पुनःनिर्माणको अन्तिम चरणमा पुगेकाे धरहरा यस्ताे बन्दैछ

उपेन्द्र शाही
१ माघ २०७७ ६:५६

काठमाडाैं। ऐतिहासिक धरहरा पुर्ननिर्माणको अन्तिम चरणमा छ। विस. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको धरहरा ६ वर्ष पछि नयाँ स्वरुपमा देखिने भएको छ।

२०७७ असोज २० मा काम सक्नेगरी सम्झौता भए पनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव लगाएतका कारणले निर्माण तोकिएको समय भन्दा ढिलो हुन लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक राजुमान मानन्धरले बताए।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले ९ महिना थपेर २०७८ को असार सम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष राखेको छ। त्यसैले अबको झण्डै ५ महिना पछि बहुप्रतिक्षीत नेपालीहरुको धरोहर धरहरा देख्न मात्र होइन स्पर्श गर्न पाइने छ।

४२ दशमलव ५ रोपनी क्षेत्रफलमा फैलिएको २२ तलाको धरहराको हाल २० औँ तलामा काम भइरहेको छ। जम्मा २७ मिटर जमिनभित्र गाडिएको धरहरामा जमिनमुनि हुने दुई तलाको सपिङ सेन्टरसहितको उचाइ ८७ मिटर हुनेछ।

यस्तो बन्दै छ धरहरा

धरहराको स्वरुप भिमसेन थापाकोे भिमसेन स्तम्भ जस्तै हुनेछ। झट्ट हेर्दा वास्तुकलामा उस्तै देखिने छ। यसको प्रविधि र साइजमा अलिकति परिवर्तन भएको छ भने बाँकी कुराहरु उही हुनेछ। प्राधिकरणका प्राविधिक मानन्धरका अनुसार पहिलेको धरहरा खाली माथि चढ्नको लागि थियो। यस्तै सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। त्यो नै मुख्य प्रायोजन थियो। तर, अहिलेको धरहरा प्रमुख पर्यटकीय गन्तव्य स्थलको हिसावमा बन्दैछ।

२२ तला भएपनि बाहिरबाट हेर्दा धरहरा ११ तलाको देखिने छ। मानन्धरका अनुसार पहिलेको भिमसेन स्तम्भमा कुनै तलातला थिएन्। त्यसमा गोलो भ-याङ घुम्दै घुम्दै गएर एकै पटक माथि पुगिन्थ्यो। कहीँ कहीँ तला भनेर एक तला दुइ तलामा अडिने थिएन।

उनले भने, “त्यहाँ एउटा तला छुट्याउनलाई कार्निस राख्ने चलन थियो। त्यसबाट मात्रै ९ तला ११ तला भनिएको हो। वास्तविक तला थिएन। त्यसको ९ तलाम गएर चढ्ने थियो। अब अहिले हामीले २२ तला बनाएका छौँ। यसमा चाहिँ एक तला दुइ तला गरेर २२ तला सम्म जान मिल्ने छ।”

धरहराको कुन तला के को प्रायोजनका लागि प्रयोग गर्ने भन्ने कुरा अहिले निर्कोयोल भइनसकेको छैन। धरहराको मुख्य आर्कषणको केन्द्र भनेको नै धरहरा चढ्ने हो। त्यो पनि त्यहाँबाट काठमाडौंको दृश्यअवलोकन गर्ने। धरहराको २०औँ तलामा बालकुनी बनाइदै छ। जहाँबाट यो सम्भव हुनेछ। उपत्यका अवलोकन गर्न यो तलामा बार्दली बन्ने छ।

विकसित प्रविधिसँगै धरहराको माथि गएपछि काठमाडौं उपत्यकाको धेरै टाढा टाढासम्म हेर्न मिल्ने गरी बाइनो कुलरहरु राखिने छ। मानान्धरका अनुसार २०औँ तलामा राखियका बाइनो कुलरबाट काठमाडौं उपत्यकाको दृष्यअवलोकनका साथै अन्य देशहरु कति दूरीमा छन् भन्ने कुरा थाहा पाइने छ।

एनले भने “काठमाडौं ओभल सेपमा छ। त्यो कुरा हामीले अहिले पढ्ने मात्रै हो। त्यहाँबाट ओभल सेप पनि मज्जाले नियाल्न मिल्ने छ। यस्तै विकासको गति कतातिर गइरहेको छ लगायतका कुराहरु पनि त्यहाँबाट नियाल्न मिल्ने छ।”

यस्तै १८ औँ तलामा एउटा हल हुनेछ। जहाँ २० देखि २५ जना बस्न मिल्ने खालको स्वचलित टिभी हल हुनेछ। त्यसभित्र एउटा टिभिमा भूकम्प सम्बन्धी सामग्रीहरु सञ्चालन हुनेछन्। हलमा भूकम्पले नेपालमा पारेको असरलगायत नेपालको बारेमा जानकारीमूलक भिडियो तथा फोटोहरु राखिने छ।

यस्तै २१ औँ तलामा मेसिनको सामग्री राख्ने ठाउँ हुनेछ भने, २२ औँ तलामा गुम्बजको मुनि शिभलिङ राखिने छ। खासगरि माथिका दुई तला धरहराको चुचुरोमा प्रयोग हुनेछ।

दुई लिफ्टसहित एउटा फलामे भ-याङ रहने धरहराको पहिलेको भन्दा चौडाइ ठूलो हुनेछ। लिफ्ट र भ-याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ। धरहराको माथि पुगेपछि एकैपटकमा कम्तीमा ५० जनाले अवलोकन गर्नसक्ने ठाउँ हुनेछ।

‘मिन्ट’ र ‘अर्थक्वेक’ सङ्ग्रहालय गरी यो भित्र २ वटा सङ्ग्रहालय हुनेछन्। जसको काम भइरहेको छ। धरहरा, टुडिखेल र यसको छेउमा परेको हुँदा एउटा खुला क्षेत्रजस्तै हुनेछ। एउटा हरियो उद्यानकोरुपमा धरहारा परिसरको परिकल्पना गरिएको छ। हरियाली बगैँचा, मनमोहक दृश्यहरु रेष्टुरेन्ट, पुस्तकालय लगायतका सेवा सुबिधा उपलब्ध हुनेछन्।

यस्तै निर्माणधिन धरहराको गेटमा नेपाली गीतमा पानीको नृत्य देख्न सकिने गरि नेपालमै पहिलो पटक “म्यूजिकल फाउन्टेन” को व्यवस्था गरिने छ।

बालकदेखि तन्नेरी र वृद्धा जुनसुकै उमेरसमूहका मानिसहरुका लागि धरहरा आर्कषणको केन्द्र बन्ने छ। यहाँ विहानदेखि बेलुका सम्म विभिन्न क्रियाकलाप गर्न मिल्ने अभिप्रायले यसको निर्माण भइरहेको छ।

विहान शारीरिक व्यायम गर्ने, योगा गर्नेदेखि लिएर पूजापाठ गर्ने सम्मको व्यवस्था हुनेछ। यसमा पुराना शैलीका करिव ३६ वटा ढुङ्गे धाराहरु हुनेछन्। यस्तै यो धरहरा परिसर मात्रै नभएर सुनधारा पनि भएकाले सुनधारालाई पनि नयाँ स्वरुप दिदैँ जीवन्त बनाइदै छ।

धरहरा चलाउन सरकारले सधैँ बजेट नछुट्याउने भएकोले आर्थिक जोहोका लागि नयाँ अवधारणा रेन्टल स्पेस हुनेछ। मानान्धरले भने, “धरहराको दिगो पनको लागि यो आफै सञ्चालन हुनुपर्छ। त्यसैले यसको तल तिर “रेन्टल स्पेस” अर्थात सटरहरु भाडामा दिइनेछ।

धरहरा चलाउन आर्थिक जोहोका लागि नयाँ अवधारणाका साथ सपिङ सेन्टरसहितको अत्याधुनिक र सुविधा सम्पन्न सपिङ सेन्टर सञ्चालनमा आउने छ।” तर, त्यसमा नेपालमा उत्पादित वस्तुहरूलाई प्राथमिकता दिइने छ। नेपालका मौलिक सामग्रीहरु नेपाली वास्तुकला, काष्ठकला, धातुकला, लगायत नेपाली कलाकृतिका कुराहरु र नेपाली पहिँचान झल्काउने परिकल्पना छ।

नयाँ धरहरा बालबालिका, जेष्ठ नागरिक, अपाङ्गमैत्री बन्नेछ । त्यसैले एउटा रमणीय पर्यटकीय स्थलको रुपमा धरहराको निर्माण सम्पन्न हुँदैछ।
यस्तै अहिले यो क्षेत्र वरपरदेखि लियर न्यूरोडमा पार्किङको ठुलो समस्या छ। त्यसलाई पनि मध्यनजर गर्दै धरहरा परिसरमा तीन तलाको पार्किङकोमा ३४७ भन्दा धेरै गाडी अट्ने हिसावले यसको निर्माण भइरहेको छ।

कोरोना महामारीको प्रभाव

विश्वव्यापी महामारीको रुपमा फैलियको कोरोना भाइरसबाट धरहरा निर्माण पनि अछुतो रहने कुरै भएन। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी धरहरा निर्माणको लागि प्राधिकरण र निर्माण कम्पनीबीच २०७५ असोज १४ गते सम्झौता भएको थियो।

निर्माणको काम नेपाली कम्पनी रमन जेबी र चिनियाँ कम्पनी जीआई ईटीसीले गरिरहेका छन्। तर, तोकिएको भन्दा ३ साढे महिना धेरै बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन्। तोकिएको समयमा निर्माण सम्पन्न नहुने भएपछि प्राधिकरणले ९ महिना थप गरिसकेको छ।

समयमा निर्माण सम्पन्न नहुनुको पछाडिको कारण कोरोनाले पारेको असर मुख्यकारण रहेको मानान्धर बताउँछन्। उनले भने, “सरकारले देशव्यापी लकडाउन गर्नुभन्दा अगाडि नै चैत ९ गतेबाट धरहरा निर्माणको काम बन्द गरियो। त्यतिबेला एउटा अजिव किसीमको माहोल थियो। सबैमा त्रास थियो। सबै कामदारहरु आफ्नो घर जान चाहान्थे र सबैजसो कामदार घर गए। त्यसपछि कामदारको ठुलो कमि भयो। काम गर्न सकिएन र हामीले काम रोक्यौँ। त्यही पनि यहाँ भएकै ३०/३५ जना कामदारहरुबाट नै काम गर्ने व्यवस्था मिलाइयो। जुन रफ्तारमा हुनु पर्ने थियो त्यो स्पीडमा काम नभए पनि विस्तारै कुटु कुटु काम भइरह्यो। लकडाउनकै बीचमा सरकारले विकास निर्माण कामहरु नरोक्ने नीति ल्यायो। त्यसले गर्दा यो निर्माण सामाग्री ओसार पसार र ढुवानीमा कुनै किसीमको समस्या भएन। कामदारले गर्दा धेरै लामो समयसम्म विस्तारै काम भयो।”

अहिले दैनिक २ सय जना जतिले काम गरिरहेका छन्। हाल धरहरा परिसरमा अन्डरग्राउण्ड पार्किङ, खानेपानीको पाइप, टेलिफोन, विद्युतीय लिफ्ट बनाउने, वाइरिङ, फिनिसिङको काम भइरहेको भइरहेको छ।

भौतिक प्रगति

धरहरा निर्माणको लागि प्राधिकरण र निर्माण कम्पनीबीच ३ अर्ब ४८ करोडमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालका अनुसार आयोजनाको कुल भौतिक प्रगति र आर्थिक प्रगति ५० प्रतिशत भन्दा धेरै रहेको छ।

हालसम्म भ्याट समेत लगाएर १ अर्ब ३४ करोेडसम्म खर्च भएको छ। माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपटक प्रगतिको विवरण अवलोकन गराउने लागि तयारी भइरहेको छ।

इतिहास धरहराको

वि.सं. १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले धरहराको निर्माण गर्न लगाएका थिए। उनले यसको निर्माण महारानी त्रिपुरासुन्दरी देवीको सम्झना स्वरूप गर्न लगाएका थिए। भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भन्ने चलन थियो। यसमा ११ तल्ला थियो ।

यसको बार्दली नवौ तल्लामा रहेको थियो। तर, १९९० माघ २ मा आएको महाभुकम्पको कारणले बार्दली भन्दा माथिको १० र ११ तल्ला भत्कियो। त्यसको दुई वर्षपछि अर्थात १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले नौ तल्ला नै कायम रहने गरी पुनः निर्माण गरेका थिए।

त्यस बखतको धरहराको उचाइ ६१.८८ मिटर (२०३ फिट) थियो । धरहरा भित्र २१३ सिँढी र बाहिर २५ सिँढी थिए। धरहराको १८८ सिँढी उक्लिएपछि बार्दली आउँथ्यो जुन सातौं तल्लामा थियो। बार्दलीबाट काठमाडौँ उपत्यकाको अधिकांश भाग सजिलैसँग देखिन्थ्यो।

धरहराको सबैभन्दा माथिल्लो तल्लामा शिवलिङ्ग थियो। टुप्पोमा गजुर रहेको ऐतिहासिक स्मारक धरहरा धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेको थियो। यस्तै सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो ।

धरहराको निर्माण मुगलशैलीमा गरिएको थियो भने वरिपरिको पर्खाल पनि सोहि शैलीमा निर्माण गरिएको थियो। धरहराको निर्माण ईटा र बज्र (सुर्की, चून, मास र चाकुको मिश्रण) बाट भएको थियो। पुनः २०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको महाभूकम्पले यो पूर्णरूपले नष्ट भै इतिहास बन्न गयो।

याे पनि पढ्नुस्

धरहराबाट उपत्यका नियाल्दा… (फोटोफिचर)

सबै तस्वीर : मन्दिरा राउत/ डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *