एकीकरणको प्रारम्भिक विन्दुमा एकता दिवसः पृथ्वीनारायण दक्षिण एशियाकै अब्बल योद्धा

डिसी नेपाल
२७ पुष २०७७ २०:५५

नुवाकोट । दुई सय ९९ औंँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस नुवाकोटमा विभिन्न कार्यक्रम गरी आज मनाइएको छ । राष्ट्रनिर्माताको राजधानी नुवाकोट दरबार क्षेत्र, सदरमुकाम विदुर र अन्त्यस्थल देवीघाटस्थित पृथ्वीनारायणको शालिक भएका स्थानमा फरक फरक कार्यक्रम गरी मनाइएको हो ।

विदुरमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण दक्षिण एशियाको एकीकरणको अब्बल योद्धा भएकाले उनको योगदानको सरकारले कदर गर्नुपर्ने बताए। डा लोहनीले सरकारले पृथ्वीनारायणले एकीकरणमा पुर्याएको योगदानलाई सम्मान गर्दै एकता दिवस भव्य रुपमा मनाउनुपर्नेमा पनि जोड दिए ।राप्रपा नुवाकोटको आयोजनामा भएको कार्यक्रममा बाजागाजासहित सदरमुकाम परिक्रमा गरिएको थियो ।

यस्तै नुवाकोट दरबार क्षेत्रमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले पृथ्वीनारायणले मुलक टुक्रिनबाट जोगाएको बताए । प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले इतिहासको विरोध नभई सम्मान गरी अघि बढ्नुपर्ने बताए ।

यस्तै विदुर– ५ देवीघाटस्थित पृथ्वी स्मारकमा आयोजित कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शाहको एकता अभियानबाट अहिलेको पुस्ताले पाठ सिक्नुपर्ने बताए । नगरपालिकाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *