपछि त मुर्ति जस्तै भएकी छु, यति ठूलो पीडा र चुनौती शत्रुलाई पनि नहोस्।’

सन्ततीको माया आमाबुवा बाहेकलाई थाहै हुँदैन। ९ महिनाको छोराले दिएको पीडाका कारण नाटकीय रुवाई र वास्तविक हासोँ उल्टो भएको छ। रञ्जिताले भनिन्, ‘रुँदा रुँदा थाकिसक्यौं। जति रोए पनि यो महंगो शहरमा हाम्रो पीडा कस्ले सुनिदिन्छ।’

सिरषका बुवा सन्तोष डकर्मीकाम गर्थे। आफ्नो हातको सिप प्रयोग गरेर धेरैका सुन्दर घरहरु बनाएका छन। भत्किएका मनहरुलाई टालेका छन्। अहिले आफ्नो मन भत्किँदा भने सन्तोषले न टाल्न सकेका छन्, न बनाउन नै। ‘काभ्रेबाट छोराको उपचारका लागि काठमाडौं आएदेखि ५ लाख खर्च भइसकेको छ,’ सन्तोषले असन्तोष हुँदै भने, ‘अझै राम्रो भएको छैन। भारत लैजानु पर्छ भन्नुहुन्छ डाक्टरहरुले तर, पैसा छैन।’

वालवालिकाको कलेजो प्रत्यारोपण भारतको एपोलो अस्पतालमा हुने सल्लाह डाक्टर सूर्यराज थापाले दिएको सन्तोषले सुनाए। उनले भने, ‘भारु २० लाख (३२ लाख नेपाली रुपैयाँ) लाग्छ रे। अलिअलि बचत गरेको पैसा सकियो। अब यो ३२ लाख पैसा कसरी जुटाउनु।’ ‘हामीले ऋण खोजिरहेका छौं,’ रञ्जिताले भनिन्, ‘हामीलाई ऋण भए पनि दिनुहोस्, कोही दाता हुनुहुन्छ भने।’

आमाबुवाको ममता हो। उनीहरुले आफ्नो अन्तिम श्वाससम्म पनि सिरषले लडिरहेको लडाईँमा उनको तर्फबाट लड्ने संकल्प गरेका छन्। ‘हाम्रा लागि ३२ लाख खोज्नु फलामको चिउरा चपाउनु सरह हो,’ सन्तोषले भने, ‘साथीभाइ र आफन्तहरुले सहयोग गरिरहनु भएको छ। माघको पहिलो साता भारत लैजानु पर्ने भन्ने डाक्टरको सल्लाह छ। प्राप्त रकम जुटेको छैन।’

उनलाई सहयोग गर्न चाहनले  सन्ताेष पहारीकाे नाममा रहेकाे नेपाल इन्भेष्टमेन्ट बैंक बाैद्धमा रहेको खाता नम्बर ०२४०५०३०२७०९८४ मा जम्मा गर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *