कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया शुरु भएको छः स्वास्थ्यमन्त्री त्रिपाठी

डिसी नेपाल
२७ पुष २०७७ १५:५०
92
Shares

काठमाडौं। सरकारले ५० प्रतिशत निःशुल्क सहयोगमार्फत र ५० प्रतिशत खरिद गरेर कोरोनाविरुद्धको खोप ल्याउने बताएको छ। निःशुल्क प्राप्त हुने ‘कोभ्याक्स’ खोप  किनेर  ल्याउने प्रक्रिया शुरु भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले जानकारी दिएका छन्।

उनले निःशुल्क प्राप्त हुने खोप शुरुमा ३० प्रतिशत जनसंख्यालाई दिइने बताए। बाँकी ३० प्रतिशत जनसंख्यामा खरिद गरेर ल्याइएको खोप दिइने बताए। खोप खरिदका लागि सरकारले रुस, भारत र यूएईसँग छलफल गरिरहेको मन्त्री त्रिपाठीले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले नेपालमा खोप चाँडै आउने र निःशुल्क खोप प्रदान गरिने बताए। ‘खोप चाँडै आउँछ र निःशुल्क लगाइन्छ’ उनले भने, ‘चाँडै खोप ल्याउन खोप बनिरहेको मुलुकका सरकार प्रमुखसँग छलफल गरिरहेका छौं। म स्वयमले भारत, रुस र यूएईका राजदूतहरुसँग कुरा गरिरहेको छु, जति सम्भावना छन् आपूर्तिका, ती सबैलाई खुला राखेर ल्याउन लागिएको छ।’

खोप व्यवसायिकभन्दा पनि राजनीतिक सामाग्रीको रुपमा देखापरेको उनले बताए। ‘हामीले खोप आयात विशुद्ध व्यवसायिक हो भन्ने ठानेका थियौं तर, त्यस्तो होइन रहेछ, यो त राजनीतिक सामाग्री जस्तो पो देखियो’, उनले भने। खोप खरिद प्रक्रियामा सरकार पारदर्शी ढंगले अघि बढेको र यस काममा नीजि क्षेत्रको पनि सहयोग लिइने बताए।

खोप कार्यक्रमका लागि १६ हजार खोप केन्द्र परिचालित गरिने बताउँदै मन्त्री त्रिपाठीले यस कार्यमा खट्नका लागि ५ हजार कर्मचारी र ५२ हजार स्वयंसेवक खटाइने समेत बताए।
संक्रमणको दर घटेपनि जोखिम पनि यथावत रहेको भन्दै मन्त्री त्रिपाठीले सतर्कता अपनाउन समेत सबैलाई आग्रह गरेका छन्।

यसअघी मन्त्री त्रिपाठीले विभिन्न ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका छन्। आइतबार मन्त्रीस्तरीय निर्णय अनुसार विभाग र अस्पतालका गरी ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *